बलेवा। बागलुङको गलकोट नगरपालिका–९ का किसानले स्थानीय जातका भैँसीबाट उत्पादित दूधको आफ्नै ब्रान्ड बनाउने तयारी गरेका छन्। रिस्मी गाउँभरीका किसानले पालेका स्थानीय लिमे र पाराकोटे जातका भैँसीको दूध संकलन केन्द्र बनाएर ब्रान्ड गर्ने तयारी गरेका हुन्।
छुट्टै संकलन केन्द्र बनाएर दूध ब्रान्ड गर्ने र प्याकिङ गरेर बजार पठाउने तयारी भएको स्थानीय अग्निधर सापकोटाले बताए। उनले हेर्दा मोटाघाटा र उन्नत जस्ता देखिए पनि रिस्मी गाउँमा अहिलेसम्म स्थानीय भैँसीमात्रै पालिएका जानकारी दिए।
घाँसको पर्याप्तताका कारण यहाँका भैँसीले धेरै दूध दिने गरेको किसानले बताएका छन्। किसानले यहाँ उत्पादित दूध दैनिक सात किलोमिटर परको हटिया बजार पठाउने गरेका छन्।
रिश्मीसहित गल्याङ, कांडेबास, आँगखेत र मल्मका किसानले उत्पादन गर्ने सयौँं लिटर दूध खुलारूपमा हटियामा बिक्री भइरहेकाले अब ब्रान्ड बनाउने योजना रहेको गलकोट कृषि सहकारी संस्थाका अध्यक्ष नारायणप्रसाद सापकोटाले बताए।
‘खुला दूध बिक्री गर्दा गर्मीमा फाट्ने समस्या छ। समयमा बजारसम्म दूध पुर्याउन नसके दूध बिग्रन्छ,’ उनले भने, ‘गाउँमै चिस्यान केन्द्र बनाएर दूधको ब्रान्ड गर्दा लामो समयसम्म नबिग्रने भएकाले गत आर्थिक वर्षमा केन्द्र निर्माण गरेका छौं।’
चिस्यान केन्द्रका लागि गलकोट नगरपालिकाले ९ लाख सहयोग गरेपछि किसानले श्रमदान गरेर ३ लाख ८६ हजार थप रकम जुटाएका अध्यक्ष सापकोटाले बताए। उनका अनुसार कूल १२ लाख ८६ हजार रुपैयाँमा केन्द्रको भवन बनेको हो। यो भवन सञ्चालनमा ल्याएपछि दैनिक १ हजार लिटरसम्म दूध संकलन गर्ने लक्ष्य राखिएको सापकोटाले बताए।
चिस्यान केन्द्रका लागि नगरपालिकाले ८ लाख रुपैयाँ बराबरको उपकरण खरिद गरेको जनाएको छ। पालिकाका अनुसार किसानले उक्त भवन निर्माण सम्पन्न गरेपछि खरिद गरिएका उपकरण हस्तान्तरण हुनेछ।
चिस्यान केन्द्र सञ्चालनमा ल्याउने तयारी भइरहेकाले सहकारीमा आबद्ध सबै किसानलाई स्थानीय जातका भैँसी पालेर दूध उत्पादन गर्न भनिएको सहकारीका अध्यक्ष सापकोटाले बताए।
‘विदेशबाट ल्याइएका गाईभैँसी भन्दा स्थानीय जातका लिमे र पाराकोटेको दूध स्वादिलो छ,’ उनले भने, ‘ब्रान्ड बनाएर बिक्री गर्न सकेमा स्थानीय किसानले उत्पादन पनि बढाउनेछन्।’ दूधको आफ्नै ब्रान्ड बनेपछि किसानले बजारमा उचित मूल्य समेत पाउने उनको भनाइ थियो।
अहिले किसानले प्रतिलिटर ७० मात्र पाएका छन्। बजारमा दूध प्रतिलिटर १ सय १० मा बिक्री भइरहेको छ। चिस्यान केन्द्र बनाएपछि दूधका अन्य परिकारसमेत बनाउने लक्ष्य रहेको स्थानीय अग्निधर खरेलले बताए।
रिश्मीमा दैनिक धेरै दूध उत्पादन गर्ने किसानमा खरेल गनिन्छन्। ‘गाउँमा कसैले पनि गाई पालेका छैनन्। विदेशबाट झिकाइएका गाईभैँसी नपालेकाले उनीहरूले स्थानीयकै ब्रान्ड बनाउन चाहेको हुन्,’ उनले भने।
‘हामीले दाना खुवाएका छैनौँ, घाँसपराल खुवाउने गर्छौं। बेलाबेला चराउने गर्छौं,’ स्थानीय नारायण सापकोटाले भने, ‘नियमित चर्ने र घाँसपराल खाने भैँसीको दूध पोसिलो हुन्छ।’
भेटेरीनरी तथा पशु विकास विज्ञ केन्द्र बागलुङका प्रमुख ऋषिराम सापकोटाले लिमे र पाराकोटे भैँसीको दूध पोसिलो हुने बताए। उनले स्थानीय ब्रान्डको दूध उत्पादन गर्न सकेमा आयातित दूधलाई विस्थापित गर्न सकिने बताउँदै किसान स्थानीय जातको भैँसी पाल्न लाई प्रोत्साहन गरिएको जानकारी दिए। ब्रान्डका लागि परीक्षण र प्याकिङका लागि केन्द्रले प्राविधिक सहयोग गर्ने उनको भनाइ थियो।
‘यहाँ उत्पादित दूध ब्रान्ड गरेपछि केही दिन चिस्यान केन्द्रमा राख्दा बजारको माग पूरा गर्न सकिन्छ,’ प्रमुख सापकोटाले भने, ‘किसानले उचित मूल्य पनि पाउनेछन्।’ उनका अनुसार रिश्मीका मात्रै ६० जना किसानले दैनिक हटियामा दूध पुर्याउने गरेका छन्।
स्थानीयस्तरमा चिस्यान केन्द्र बन्दा जम्मा भएको दूध गाडीमा पठाउन सकिन्छ। दूध बिक्रीका लागि दैनिक हटिया पुग्दा खर्च बढी भएको तथा बिक्री केन्द्रमा एकजना कर्मचारीको व्यवस्था गर्नु परेपछि किसानले गाउँमै चिस्यान केन्द्र बनाउन थालेका हुन्।
‘किसानको मेहनत देखेपछि हामीले भवन निर्माणमा सहयोग गर्यौं, अब उपकरण पनि दिने योजना छ,’ नगरप्रमुख भरत शर्मा गैरेले भने, ‘आफ्नै ब्रान्डको दूध उत्पादन भएमा आत्मनिर्भर भएर बाहिर पनि बिक्री गर्न सकिने गरी लाग्न किसानलाई आग्रह गरेका छौँ।’
केन्द्रका अनुसार जिल्लामा १ करोड ५५ लाख रुपैयाँ लिटर दूध उत्पादन हुन्छ।