काठमाडौं। बुधबार साँझ सार्वजनिक गरिएको झन्डै एक क्विन्टल सुन राजस्व अनुसन्धान विभागले मंगलबार नै बरामद गरेको थियो।
भन्सार जाँचपास गरेर विमानस्थलबाट बाहिर ल्याइएको सुन बरामद गरेपछि विभागले मंगलबार नै भन्सार एजेन्टसँग केरकार गर्दा अन्य दुईजनाको नाम खुलेको थियो ।
त्यसपछि बुधबार बूढानीलकण्ठबाट एक जना र जोरपाटीबाट अर्का व्यक्तिलाई पक्राउ गरेको विभागले जनाएको छ।
मंगलबार बरामद गरिएको सुन नक्कली कम्पनी खडा गरी त्यसकै नाममा प्रज्ञापनपत्र खोलेर ल्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। यद्यपि, यसको विस्तृत विवरण आउन बाँकी छ।
सुनकाण्डमा रेडी ट्रेडर्स प्रालिका सञ्चालक दिलीप भुजेल, भन्सार एजेन्ट राजेन्द्र राई, सहयोगीको आशंकामा रामकुमार भुजेल, हर्क राई र ट्याक्सी चालक अशोक लामा पक्राउ परेका छन्। पाँचैजनालाई विभागको हिरासतमा राखिएको छ ।
उक्त सुन मंगलबार राति बरामद गरिए पनि यो प्रकरण बुधबार साँझमात्र सार्वजनिक गरिएको विभागले स्पष्ट पारेको छ।
किन यति लामो समय लाग्यो भन्ने प्रश्नमा विभागका अधिकारी भन्छन्, `बरामद गरिएको ठूलो परिमाणको सामग्री सुन हो कि हाेन भनेर छुट्टयाउनुपर्ने थियो। नमुना परीक्षण स्याम्पलमा टेस्ट गरेपछि सुन हो भन्ने पुष्टि हुन गयो। नमुना परीक्षण नगरी पुष्टि गर्न सकिँदैन थियो। यस्तै तस्करीसँग सम्बन्धित व्यक्तिहरूलाई पक्राउ गर्नका लागि पनि घटना बाहिर ल्याउन नहुने अवस्था थियो। सार्वजनिक गरेको भए उनीहररू भाग्ने सम्भावना हुन्थ्यो। त्यसलै मंगलबार सार्वजनिक नगरेको हो। दुवै विषय निश्चित भएपछि बुधबार अनौपचारिकरूपमा घटना सार्वजनिक गरिएको हो। औपचारिकरूपमा सार्वजनिक गर्न अझै केही दिन लाग्ने देखिन्छ।´
विमानस्थल भन्सार कार्यालयबाट ठूलो मात्रामा सुन चोरीपैठारी हुन लागेको सूचना राजस्व अनुसन्धान विभागलाई एक साताअघि नै प्राप्त भएको सम्बन्ध अधिकारीको दाबी छ।
कसरी थाहा भयो भन्ने क्यापिटल नेपालको प्रश्नमा ती अधिकारीले भने, ‘यो जानकारी पाएपछि विशेष टोली बनाएर अनुसन्धान थालेका थियौं। यसमा सफल भयाैं।´
पहिलो चरणमा पाँचजना पक्राउ परेका छन्। सुन ल्याउने योजनाकारको खोजी गरिरहेको विभागका अधिकारी बताउँछन्। अनुसन्धानका लागि भन्सार जाँचपास गराउने कर्मचारी तानिने भएका छन्। त्यसपछि यसको सम्बन्ध कहाँसम्म पुगेको छ जानकारी पत्ता लाग्ने ती अधिकारीको भनाइ छ।
मंगलबार राति १० बजे हङकङबाट आएको क्याथे प्यासेफिक एयरवेजको उडानमा स्कुटरको ‘ब्रेक सु’ जस्तो बनाएर उक्त सुन नेपाल ल्याइएको थियो । नेपालमा एकैपटक यति धेरै सुन बरामद भएको सम्भवतः पहिलो घटना हो। यसअघि २०७४ भदौमा चिनियाँ तस्करले भित्र्याएको ८८ किलो सुनसहित काठमाडौं क्षेत्रपाटीबाट गाडी चालक पक्राउ परेका थिए।
विभागका महानिर्देशक नवराज ढुङ्गानाले ८० देखि १०० किलोको बीचमा रहेको सुन बरामद गरिएको जानकारी दिएका छन्। विमानस्थल पास भएर आएको उक्त सुन विमानस्थल भन्सार गेट अगाडिबाट ट्याक्सीमा हालेर लैजान लागेका बेला बरामद भएको उनले बताए।
उनले सुन आएको खुलेको जानकारी दिए। थप अनुसन्धान जारी रहेकाले बिहीबारसम्ममा धेरै कुरा खुल्ने उनले बताए। भन्सार कार्यालयले निर्वाध सुन पास गरिदिएको थियो । आठवटा कार्टुन बक्सामा ल्याइएका स्कुटरका १ सय ६० वटा ब्रेक सुको जाँचपास भन्सार कार्यालयले गरेको थियो।
जसको तौल १ सय ५४ केजी उल्लेख गरिएको विभागले जनाएको छ। ‘करिब एक क्विन्टल सुन हुनुपर्छ भन्ने अनुमान गरेका हौं,´ उनले भने, ‘सामान जाँच गर्ने स्क्यानरले कसरी पत्ता लगाएन? सम्भावित सेटिङबारे अनुसन्धान हुँदै छ।’ उक्त सुनको मूल्य अहिलेको बजार मूल्यअनुसार झन्डै ९३ करोड रुपैयाँ हुन्छ।