काठमाडौं ‘नबिल सामाजिक उद्यमशीलता’ नबिल एसएसईअन्तर्गत फेलोसिप कार्यक्रमको दोस्रो ब्याचको सफलतापूर्वक सञ्चालनसँगै नबिल बैंकले तेस्रो ब्याचका लागि आवेदन खुला गरेको छ।
त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत स्कूल अफ म्यानेजमेन्ट त्रिभुवन विश्वविद्यालयसँगको सहकार्यमा सञ्चालित यस कार्यक्रमले समाजमा सकारात्मक परिवर्तन ल्याई दिगो विकासको लक्ष्य हासिल गर्न मद्दत गर्ने बैंकले विश्वास लिएको छ।
कार्यक्रममा कृषि, पर्यटन, ऊर्जा, वातावरण संरक्षण, सूचना प्रविधिलगायत जुनसुकै क्षेत्रमा नवीनतम सोच भएका १८ वर्षदेखि माथिका नेपाली नागरिकले आवेदन दिन सक्नेछन्।
नबिल एसएसईको फेसबुक पेजमा रहेको लिंकमा गई गुगल फारमबाट आवेदन दिन सकिने बंकले जनाएको छ। अथवा नबिल बैंकको वेबसाइटमा गई नबिल एसएसईको पेजबाट पनि फारम भर्न सकिन्छ। आवेदन अन्तिम दिन बैंकले भदौ ३ गते तोकेको छ।
सामाजिक उद्यमशीलतालाई प्रवर्द्धन गर्ने लक्ष्य बोकेको यस कार्यक्रम ६ महिनासम्म चल्नेछ। साथै हरेक महिना तीन दिन आवासीय छलफल र बाँकी दिन आफ्नै कार्यस्थलमा प्रयोगात्मक अभ्यास गर्ने ढाँचा तयार पारिएको बैंकले जनाएको छ।
तालिम अवधिभरि तथा बाँकी ६ महिना गरी एक वर्षका लागि सबै सहभागीलाई मेन्टरको व्यवस्था गरेर व्यवसाय गर्दा आइपर्ने व्यवहारिक कठिनाइको समाधानका लागि सहयोग गर्ने बैंकको भनाइ छ।
यसअघि आर्थिक, सामाजिक रूपान्तरणलाई बढावा दिनका लागि सुरु गरिएको यस फेलोसिप कार्यक्रमबाट ३६ जनाले उद्यमशीलताको तालिम प्राप्त गरिसकेका छन्।
विभिन्न पृष्ठभूमिबाट आएका सहभागीले सामाजिक उद्यम सञ्चालनका लागि आवश्यक कानुनी तथा करसम्बन्धी ज्ञान, व्यवासायको ब्रान्डिङ, बजारीकरण आदिजस्ता विभिन्न विषयमा तालिम प्राप्त गरेका थिए।
आवेदनका लागि तल दिइएको लिंकमा क्लिक गर्न सकिनेछ।
https://nabilbank.com/individual/corporate-social-responsibility/nabil-sse