काठमाडौं। मुलुककाे हवाई उड्डयनको इतिहास हेर्ने हो भने निजी क्षेत्रमा एयरलाइन्सको लहर ल्याउने महत्वपूर्ण भूमिका पाइलट सञ्चालककै देखिन्छ।
नेपाली सेनाबाट अवकास पाएपछि कर्णाली एयर सञ्चालन गरेका स्वर्गीय नारायणसिंह पुन, फिस्टेल हेलिकाेप्टर अध्यक्ष विकास राणा, सिम्रिक हेलिकाेप्टर अध्यक्ष क्याप्टेन रामेश्वर थापा, क्याप्टेन सिद्धार्थ गुरुङ, एयर डाइनेस्टीका अनिल रावल, दावाजंग शेर्पा र माउन्टेन एयरका किरण पुनलगायत क्याप्टेनकै अग्रसरतामा अहिले हेलिकाेप्टर कम्पनी सञ्चालनमा छन्। यतिमात्र हाेइन, श्री एयरलाइन्सका संस्थापक स्वर्गीय बनवारीलाल मित्तल पनि पाइलट नै थिए।
यसरी हेर्दा नेपालमा निजी क्षेत्रको लगानीबाट एयरलाइन्स सञ्चालन अगुवाइमा पाइलटकै ठूलो भूमिका रहेकाे देखिन्छ। यति धेरै योगदान रहँदा रहँदै अहिले नेपाल नागरिक उड्डयन प्राधिकरणले तिनै सञ्चालक पाइलटलाई उडान प्रतिबन्ध लगाउने तयारी गरेको छ।
गत असार २५ मा सोलुखुम्बुबाट काठमाडौं आउने क्रममा मनाङ एयरको हेलिकाेप्टर दुर्घटनापछि प्राधिकरणले सञ्चालक पाइलटलाई उडानमा प्रतिबन्ध लगाउने तयारी गरेको हाे। दुर्घटनामा ज्यान गुमाएका पाइलट चेतबहादुुर गुरुङ आफैं सञ्चालकका रूपमा रहेकाले खर्च घटाउन छोटो बाटो आउँदा खराब मौसमसमेत बेवास्ता गरी दुर्घटनामा परेको शंका प्राधिकरणको छ।
सोहीअनुरूप प्राधिकरणले केही दिनअघि सबै हेलिकोप्टर कम्पनीलाई परिपत्र जारी गर्दै सञ्चालक वा पाइलटमध्ये एकमात्र काम गर्न पाउने गरी नियम ल्याउन लागेको जानकारी गराएकाे छ।
प्राधिकरणले नयाँ नियम ल्याउन लागेपछि हेलिकोप्टर कम्पनीका सञ्चालक भने त्रसितसँगै आक्रोशित छन्। पाइलट सञ्चालक हुँदैमा सुरक्षा संवेदनशीलतामा कुनै पनि सम्झौता गर्न नसक्ने बताउँदै प्राधिकरणले बनाउन लागेको नियम गलत भएको उनीहरूको जिकिर छ।
फिस्टेल हेलिकाेप्टरका अध्यक्ष क्याप्टेन विकास राणाले एयरलाइन्स सञ्चालक पाइलट हुँदैमा हवाई सुरक्षामा खतरा बढ्छ भन्ने प्राधिकरणको भ्रम गलत भएको बताउँछन्। आफैं सञ्चालक भएपछि हवाई सुरक्षा मापदण्ड पूरा गर्न झनै सजग भएर लाग्ने गरेको बताउँदै नियमनकारी निकायले घटनैपिच्छे नयाँ–नयाँ नियम लादेर व्यवसायीलाई निरुत्साहित गर्न लागेको बताए।
‘यसअघि भएका दुर्घटनामा सञ्चालक नै नभएको पाइलटको आबद्धता थियो,’ अध्यक्ष राणाले क्यापिटल नेपालसँग भने,‘ मानवीय संवेदशीलताका विषयमा नियामक निकायले जे पायो त्यही नियम ल्याउन मिल्दैन।’
जहाजलाई कसरी नियन्त्रण गर्ने, सुरक्षा अवस्था कसरी हेर्नेलगायत विषय नियममै उल्लेख छ। अन्तर्राष्ट्रिय नियमअनुसार हेलिकाेप्टर कम्पनी सञ्चालन भएको हुन्छ।
‘अब माउन्टेन फ्लाइट गरेर आउँदा हेलिकाेप्टर दुर्घटना भयो भन्दैमा माउन्टेन फ्लाइट नै नगर भनेर नियम लाद्नु गलत हो,’ अध्यक्ष राणाले भने, ‘राजमार्गमा गाडी दुर्घटना भयो भने राजमार्ग नै बन्द गरिदिने त? पाइलटलाई नियमन गर्ने नियम सुरुदेखि नै लागू भइरहेको अवस्थामा एउटा दुर्घटना हुनेबित्तिकै यो गर वा नगर भने नियामक निकायले भनिररहन आवश्यक छैन।’
राणाका अनुसार अन्तर्राष्ट्रियस्तरमा चलिरहेकाे नियम एयरलाइन्स कम्पनीले लागू गरिरहेको अवस्थामा कुनै दुर्घटना हुनेबित्तिकै नयाँ नियम लागू गरिराख्न आवश्यक नै देखिँदैन। सबै नियम पहिला नै छ। मौसम खराब भएका बेला उड्नु हुँदैन भन्ने सबैलाई थाहा हुँदाहुँदै त्यस्तो बेलामा उड्नु हुन्न भनेर नियम ल्याउनु नाजायज हो।
सञ्चालक (सेयर होल्डर) हुँदा झनै सुरक्षाप्रति चनाखो भएर काम गर्ने उनकाे भनाइ छ। 'आफ्नै कम्पनीको हेलिकाेप्टर कतै लगेर दुर्घटना गरिहालौं भन्ने नै हुँदैन,' राणाले भने, 'हामीजस्ता पाइलट व्यवसायीले यो काम सुरु नगरेको भए नेपालमा हेलिकोप्टर क्षेत्रको विकास नै यति चाँडो हुँदैन थियो।'
कैलाश हेलिकाेप्टर प्रबन्ध निर्देशक प्रतापजंग पाण्डेले जोखिम मोलेर आफ्नो घरखेत राखेर व्यवसाय गरिरहेका बेला पाइलट सञ्चालक हुँदैमा सुरक्षा चुनौतीमा कुनै असर नपर्ने बताए।
पछिल्लो समय प्राधिकरणले ल्याउने नयाँ-नयाँ नियमका कारण दुर्घटना बढेको हुन सक्नेतर्फ पनि प्राधिकरणले सोचविचार गर्न आवश्यक रहेको उनको भनाइ छ। नेपालमा एयरलाइन्सको लहर ल्याउने पाइलटलाई नै सञ्चालक भएको भन्दै उडान प्रतिबन्ध गर्न खोजिनु गलत भएको भन्दै यसलाई फिर्ता लिनुपर्ने उनले माग गरे।
अल्टिच्युड एयर प्रबन्ध निर्देशक निमानुरु शेर्पा शेर्पाले नियामक निकायले कुनै पनि नयाँ नियम ल्याउँदा प्राधिकरणले एयरलाइन्स सञ्चालकहरूसँग छलफल गर्न आवश्यक रहेको प्रतिक्रिया दिए।
उड्डयन सुरक्षालाई कसरी प्रभावकारी बनाउने र सञ्चालन (अप्रेसन) कसरी राम्रो गर्न सकिन्छ भन्ने विषयमा विज्ञका रूपमा धेरै हेलिकाेप्टर कम्पनीले पाइलटलाई सञ्चालकका रूपमा ल्याउने गरेको बताए। पाइलट सञ्चालक भएकै कारण दुर्घटना बढ्यो भन्ने बुझाइ गलत भएको उनको भनाइ छ।
‘कुनै पनि अस्पताल सञ्चालनका लागि विज्ञ डाक्टरलाई पनि सेयर होल्डरका रूपमा ल्याउने गरेका छन्,’ प्रबन्ध निर्देशक शेर्पाले भने, ‘सोहीअनुसार हेलिकोप्टर कम्पनीले विज्ञका रूपमा सेयर होल्डर बनाएर ल्याइएको हो, यसबाट दुर्घटना बढ्दैन।’
'ग्राउन्डेड' को त्रासमा पाइलट
प्राधिकरणको पछिल्लो विवरण हेर्ने हो भने ग्राउन्डेड हुने पाइलटको सूची लामै छ। पाइलटलाई एकपटक सच्चिने समय नै नदिई नियामकले एकैचोटि नियामक निकायले ग्राउन्डेड गर्ने भएकाले पनि धेरैजना त्रासमा उड्ने गरेको बताइन्छ।
मनाङ एयरका पाइलट चेतबहादुर गुरुङ पनि ग्राउन्डेड त्रासका कारण ११ बजे जुनसुकै हालतमा काठमाडौं आइपुग्नुपर्ने बाध्यताका कारण छोटो दुरीमा आएको हुन सक्ने शंका छ।
केही दिनअघि उनी २४ घन्टे उपस्थितिमा चुक्दा ग्राउन्डेडड भएका थिए। दुर्घटनाअघि मौसम खराबीका कारण लुक्लामा एक रात बसेका थिए।
मौसम खराबीका बेला वा अन्य कुनै कारण ढिला भए नियामकले सिधै ग्राउन्डेड गर्ने नियम पनि संशोधन गर्न आवश्यक रहेको पाइलट बताउँछन्।
एयरलाइन्स सञ्चालकसँग प्राधिकरणले छलफल गर्दै
नागरिक उड्डयन प्राधिकरणले हवाई सुरक्षा अवस्था र पछिल्लो समय ल्याउन लागेको नयाँ कार्यविधिमाथि निजी क्षेत्रले विरोध सुरु गरेपछि बुधबार दुई पक्षमा छलफल हुँदैछ। बिहान ११ बजे बोलाइएको छलफल सारेर दिउँसोमात्र गर्ने गरी आवश्यक तयारी गरिरहेको प्राधिकरण स्रोतले जानकारी दिएको छ।
स्रोतअनुसार पछिल्लो समय नियामक निकाय र एयरलाइन्स कम्पनीका सञ्चालकबीच बढ्दो दुरी कम गरेर सबै विषयमा छलफल गरेर अगाडि बढ्ने विषयमा केन्द्रित भएर दुई पक्षीय छलफल हुन लागेको । पाइलट सञ्चालकदेखि हेलिकाेप्टर २४ घन्टाभित्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अनिवार्य उपस्थित हुनुपर्ने नियमको विषयमा समेत छलफल हुनेछ।