भरतपुर। पवित्र धार्मिक तीर्थस्थल देवघाटमा ढुंगेधारा निर्माण गरिएको छ। भरतपुर महानगरपालिका–१ को आँपटारी चोकदेखि देवघाट जाने बाटोको बीच क्षेत्रमा ढुंगेधारा निर्माण गरिएको हो। ढुंगेधारा निर्माण गरिएको ठाउँ मान्छेको मृत्यु भएपछि शव लैजाँदा विश्राम गर्ने स्थल हो।
बागमती प्रदेश सरकारको लगानीमा ढुंगेधारा निर्माण गरिएको हो। आर्थिक वर्ष २०७९÷८० को कार्यक्रमअन्तर्गत करिब २१ लाख रुपैयाँ को लागतमा ढुंगेधारा निर्माण गरिएको खानेपानी तथा सरसफाइ डिभिजन नं १ हेटौंडाका इन्जिनियर हरिराम पौडेलले जानकारी दिए। उनका अनुसार कार्यालयले हेटौंडा र चितवन दुवै जिल्लामा खानेपानी र सरसफाइको क्षेत्रमा काम गर्छ।
ढुंगेधारामा तीन किलोमिटर टाढाबाट मुहानको पानी ल्याइएको छ। यो क्षेत्रमा खानेपानीको धारा नहुँदा यात्रु र वन्यन्तुले सहजरुपमा पानी खान पाएका थिएनन्।
‘यो बाटो प्रयोग गर्ने बटुवा, मर्निङ वाकमा जाने स्थानीय र मलामीलाई खानेपानीको अभाव थियो, इन्जिनियर पौडेलले भन्नुभयो,’ ‘ढुंगेधारा निर्माणपछि बाँदरलगायतका वन्यजन्तुले पनि पानी खान पाउनेछन्।’
आँपटारी चोकदेखि देवघाटसम्मको बाटोमा कहीँ पनि पानीको व्यवस्था नभएका कारण ढुंगेधारा निर्माण गरिएको उनले बताए। ढुंगेधारा निर्माणपछि यात्रुले मूलको पानीले प्यास मेटाउन पाउने छन् भने देवघाटको पवित्र जल लैजान पाउने छन्।
ढुंगेधारामा मूर्ति निर्माणलगायतका केही काम निर्माण गर्न बाँकी रहेको उनले बताए। ढुंगेधारामा काठमाडौंबाट ढुंगा ल्याइएको हो भने मकवानपुरका कालीगढले काम गरेका हुन्। इन्जिनियर पौडेलका अनुसार यो चितवनकै पहिलो र एकमात्र ढुंगेधारा हो।
खानेपानी तथा सरसफाइ डिभिजन नं १ हेटौंडाका कार्यालय प्रमुख सन्तोषकुमार श्रेष्ठले प्रदेश सरकारले नियमितरुपमा ढुंगेधारा निर्माणको कामलाई अघि बढाएको बताए।
उनले यो आर्थिक वर्षमा पनि मागका आधारमा विभिन्न क्षेत्रमा ढुंगेधारा निर्माण गरिने जानकारी दिए। कार्यालयले भक्तजनलाई नै लक्षित गरेर आँपटारी र देवघाटमा सार्वजनिक शौचालय निर्माण गरिसकेको बताए।