दार्चुला। दार्चुलाका नौ स्थानीय तहको ४२ करोडभन्दा बढी विकासे बजेट ‘फ्रिज’ भएको छ।
कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार जिल्लाका नौवटै स्थानीय तहमा संघ र प्रदेशबाट प्राप्त विकासे बजेटमध्ये ४२ करोड १४ लाख ३१ हजार ४ सय ६४ रुपैयाँ ‘फ्रिज’ भएको हो।
संघीय सरकारबाट ससर्त अनुदान, समपूरक अनुदान र विशेष अनुदान शीर्षकबाट प्राप्त रकम र प्रदेश सरकारबाट समपूरक अनुदान र विशेष अनुदान शीर्षकबाट प्राप्त विकासे बजेटको ३ अर्ब ५७ करोड ९४ लाख ३० हजार ६ सय ३४ रुपैयाँमध्ये ४२ करोड १४ लाख ३१ हजार ४ सय ६४ रुपैयाँ फिर्ता गएको कोष तथा लेखा नियन्त्रक जगन्नाथ भट्टले जानकारी दिए।
जिल्लाको शैल्यशिखर नगरपालिकामा संघीय सरकारबाट प्राप्त ४९ करोड ८३ लाख १ हजार तथा प्रदेश सरकारबाट प्राप्त २ करोड १० लाख ७२ हजारमध्ये ८ करोड १८ लाख १७ हजार ८ सय ५३ विकासे बजेट पनि फिर्ता गएको छ।
यस्तै महाकाली नगरपालिकामा संघीय र प्रदेश सरकारबाट प्राप्त कूल विकासे बजेट ५१ करोड ८२ लाख ३२ हजार ५ सय ७४ मध्ये ५ करोड ८८ लाख ८३ हजार १ सय ४५ रुपैयाँ फिर्ता गएको छ।
ब्याँस गाउँपालिकाका लागि प्राप्त ३५ करोड ९५ लाख १८ हजारमध्ये १ करोड २६ लाख ८३ हजार पाँच सय ८१ फिर्ता गएको छ भने नौगाड गाउँपालिकालाई प्राप्त ३७ करोड ४१ लख ४३ हजार ७ सय ६० मध्ये २ करोड ७८ लाख २ हजार ८ सय ९५ रुपैयाँ खर्च हुन नसकी फिर्ता गएको छ।
यसैगरी मार्मा गाउँपालिकालाई प्राप्त ३८ करोड ९७ लाख ३२ हजार ९ सयमध्ये ३ करोड ३७ लाख ४२ हजार सात सय ७३ रुपैयाँ फिर्ता गएको कोष तथा लेखा नियन्त्रक भट्टले बताए।
जिल्लाको दुहुँ गाउँपालिकाका लागि प्राप्त ३० करोड ९७ लाख ७० हजार ५ सयमध्ये ४ करोड ६८ लाख ९५ हजार ३ सय ६५ फिर्ता गएको छ भने अपी हिमाल गाउँपालिकाका लागि प्राप्त २६ करोड ३५ लाख ७३ हजार २ सयमध्ये ३ करोड २ लाख ६ हजार ४ सय ३० रुपैयाँ फिर्ता गएको छ। लेकम गाउँपालिकाका लागि प्राप्त ३५ करोड ९४ लाख ४९ मध्ये ४ करोड ५८ लाख ९३ हजार ५ सय २७ रुपैयाँ फिर्ता गएको छ।
विकासे बजेट रकम फिर्ता जानुमा समयमै निकासा नआउनु, योजना कार्यान्वयन नहुनुलगायत कारणहरु रहेको शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र विष्टले बताए।