बुटवल। बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले संस्थागत विद्यालयलाई कुनै प्रकारका शुल्क वृद्धि नगर्न निर्देशन दिएका छन्।
उपमहानगरपालिकाको आयोजनामा आज नगरभित्रका संस्थागत विद्यालयका प्रधानाध्यापकसँगको छलफलमा प्रमुख पाण्डेयले विद्यालय शिक्षा सुधार गर्दै बुटवललाई शिक्षामा अगुवा सहर बनाउनका लागि संस्थागत विद्यालयले गुणस्तर र सीपमूलक शिक्षामा जोड दिनुपर्ने बताए।
उनले कक्षा ११ को भर्ना सुरु हुनुअघि संस्थागत विद्यालयसँग आयोजित छलफलका क्रममा विद्यार्थीलाई पोसाक र पुस्तक खरिदमा निश्चित पसलमा जान बाध्यकारी नियम लागू नगरी स्वेच्छिक हिसाबले खरिद गर्न दिनका लागि निर्देशन दिए।
‘विद्यालय सुधार गर्नका लागि पहिले विद्यालयको प्रशासनिक कुरामा सुधार ल्याउनुस्,’ उनले भने, ‘विद्यालयभित्रैबाट बाध्यकारी हुने अवस्था सिर्जना नगर्नुहोस्।’ उनले विद्यालयले गुणस्तर वृद्धि र प्राविधिक शिक्षालाई जोड दिनुपर्ने बताउँदै विद्यालयको क्षमता, भौतिक पूर्वाधार, ल्याब, शिक्षकको जनशक्तिलाई ध्यानमा राखेरमात्रै विद्यार्थी भर्ना गर्न आग्रह गरे।
उनले संस्थागत विद्यालयले मनपरी शुल्क लिँदै आएको गुनासो आएको भन्दै मनपरी शुल्क लिनेलाई कानूनी दायरामा ल्याएर आवश्यक कारबाही अगाडि बढाउने बताए।
कार्यक्रममा उपप्रमुख सावित्रादेवी अर्यालले संस्थागत विद्यालयले गुणस्तरका साथै सीपमूलक शिक्षामा जोड दिनुपर्ने बताए। उनले बुटवललाई शिक्षामा अग्रणी बनाउनका लागि संस्थागत विद्यालयले भूमिका निर्वाह गर्नुपर्ने बताए।
निमित्त प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले विद्यालयस्तरको शिक्षामा सुधारका लागि सबै विद्यालय एउटै नियम र पद्धतिमा चल्न आग्रह गरे। कार्यक्रममा उपस्थित संस्थागत विद्यालयका प्रधानाध्यापकहरूले विद्यालय सुधारका लागि प्रतिबद्ध र विद्यालय शिक्षा सुधारमा नगरले थप लगानी गर्न आवश्यक रहेको सुझाव दिएका थिए।