काठमाडौं। जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजको राज ब्रुअरी प्रालिले ९ महिनामा ७८ करोड ७० लाख रुपैयाँको बियर व्यापार गरेको छ। ब्रुअरीले २०२२ मा बियर बेचेर १ अर्ब ३ करोड, २०२१ मा ६७ करोड ६० लाख, २०२० मा २८ करोड ६० लाख र २०१९ मा ४६ करोड रुपैयाँको बियर कारोबार गरेका छन्।
राज ब्रुअरीले २ विदेशी र ३ नेपाली ब्रान्डका बियर उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ। राजले बडवाइजर र वाइस्टनर ब्रान्डका विदेशी बियर उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ।
यस्तै उद्योगले माउन्टेन आइस, हात्ति–८ र नमस्ते स्थानीय ब्रान्डका बियर उत्पादन गर्दै आएको छ। कूल आम्दानीको ८९ प्रतिशत हिस्सा बडवाइजर बियरको रहेको छ।
राज ब्रुअरीले १ अर्ब ६० करोड ४९ लाख रुपैयाँ ऋणको रेटिङ गराएको छ।
राज ब्रुअरी २०१३ मा स्थापना भएको हो। उद्योगले २०२१ देखि बडवाइजर बियर उत्पादन तथा बिक्री गर्दै आएको छ। राज ब्रुअरी राजबहादुर शाहको एकल लगानी रहेको छ।
युरोपेली, भारतीय र नेपाली आपूर्तिकर्ताहरूबाट बियरको कच्चापदार्थ आपूर्ति गर्दै आएको उद्योगले जनाएको छ।
सन् १९७३ देखि जावलाखेल डिस्टिलरी स्थापना गरेर मदिरा उद्योगमा प्रवेश गरेका शाहका आठ मदिरा कम्पनी सञ्चालनमा छन्। चार डिस्टिलरी, दुई बियर, एक रिसर्च र एक वितरक कम्पनी सञ्चालनमा छन्।