काठमाडौं। हेलिकाेप्टर सञ्चालक र नेपाल नागरिक उड्डयन प्राधिकरणबीचको बढ्दो विवाद साम्य हुने भएको छ।
प्राधिकरणले केही दिनअघि पाइलट सञ्चालकलाई उडानमा प्रतिबन्ध लगाउने, सेप्टेम्बरसम्म माउन्टेन फ्लाइट बन्द गर्ने,सिलिङ उडान बन्द, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २४ घन्टाभित्र अनिवार्य उपस्थिति हुनुपर्ने नियम ल्याएसँगै हेलिकाेप्टर सञ्चालकहरू विरोधमा उत्रिएका थिए।
नियामक निकायले ल्याउने कतिपय नीतिका कारण दुर्घटना न्यूनीकरण हुन नसक्ने निष्कर्ष निकाल्दै हेलिकाेप्टर सञ्चालकहरूले त्यसखालको नियम नल्याउन अनुरोध गर्दै आएका थिए।
कतिपय हेलिकाेप्टर कम्पनी सञ्चालकले पाइलटहरूकै कारण नेपालमा निजी क्षेत्रबाट एयरलाइन्सको लहर आएकाले तिनै पाइलटलाई उडान प्रतिबन्ध लगाउन नमिल्ने तर्क राख्दै आएका थिए।
खासगरी मनाङ एयरको हेलिकाेप्टर दुर्घटनापछि प्राधिकरणले सञ्चालक पाइलटलाई उडान प्रतिबन्ध लगाउने तयारी गरेको परिपत्र कम्पनीहरूमा पठाएकाे थियाे।
कम्पनीमा पठाएको परिपत्रमा लगानीकर्ता भएका पाइलटलले उडान र सञ्चालनमध्ये एकमा मात्र काम गर्नुपर्नु उल्लेख थियाे। प्राधिकरणको त्यसखालको परिपत्रपछि सञ्चालकहरूले खुलेरै उक्त नीतिको विरोध गरेका थिए।
हेलिकाेप्टर सञ्चालकहरूको बढ्दो असन्तुष्टिपछि प्राधिकरणले बुधबार दिउँसो छलफलमा बोलाएको थियो।
प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहितको उपस्थितिमा भएको छलफलमा व्यवसायीले प्राधिकरणले ल्याउने केही नियमले झनै समस्यामा पारेको बताएका थिए। उनीहरूले प्राधिकरणले ल्याउने नयाँ नियममा सञ्चालकसँग पनि छलफल गर्न आग्रह गरेका थिए।
छलफलमा सहभागी एक हेलिकाेप्टर सञ्चालकका अनुसार यो पटकको भेटमा महानिर्देशक अधिकारी हेलिकाेप्टर सञ्चालकसँग सकारात्मक भएर कुराकानी गरेका थिए।
महानिर्देशक अधिकारीले बढ्दो हवाई दुर्घटना न्यूनीकरणका लागि प्राधिकरणले के-के गर्नुपर्छ र हेलिकाेप्टर सञ्चालकले के-के गर्न सक्छन् भन्ने विषयमा लिखित सुझाव दिनसमेत अनुरोध गरेका छन्।
व्यवसायीले दिएको लिखित सुझावका आधारमा छलफल गरेर नयाँ नीति ल्याउने उनले बताएको ती सञ्चालकले जानकारी दिए।
प्राधिकरणले ल्याउने कार्यविधि भनेको हवाई दुर्घटना न्यूनीकरणकै लागि भएकाले सञ्चालक र पाइलटलाई चित्त दुखाएर कुनै पनि निर्णय नगर्ने प्रतिबद्धतासमेत महानिर्देशक अधिकारीले गरेको ती सञ्चालकले जानकारी दिए।
‘प्राधिकरणको एउटै उद्देश्य हो मुलुकमा कुनै खालको हवाई दुर्घटना नहोस्,’ महानिर्देशक अधिकारीको भनाइ उद्धृत गर्दै ती सञ्चालकले भने, `नियामक र सञ्चालकबीच आपसी समझदारीमै नयाँ नियम आउने छ।´
छलफलमा व्यवसायीले मौसम सफा हुँदा भने माउन्टेन फ्लाइट खुला गर्न अनुरोध गरे। ‘हामीले उडान गर्ने भनेकै मौसम सफा हुँदा हो,’ अर्का एक सञ्चालकले भने, ‘हाम्रो प्रस्तावमा प्राधिकरण सकारात्मक छ, केही निर्णय आउन सक्छ।’
प्राधिकरणले मागेको सुझाव बनाउन हेलिकाेप्टर सञ्चालकहरू शुक्रबार वा शनिबार बैठक बस्ने तयारीमा जुटेका छन्।
क्याप्टेन रामेश्वर थापा उपस्थित भएनन्
वायुसेवा सञ्चालक संघका अध्यक्ष एवं सिम्रिक हेलिकाेप्टरका अध्यक्ष क्याप्टेन रामेश्वर थापा भने बुधबारको छलफलमा उपस्थित भएनन्।
प्राधिकरणका महानिर्देशक अधिकारीसँग रुष्ट बनेका क्याप्टेन थापा बैठकमा सहभागी नहुनुमा अझै केही कलह बाँकी रहेको अनुमान छ।
सिम्रिकले काभ्रेमा बनाउने भनेकाे हेलिपोर्ट निर्माणमा प्राधिकरणले रोक लगाएपछि अध्यक्ष थापा महानिर्देशक अधिकारीसँग रुष्ट बन्दै आएका छन्। बुधबारको बैठकमा वायुसेवा सञ्चालकका तर्फबाट महासचिव मनोज कार्कीले नेतृत्व गरेका थिए।