काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार नै छुटे पनि बुधबारमात्र १ सय किलोभन्दा बढी सुन भेटिएको घटना सार्वजनिक भएको थियो। बुधबार राति ९ बजेतिर नेपाली मिडियामा एकसाथ अन्दाजी १ अर्ब रुपैयाँबराबरको सुन फेला परेको समचार सार्वजनिक भए।
विमानस्थल भन्सार पास भएर बाहिरिइसकेको अवस्थामा राजस्व अनुसन्धान कार्यालयले उक्त सुन बरामद गरेको हो। सुनसँगै हालसम्म १० जना पक्राउ गरी अनुसन्धान सुरु भएको छ।
बुधबार रातिबाट नेपालमा सुन भेटिएको भन्ने समाचारले प्राथमिकता पाइरहेको छ। राजस्व अनुसन्धान कार्यालयको इतिहासमै यति ठूलो परिमाणमा सुन भेटिएको पहिलो घटना हो। कार्यालयको मात्र हाेइन, नेपाल प्रहरी इतिहासमा समेत ठूलो परिमाणको पहिलो हो।
तर, अहिले प्रधानमन्त्री कार्यालयमातहत राष्ट्रिय अनुसन्धान कार्यालयले सुन बरामद गरेकाले नेपाल प्रहरीले यो घटनाको विषयमा तत्कालीन अवस्थामा प्रत्यक्ष अनुसन्धान भने गरेको छैन। तथापि, अनुसन्धान कार्यालयले गरेको काममा प्रहरीले साथ भने दिइरहेको छ। अझ, सशस्त्र प्रहरीले बढी साथ दिएको छ।
बिहीबार दिनभरि के-के भयो?
सुनसहित केही व्यक्ति पक्राउ गरेपछि सबैको ध्यान त्यसतर्फ नै गएको छ। बिहीबार दिनभरि सुन तस्करीमा संलग्न को-को हुन् र कति परिमाणकाे सुन छ भन्ने विषयले नै चर्चा पायो।
- भन्सार कटेर राजस्व अनुसन्धान कार्यालयले सुन बरामद गरे पनि गृहमन्त्री नारायणकाजी श्रेष्ठले सोधपुछका लागि भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेललाई मन्त्रालय बोलाएर छलफल गरे।
- सय किलो सुन बरामद प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृत सन्तोष चन्दलाई निलम्बन गरिएको छ। यस्तै उनीसहित अन्य तीनलाई पनि कारबाहीका लागि अर्थ मन्त्रालयमा सिफारिस गरिएको छ।
- भन्सार विभाग अनुसन्धान शाखा निर्देशक मानबहादुर पौडेलको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरिएको छ। समितिलाई छानबिन गरी पाँच दिनभित्र आवश्यक प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ।
- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार बरामद अवैध सुनको तौल नेपाल राष्ट्र बैंकले जोख्दा १ सय ५५ किलो भएको छ। राष्ट्र बैंक टक्सार महाशाखा प्रमुख थानेश्वर आचार्यले राजस्व अनुसन्धान विभागले लगेको पोकासहितको सुन जोख्दा १ सय ५५ किलो निस्किएको जानकारी दिए। सुनमा बेरिएको कपडा, कार्टुन, ब्रेक सु निकालेर जोख्दा भने सुनको परिमाण कम हुने उनले बताए।
- अवैध भित्रिएको सुन अहिले नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामै राखिएको छ। बबरमहलस्थित राष्ट्र बैंकअन्तर्गतको टक्सार महाशाखामै केही समय सुन राखिएको छ। राजस्व अनुसन्धान विभागको पत्र प्राप्त नभइसकेकाले सुनको थप परीक्षण गर्ने विषय अहिले अघि बढेको छैन।
- व्यवसायी दीपक मल्होत्राले सुनकाण्डमा आफ्नो संलग्नता नभएको स्पष्ट पारेका छन। बिहीबार पत्रकार सम्मेलन गरेर उनले नयाँपत्रिका दैनिकमा प्रकाशित समाचार भ्रामक र कपोकल्पित भएको बताए।