काठमाडौं। असोज १ गतेबाट सूर्यविनायक–रत्नपार्कमा ‘द्रुत बस सेवा’ सञ्चालन हुने भएको छ।
काठमाडौं उपत्यकामा धेरै ट्राफिक जाम र सार्वजनिक यातायातमा यात्रा गर्दा समयमा गन्तव्य पुग्न कठिन भएपछि द्रुत बससेवा सञ्चालन गर्न लागिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले जानकारी दिए।
‘भक्तपुर सूर्यविनायकदेखि रत्नपार्कसम्म पहिलो चरणमा द्रुत बससेवा सञ्चालन तयारी गरिरहेका छौं,’ मन्त्री ज्वालाले भने ‘आगमी असोज १ गतेबाट भक्तपुर सूर्यविनायकदेखि रत्नपार्कसम्म द्रुत बससेवा सञ्चालन हुन्छ, त्यसपछि अन्य रुटमा पनि चलाउन थाल्छौं।’
तत्कालका लागि द्रुत बससेवा अत्यधिक जामका समय बिहान ९ देखि ११ र साँझ ४ देखि ६ बजेसम्म सञ्चालन हुनेछ। त्यसका लागि ४० सिटभन्दा माथिका करिब २५ बस सञ्चालनमा ल्याउने तयारी गरेको मन्त्रालयका सचिव केशव शर्माले बताए।
‘ठ्याक्कै बस र्यापिट ट्रान्जिट सिस्टम (विराटी) त होइन, तर हाम्रो नेपाली मोडेलको र्यापिट बस सर्भिस हो,’ सचिव शर्माले भने। उनका अनुसार सडक लेनदेखि बसको आकार नै फरक हुने गरी द्रुत बस सेवा सञ्चालनको तयारी भइरहेको छ।
द्रुत बससेवा सडक लेन बनाउन मन्त्री ज्वालाले सडक विभागलाई र बसको आकार प्रकार, सफाइ र रोड प्रमिटको व्यवस्था मिलाउन यातायात व्यवस्था विभागलाई निर्देशन दिएका छन्।
अत्यधिक जामका बेला सूर्यविनायकदेखि रत्नपार्कसम्म सार्वजनिक यातायातमा यात्रा गर्दा डेढ घन्टा लाग्छ। यातायात व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले भने, ‘द्रुत बस सेवा सञ्चालन भएपछि अत्यधिक जामका बेला पनि ४५ मिनेटमा पुग्न सकिने गरी यातायात सञ्चालन गर्दैछाैं।’
भौतिक मन्त्री ज्वाला, राज्यमन्त्री नन्दा चपाई, सचिव शर्मा, सहसचिव अर्जुनजंग थापा, यातायात व्यवस्था विभागका महानिर्देशक भट्टराई, सडक विभागका उपमहानिर्देशक रामहरि पोखरेल, ट्राफिक प्रहरीका डिआइजी र एसएसपी, यातायात व्यवसायी महासंघका पदाधिकारीसहितको बैठकले द्रुत बस सेवा सञ्चालन गर्ने निर्णय गरेको हो।
दु्रत बस सेवाका लागि मोबाइल एप पनि बनाइने भएको छ। बस कुन समयमा कुन ठाउँमा आइपुग्छ त्यसको जानकारी एपबाट हेर्न सकिनेछ।