काठमाडौं। लुम्बिनी केबुललकारले साउन र भदौ महिनाका लागि टिकटदर आधा सस्तो हुने गरी ‘मर्निङ अफर’ ल्याएको छ।
साउनको पहिलो बुधबारदेखि लागू हुने गरी हरेक बुधबार बिहान ९ बजेदेखि १२ बजेसम्म मात्र टिकट काट्ने पर्यटकका लागि हाल कायम साधारण टिकटदरमा ५० प्रतिशत छुट गर्ने निर्णय भएको केबुलकारका अपरेसन म्यानेजर डिएन कायस्थ सैजूले जानकारी दिए।
हाल केबुलकारको साधारण टिकट दर ७ सय ५० रुपैयाँ छ। अब नेपाली नागरिकले हरेक बुधबार बिहान ९ बजेदेखि १२ बजेसम्म ३ सय ७५ रुपैयाँमा केबुलकार यात्रा गर्न पाउने छन् भने भारतीय नागरिकले ३ सय ७५ भारुमा र तेस्रो मुलुकका विदेशी पर्यटकले ११ अमेरिकी डलरमा यात्रा गर्न पाउने कम्पनीले जनाएको छ।
यो अफरले आम सर्वसाधारणलाई समेत निकै सस्तो शुल्कमा केबुलकार यात्रा गर्ने अवसर मिल्ने कम्पनीले जनाएको छ। उक्त समय बाहेक अन्य समयमा भने पुरानै टिकटदर कायम गरिएको छ।
लुम्बिनी प्रदेशकै पहिलो यो केबुलकार गत जेठ १५ गतेबाट व्यवसायिक सञ्चालनमा रहेको छ। केबुलकारको टप स्टेशनमा बनेको कामाख्या देवीको मन्दिर हिन्दु धर्मावलम्बीहरुका लागि विशिष्ट आकर्षण बनेको छ।
मन्दिरको दर्शन गर्न भारतको उत्तर प्रदेशका विभिन्न शहरबाट समेत उल्लेख्य मात्रामा पर्यटक आउने क्रम बढ्दो रहेको आयोजना प्रमुख गोकुल साउदले जानकारी दिए।
टप स्टेशनमा सय वर्ष पुरानो भगवती मन्दिर, महादेव शिवको वाहन नन्दी, वर पिपल चौपारी, पोखरीलगायतका धार्मिक संरचना रहेका छन्। साउन महिनामा टप स्टेशनमा जलार्पण गर्ने व्यवस्थासमेत रहेको कम्पनीले जनाएको छ।
केबुलकारले बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकाले ५० प्रतिशतका दरले बाँडफाड गर्ने गरी प्रत्येक टिकट शुल्कको २ प्रतिशत सेवा शुल्कवापत दिने सम्झौता गरेको छ।