काठमाडौं। चौधरी ग्रुप (सिजी) अन्तर्गत रहेको सिजी एग्रोटेकले विश्वको फ्ल्यागसिप फ्रि जोन डिएमसिसी र दुबई प्राधिकरणसँग कमोडिटी ट्रेड सम्झौतापत्रमा हस्ताक्षर गरेको छ।
सम्झौताले कृषि क्षेत्रमा दक्षिण एसियाका राष्ट्रसँग द्विपक्षीय व्यापार बढाउन मद्दत पुग्ने सिजी एग्रोटेकले जनाएको छ।
हालै सिजी एग्राेटेकका प्रबन्ध निर्देशक बरुण चौधरी र डिएमसिसीका चिफ अपरेटिङ अफिसर फेरयाल अहमदीले सम्झौतापत्रमा हस्ताक्षर गरे।
यस सहकार्यले डिएमसी र सिजी एग्रोटेकबीच बलियो सम्बन्ध स्थापना गर्नुका साथै डिएमसिसीका सदस्य कम्पनीका लागि व्यापार, लगानी र बजार पहुँच बढाउनसमेत सहयोग पुग्ने कम्पनीले जनाएको छ।
सिजी एग्रोटेकका प्रबन्ध निर्देशक चौधरीले डिसिएमसिसीसँगको साझेदारीले नेपाल–युएईबीच कृषि व्यापार सम्बन्ध अझ सुदृढ र बलियो हुने विश्वास व्यक्त गरे।
‘डिएमसिसीसँग रहेको २३ हजार सदस्य कम्पनीको व्यापक नेटवर्कको लाभ उठाउँदै र पारस्परिकरूपमा लाभदायक अवसरको अन्वेषणले द्विपक्षीय व्यापार अझ व्यापक बनाउन हाम्रो क्षमतामा महत्त्वपूर्ण प्रभाव पार्ने छ,’ चौधरीले भने।
डिएमसिसीका चिफ अपरेटिङ अफिसर अहमदीका अनुसार हालका वर्षमा दक्षिण एसियामा कृषि वस्तु आयातमा उल्लेखनीय वृद्धि भएको छ र यो वृद्धिदर जारी रहने देखिएको छ।
साथै, खाद्य सुरक्षामा आएको जागरुकताका कारण विश्वव्यापीरूपमा कृषि वस्तुको माग अझ बढ्ने उनले बताइन्। ‘यो साझेदारीका माध्यमबाट डिएमसिसीलाई यी व्यापारिक अवसरको मूल्यांकन गर्न मद्दत पुग्ने छ,’ उनले भनिन्।