काठमाडौं। निजी क्षेत्रबाट विकास गरिएको ट्रेड टावर लिमिटेडले राजधानीको गौशालामा तीनतारे स्तरको होटलसहितको बहुउद्देश्यीय व्यापारिक भवन निर्माण गरिरहेको छ।
निर्माणाधीन ‘ट्रेड टावर गौशाला’ आगामी नयाँ वर्षको अवसर पारेर आगामी २०८१ वैशाखबाट सञ्चालन गर्ने लक्ष्य छ।
टावरको ७० प्रतिशत वित्तीय प्रगति भएको कम्पनीले जनाएको छ। टावर निर्माण पूरा गर्न ६५ करोड रुपैयाँ लाग्ने अनुमान छ। टावरमा संस्थागत लगानीकर्ताका साथै बैंकको ऋण लगानी छ।
संस्थापकहरूले सबै लगानी गरिसकेका छन्। ११ करोड ६० लाख रुपैयाँबराबर रकम प्राथमिक सेयर निष्कासन (आइपिओ) बाट जुटाउने लक्ष्य कम्पनीको छ।
६ तला अग्लो भवनको दुई तलामा होटल सञ्चालन हुनेछ। त्यसबाहेक कार्यालय र अन्य पसल सञ्चालन हुनेछन्।
गौशाला टावरको संस्थापक ट्रेड टावर सन् २०११ देखि सञ्चालनमा आएको हो। टावरको ९८ प्रतिशत भवन भाडामा लागेको छ। कम्पनी लिजिङ, फाइनान्स, र पूर्वाधार विकासमा संलग्न छ।
कम्पनी पब्लिक लिमिटेडमा रूपान्तरण भइसकेको छ। ट्रेड टावर थापाथलीमा ३ सय ८४ संस्थापक लगानीकर्ताको ७५ प्रतिशत स्वामित्व छ। यस्तै २५ प्रतिशत आइपिओ निष्कासन गर्ने योजना कम्पनीको छ। कम्पनीको अध्यक्षमा शिवहरि दंगाल छन्। कम्पनीमा उनको २७ प्रतिशत स्वामित्व छ।
ट्रेड टावर थापाथलीले नौ महिनामा ६ करोड ७० लाख रुपैयाँबराबर कारोबार गरेको छ। २०२२ मा कम्पनीले ८ करोड २२ लाख, २०२१ मा ६ करोड ८० लाख, २०२० मा ८ करोड ५० लाख र २०१९ मा ८ करोड ७० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ।