झापा। गत आर्थिक वर्ष २०७९/८० मा काँकडभिट्टा नाकाको व्यापार घाटा उच्च देखिएको छ।
यस नाकाबाट भारत, चीन, बंगलादेश र भुटानसँग व्यापार हुने गर्छ। मेची भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षमा मात्रै यस नाकाको व्यापार घाटा २४ अर्ब ३१ करोड ९४ लाख ४१ हजार रुपैयाँभन्दा बढी छ।
आर्थिक वर्षमा काँकडभिट्टा नाका भई विभिन्न देशबाट ४६ अर्ब ३६ करोड १३ लाख ३४ हजार रुपैयाँबराबरको सामान आयात भएको छ भने सोही अवधिमा सो नाकाबाट जम्मा २२ अर्ब ४ करोड १८ लाख ९३ हजार रुपैयाँबराबरको सामान निर्यात भएको मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले जानकारी दिए।
उनका अनुसार यस नाकामार्फत बंगलादेशबाट ५ अर्ब ६५ करोड २० लाख ६५ हजार रुपैयाँको सामान आयात भएको छ भने ४७ करोड ११ लाख ५३ हजार रुपैयाँको सामान निर्यात भएको छ। विगत पाँच वर्षदेखि यस नाकाबाट हुने बंगलादेशसँग व्यापार घाटा छ।
साथै समीक्षा अवधिमा भुटानसँग १ अर्ब ५६ करोड ८८ लाख ३० हजार रुपैयाँबराबरको सामान आयात भएको छ भने ५२ करोड दुई लाख ३६ हजार रुपैयाँबराबरको निर्यात भएको छ।
सोही अवधिमा भारतबाट ३३ अर्ब १८ करोड ८७ लाख ५६ हजार रुपैयाँको सामान आयात भएको छ भने १९ अर्ब ८१ करोड २३ लाख ७१ हजार रुपैयाँबराबरको निर्यात भएको छ।
गत आवमा यस नाकाबाट चीनसँगको व्यापार घाटा भने शतप्रतिशत प्रतिशत छ। चीनबाट ३ अर्ब ६ करोड १० लाख १२ हजार रुपैयाँको सामान आयात हुँदा निर्यात शून्य छ।
नेपालबाट अदुवा, अलैँची, चिया, अम्रिसो, फलाम तथा फलामका सामग्री, प्लाइउड, छुर्पी, दलहन, धातुका सामान, पिनालगायत वस्तु यी देशमा निर्यात हुँदै आएको छ।
साथै यस नाकाबाट कोइला, पेट्रोलियम पदार्थ, पशुको आहाराको कच्च पदार्थ, जुट तथा जुटका उत्पादन, ड्राइफुट्स, भटमास, तोरी नरिवल, चिप्स, मार्बल, प्लास्टिकका कच्चापदार्थ, तरकारी, आलु, कपडालगायत सामान आयात हुने गरेको भन्सार कार्यालयको भनाइ छ।