काठमाडौं। नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने नेपाली जहाजभित्र पसल राख्न पाउने कार्यविधि जारी भएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले `अनबोर्ड ड्युटी पेड स्टोर सञ्चालनसम्बन्धी कार्यविधि २०७९´ जारी गरेसँगै जहाजमा पसल राख्ने बाटो खुलेको हो।
नेपालबाट हाल नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गर्दै आएका छन्।
नेपालका अन्तर्राष्ट्रिय एयरलाइन्सलाई उडानका क्रममा जहाजभित्र पसल सञ्चालन गर्न सहजीकरण गर्दै वायुसेवाको अनतिरिक्त आम्दानीमा वृद्धि गराइ वायुसेवालाई थप सबल, सुदृढ र दिगो बनाउनका लागि राजस्व संकलन तथा विदेशी मुद्रा आर्जनमा टेवा पुर्याउने उद्देश्यले पसल सञ्चालनका लागि आवश्यक अनुमति प्रदान र सञ्चालन कार्य व्यवस्थित गर्न वाञ्छनीय भएको उल्लेख गरेको छ।
जहाजभित्र पसल सञ्चालन गर्न चाहने एयरलाइन्सले पर्यटन मन्त्रालयबाट अनुमति लिनुपर्ने छ। अनुमतिका लागि मन्त्रालयमा सेवा सञ्चालनको आर्थिक, प्राविधिक सम्भाव्यतासहित निवेदन दिनुपर्ने छ।
निवेदनमा खरिद गरिने सामग्री विक्रेता छनाेट प्रक्रिया, सामग्री खरिद र गुणस्तर कायम गर्न अवलम्बन गर्ने प्रक्रिया, बिक्रीपछि भुक्तानीका उपाय र सुरक्षाका उपाय उल्लेख गर्नुपर्ने छ।
विमानस्थलमा सुरक्षा जाँच अनिवार्य
प्रत्येक उडानमा बिक्रीका लागि चलान गरिएका सामान सिल गरी सम्बन्धित विमानस्थलले तोकिदिएबमोजिम सुरक्षा जाँच गराउनुपर्ने छ। यस्तो सामान राख्ने प्रयोजनका लागि विमानस्थल क्षेत्रमा राखिएको गोदामको सुरक्षासम्बन्धी व्यवस्था विमानस्थलले तोकिदिएबमोजिम हुने जनाएको छ।
भन्सारसम्बन्धी व्यवस्था
पसल सञ्चालन गर्ने एयरलाइन्स कम्पनीले बिक्री गर्ने सामाग्रीको सूची सम्बन्धित अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट सेवा सञ्चालन गर्नु अगावै पूर्वस्वीकृति लिनुपर्ने छ।
हरेक उडानमा बिक्रीका लागि चलान गरिने सामग्रीको विवरण, बिक्रीको विवरण तथा यसरी बिक्री गर्दा भएको आम्दानीको विवरण सम्बन्धित एयरलाइन्सले जुनसुकै बखत पेस गर्न सक्ने गरी अद्यावधिक राख्नुपर्ने छ।
बिल अनिवार्य
जहाजमा सामान बिक्री गरेपछि ग्राहकलाई अनिवार्य बिल दिनुपर्ने छ। बिक्रीपश्चात यात्रुलाई भुक्तानी भएको रकम स्पष्ट उल्लेख भएको आधिकारिक बिल जारी गर्नुपर्ने छ।
मन्त्रालयले अनुगमन गर्ने
कार्यविधि पालना भए नभएको सम्बन्धमा मन्त्रालयले समय समयमा अनुमगन गर्न सक्ने छ र पालना नभएको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही हुनेछ।