काठमाडाैं। मौलाकाली केबुलकारले टिकटमा ५० प्रतिशत छुटसहित इभिनिङ अफर ल्याएको छ।
यही साउनदेखि लागू हुने गरी यो अफर ल्याएको कम्पनीले जनाएको छ। यस अफरअन्तर्गत प्रत्येक बुधबार दिउसो २ बजेपछि केबुलकारको टिकट काट्दा ५० प्रतिशत छुट दिइने केबुलकारका स्टेशन मेनेजर सुरज पौडेलले बताए।
हाल केबुलकारको दुईतर्फी साधारण टिकट मूल्य ५ सय ५० रुपैयाँ कायम छ। यस अफरअन्तर्गत अब यात्रुले २ सय ७५ मै दुईतर्फी यात्रा गर्न पाउनेछन।
यो अफरले आम सर्वसाधारणलाई सस्तो मूल्यमा केबुलकारमा यात्रा गर्ने अवसर मिल्नका साथै दर्शनार्थीहरुलाई दिउँसो पनि मन्दिर जान सजिलो हुने कम्पनीको भनाइ छ। यसबाट मौलाकालिका मन्दिर जाने दर्शनार्थीको संख्यामा पनि उल्लेख्य वृद्धि हुने अपेक्षा गरिएको छ।
गर्मीको समयमा दिउँसो दर्शनार्थी मन्दिर कम जाने गरेकोमा यो अफरले केही हदसम्म दिउँसो मन्दिर जाने क्रम बढाउने विश्वास लिएको केबुलकारका स्टेशन मेनेजर पौडेल बताउँछन्।
मौलाकालिका मन्दिरमा यसअघिका वर्षको तुलनामा यो सिजनमा भक्तजनको संख्यामा उल्लेख्य वृद्धि भएको छ ।
धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष शालिकराम सापकोटाका अनुसार मौलाकाली केवलकार सञ्चालनमा आएपछि मन्दिरमा पुजाआजा गर्न आउने भक्तजनको संख्या करीब २५ प्रतिशतले बढेको छ।
गर्मी, वर्षात , खेतीपातीलगायत विविध कारणले अघिल्ला वर्षमा यो बेला मन्दिरमा निकै कम मात्रामा भक्तजन आउने गरेकोमा यसपालि यो बेमौसममा पनि उल्लेख्य भक्तजनको आगमन भएको उनले बताए।
धार्मिक तथा ऐतिहासिक महत्वको मौलाकालिका मन्दिर जाने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी गत वैशाख १ गतेदेखि सञ्चालनमा आएको मौलाकाली केबलकारले बिदाका दिन बाहेक बिहान ६ बजेदेखि भक्तजनलाई सेवा दिँदै आएको छ। शनिबार र अन्य बिदाका दिनमा बिहान ५ः३० देखि केबुलकार सञ्चालन हुने गरेको छ।