काठमाडौं। नेपालस्थित बरुण बेभरेजका एक कर्मचारी हुन्– अमित गुप्ता। कम्पनीभित्र बसेर कर छली गरेको कार्य उदाङ्गो हुने भएपछि बीचमै कम्पनीबाट राजीनामा दिएर उम्किने दाउ थियो उनको।
त्यही भएर कम्पनीमा रहेर उनले गरेको बदमासी बाहिर नआउँदै कम्पनीसँगको नातासम्बन्ध तोडेर भाग्न सफल भए। २०७५ माघअघि गुप्ता बरुण बेभरेजको वित्त प्रमुख थिए।
तर, उनको राजीनामा २०७५ माघ ७ गते स्वीकृत भएपछि उनको ठाउँ सम्हाल्न भारतबाट आइपुगेका थिए– प्रविणकुमार अग्रवाल।
नक्कली ‘भ्याट’ बिल, ‘मिसम्याच’, नक्कली कम्पनी खडा गरेर बरुण बेभरेजकै ठूलो रकम अपचलन गरिरहेका गुप्तामाथि राजस्व अनुसन्धान विभागले अनुसन्धान गर्ने सोच बनाउँदा बनाउँदै उनी नेपालबाट भागिसकेका थिए।
गुप्ताले विभिन्न व्यक्तिसँग मिलेर बरुण बेभरेजका सामान खरिद गरेको तर उक्त सामान बरुण बेभरेजमा ‘इन’ नभएको, भ्याट बिलमात्रै खरिद–बिक्री भएको, भ्याट बिल खरिद बिक्री गर्ने कम्पनी र तिनका सञ्चालकसँग मिलेमतो गरी राज्य र बरुण बेभरेजलाई ठूलो नोक्सानी पुर्याउने गुप्ता नेपालबाट सहजै उम्किँदा कुनै अनुसन्धान नगरेको राजस्व अनुसन्धान विभागले पछि बाँकी कर्मचारी र बरुणका मुख्य लगानीकर्तालाई दोषी देखाएर मुद्दा चलायो।
अहिले गुप्ताले गरेको सम्पूर्ण बदमासीको भारी बरुण बेभरेज स्वयं, बरुणका मुख्य लगानीकर्ता रविकान्त जयपुरिया, बिक्री हेर्ने डाइरेक्टर रोहित कोहली, प्लान्ट हेर्ने डाइरेक्टर विनोदकुमार सिंह, गुप्ताको ठाउँमा आएका अग्रवाल, लजिस्टिक हेर्ने अशोक कुमारमाथि छ। यो घटनामा मुख्य दोषी गुप्ता हुन्। तर, गुप्तालाई भगाउन अन्य कर्मचारीको पनि मिलेमतो छ भन्ने आरोप लगाइएको छ।
भएको के थियो, कहाँ चुक्यो राजस्व अनुसन्धान?
घटना २०७५ फागुन ५ को हो। राजस्व अनुसन्धान विभागको टोली त्यही दिन बहुराष्ट्रिय कम्पनी बरुण बेभरेजमा आकस्मिक निरीक्षण गर्न पुगेको थियो। जुन मितिमा राजस्व अनुसन्धान आकस्मिक निरीक्षणमा पुग्यो, त्यो मितिभन्दा ठ्याक्कै एक महिनाअघि घटनाका मुख्य पात्र गुप्ता बरुणबाट राजीनामा दिएर फरार भइसकेका थिए।
गुप्ताले राजस्व अनुसन्धान टोलीले प्रारम्भिक अनुसन्धान थाल्नुपूर्व विभिन्न २९ कम्पनीसँग नक्कली भ्याट बिल खरिद गरी सामान किनेको देखाएर कम्पनी र राज्यमाथि ठूलो क्षति पुर्याइसकेका थिए।
२९ कम्पनीमध्ये अविन ट्रेडिङ किशा ट्रेड इन्टरप्राइजेजका सञ्चालक विकास अग्रवाल र १० कम्पनी खडा गरी नक्कली भ्याट बिल जारी गरिरहेका विनोद अग्रवालले राजस्व अनुसन्धान विभागले लिएको बयानका क्रममा बरुण बेभरेजका अमित गुप्ताले सामानको एउटा लिस्ट बनाएर दिन्थे।
त्यो सामानवापत भ्याट बिल काटिन्थ्यो। गुप्तालाई बिल पठाइन्थ्यो। गुप्ताले दिएको अकाउन्ट पेई चेक कम्पनीको खातामा जम्मा हुन्थ्यो। त्यो रकम अग्रवालहरूले निकाल्थे र आफूले कमिसनवापत पाउनुपर्ने ८ प्रतिशत रकम राख्थे र बाँकी बरुण बेभरेजका कर्मचारी गुप्तालाई नै फिर्ता दिन्थे।
दुई अग्रवालले बयानमा आफ्नो कम्पनी नक्कली भ्याट बिल जारी गर्नकै लागि खोलिएको बताएका छन्।
बरुणमा सामान खरिद गरेको देखाउन सामानको बिल काट्न लगाउने गुप्ता। अग्रवालहरू नक्कली बिलबिजक दिन्थे। खरिद गरेको कारोबार देखिन पर्याे। त्यसका लागि नक्कली बिलबिजक बनाउने कम्पनीका नाममा कारोबार पनि देखाइन्थ्यो। कतिसम्म हुन्थ्यो भने जुन दिन गुप्ताले बरुणबाट चेक दिन्थे, सोही दिन अग्रवालद्वयले रकम बैंकबाट झिक्थे र आफूले पाउने कमिसन कटाएर बाँकी रकम गुप्तालाई नै दिन्थे।
कति थियो यस्तो कारोबार?
गुप्ताले विभिन्न कम्पनी खडा गरेर त्यसमार्फत झन्डै ६५ करोडको कारोबार गरेका छन्। उनले विभिन्न २९ कम्पनीमार्फत विभिन्न सामग्री खरिद गरेको देखाएर कम्पनीलाई ठूलो नोक्सानीमात्रै लगाएनन्, निर्दोष कर्मचारीदेखि बरुण बेभरेजका मुख्य लगानीकर्ता रविकान्त जयपुरियासम्मले खेप्नुपरेको छ।
अहिले राजस्व अनुसन्धान विभागले २०७६ मंसिर ८ मा नक्कली भ्याट बिल बनाउने १२ कम्पनीमाथि तत्कालीन जिल्ला अदालत, हाल उच्च अदालतमा मुद्दा दर्ता गरेको छ।
कसरी सुरु भयो बरुणमाथि?
त्यही केस आधार मानेर राजस्व अनुसन्धान विभागले बरुण बेभरेजमाथि अनुुसन्धान सुरु गर्याे।
नक्कली भ्याट बिलबिजक बनाउने कम्पनीका प्रतिवादीले दिएको बयानका आधारमा बरुणमाथि अनुुसन्धान सोझियो।
बयानकर्ताको बयान आधार मान्दा बरुण बेभरेजले नक्कली भ्याट बिलको कारोबार गर्छ भन्ने पुष्टि हुन्छ भनेर राजस्व अनुसन्धानले आरोप लगायो। २९ वटै फर्मका सञ्चालक तथा प्रोपाइटर जो–जो छन्, उनीहरूको बयानमा पनि बोलाइयो।
नक्कली कम्पनी खडा गरेर कर छली गर्न सहयोग गरेका सबै कम्पनीमाथि राजस्वले मुद्दा हालेको छ। २०७५ फागुन १९ मा मुद्दा दर्ता नम्बर ०७५–सिटु–००९२ (अ) समूह बनाएर १० कम्पनीमाथि मुद्दा दर्ता ग¥यो। (आ) समूह बनाएर १२ कम्पनीमाथि २०७६ मंसिर ८ मा (मुद्दा नम्बर ०६३–सिटु–०१४६) मुद्दा हालियो। त्यसैगरी (ई) समूह बनाएर ७ कम्पनीलाई अर्को पनि मुद्दा चलाइयो।
मिसम्याच पनि देखियो
बिक्रीलाई बिक्री खातामा लेखिन्छ, खरिद गर्नेले पनि खरिद खातामा राख्नुपर्छ। एउटाले बिक्री गर्न अर्कोले खरिद गर्छ। बिक्री खाता र खरिद खाता मिल्नुपर्छ। मिलेन भने ‘मिसम्याच’ हुन्छ।
ई समूहअन्तर्गत मुद्दा लगाइएका ७ कम्पनीले बरुण बेभरेजलाई सामान बिक्री गरेको देखाए। बरुणले खरिद गरेको पनि देखियो। यहाँसम्म कुनै मिसम्याच छैन।
बरुणलाई सामान बिक्री गर्न ७ कम्पनीले सामान खरिद गरेको हुनुप¥यो। त्यो देखिएन। ती कम्पनीले कोसँग खरिद गरेको भन्ने देखिएन। त्यही भएर राजस्व अनुसन्धान विभागले ७ कम्पनीले खरिद नै गरेको छैन भने कसरी बिक्री ग¥यो भनेर प्रश्न उठाएको हो।
कुनै पनि सामान बरुण बेभरेजले खरिद गरेको छ भने ‘इन टाइम’ र ‘आउट टाइम’ हुन्छ। यो भनेको खरिद गरेको सामानभित्र लैजाने र बाहिर लैजाने प्रक्रिया हो। बरुणले विभिन्न कम्पनीबाट जुन सामान खरिद गरेको देखाएको छ, त्यो सामान बरुण बेभरेजभित्र इन भएकै छैन।
बिलबिजकमा खरिद देखियो। सामान देखिएन। भ्याट बिल छ। सामान छैन। त्यत्रो सामान कहाँ गयो? भनेर राजस्वले प्रश्न उठायो। यही विषय लिएर बरुण बेभरेजलाई प्रतिवादी बनाइएको छ। र, बाँकी विभागीय प्रमुखलाई मुख्य मतियार गुप्तालाई भगाउन सहयोग गरेको भनेर मुद्दा लगाइयो।
यहाँ यो सबै बदमासी गर्ने गुप्तामात्रै हो भन्ने देखिन्छ। तर, राजस्व अनुसन्धान विभागले कम्पनीलाई गुप्ताबारे थाहा हुँदाहुँदै उसको राजीनामा किन स्वीकृत गरियो भनेर दोषी करार गरियो र मुद्दा चलाइयो।
विभागीय प्रमुखका अनुसार गुप्ता कर छलीमा संलग्न छन् भन्ने थाहै थिएन। कर प्रशासनले अनुसन्धान गर्दैछ भन्ने पनि कुनै जानकारी थिएन। यतिसम्मकी गुप्ताको राजीनामा स्वीकृत भएको महिनाभन्दा एक महिनापछि राजस्व अनुसन्धान टोली प्रारम्भिक निरीक्षणमा आएको थियो। उनीहरू निरीक्षणमा आउँदा गुप्ता भारत गइसकेर त्यो ठाउँमा नयाँ कर्मचारी नियुक्त भइसकेका थिए।
नयाँ कर्मचारी अग्रवाललाई विगत केही थाहा थिएन। र, पनि उनीमाथि राजस्व अनुसन्धानले मुद्दा चलाएर जेलै चलान गर्याे। जबकि, घटनाका बारेमा कुनै जानकारी नै नभएका व्यक्तिलाई मुद्दा चलाउनुले राजस्व प्रशासनको नियत प्रष्ट हुने ती अधिकारीको भनाइ छ।
मुद्दा ठूलो देखाउन ४ अर्ब ५५ करोड बिगो र झन्डै ३ अर्ब जरिवानासमेत लगाइयो। जनतामाझ ठूलो कर छलीमाथि सरकारले अनुसन्धान गरेको देखाउन र बरुणमाथि जनताको नजर खराब बनाउन नियोजितरूपमा आक्रमण गरेको देखिन्छ।
राजस्व अनुसन्धान विभागका अनुसार बरुणबाट जम्माजम्मी ६५ करोड रुपैयाँ कर छली भएको हो। तर, मुद्दा ठूलो बनाउन अनेक हतकन्डा लगाएको देखिएको विभागका कर्मचारीहरू बताउँछन्।
राजस्व अनुसन्धान विभागले बरुण कम्पनीका प्रवद्र्धक, दक्षिण एसिया र अफ्रिकामा खाना, पेयपदार्थ र दुग्ध व्यवसायको अवधारणा कार्यान्वयन, विकास र विस्तारमा तीन दशकभन्दा बढीको अनुभव बटुलेका जयपुरियालाई पनि कर छलीमा मुछेको छ।
जयपुरिया सन् १९९७ मा ‘इन्टरनेसनल बोटलर अफ द इयर’ का लागि पेप्सीको पुरस्कार प्राप्त गर्ने एकमात्र भारतीय कम्पनीका प्रवर्द्धक हुन्। तर, त्यस्ता व्यक्तिले कर छलेको भनेर आरोप लगाएपछि उनी त्यसयता नेपाल आएकै छैनन्। उनलाई कर छलीको मुद्दा लाग्नु एक वर्षअघि मात्रै उनले नेपालमा २ अर्ब रुपैयाँ लगानी विस्तार गरेका थिए।
नेपाली व्यवसायीसँग कुशल सम्बन्ध स्थापित गरेका जयपुरियाले नेपाली व्यवसायीसँग भेट्दा नेपालमा थप लगानी विस्तार गरेर गल्ती गरेको भनिरहन्थे।
कम्पनी, कम्पनीका मुख्य लगानीकर्ता र त्यहाँ कार्यरत कर्मचारीमाथि राजस्व अनुसन्धान विभागले २०७६ पुस ३ गते उच्च अदालतमा मुद्दा हालेको थियो। त्यो मुद्दा हालसम्म विचाराधीन छ।