काठमाडौं। काठमाडौं उपत्यकालगायत बागमती प्रदेशका सबै स्थानमा छोटा दुरीका सार्वजनिक यातायातको भाडा घट्ने भएको छ।
इन्धनको मूल्य बारम्बार घटेपछि श्रम रोजगार तथा यातायात मन्त्रालय, बागमतीले प्रदेशभित्र चल्ने छोटा दुरीका सार्वजनिक यातायातको भाडा घटाउन लागेको हो।
यो विषयमा आजको बैठकमा छलफल गरिएको मन्त्रालयका सचिव आशमान तामाङले जानकारी दिए।
‘यो विषयमा हामी आज बैठक बस्यौं। एक प्रकारको निर्णय भएको छ। अब मुख्यमन्त्री कार्यालयबाट सहमति आएपछि राजपत्रमा सूचना प्रकाशित गर्छौं,’ उनले क्यापिटल नेपालसगँ भने।
ट्याक्सीको विषयमा भने अर्को छलफलपछि मात्र निणर्य लिइने उनले बताए।
‘ट्याक्सीको भाडा समायोजन गर्न हामीले १२ वटा इकाइ हेर्ने गरेका छौं। तीमध्ये इन्धन एउटा इकाइ हो। सरोकारवाला निकाय, व्यवसायीसगँ छलफल गरेर यस विषयमा ठोस निणर्य गर्छौं,’ तामाङले भने।
नेपाल आयल निगमले असार महिनामा दुईपटक इन्धनको भाडा घटाइसकेको छ। निगमले असार १८ र ३१ गते इन्धनको मूल्य घटाएको थियो।
इन्धनको मूल्य घटेपछि यातायात व्यवस्था विभागले पनि अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा घटाएको थियो।
विभागले यात्रुवाहक सवारीसाधनमा २.१३ प्रतिशत, पहाडमा चल्ने मालवाहकमा २.७८ र तराइमा चल्ने मालवाहकको ३.०९ प्रतिशतले भाडा घटाएको थियो।
प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक सवारीसाधनको भाडा समायोजन गर्ने अधिकार प्रदेशअन्तरर्गतका मन्त्रालयलाई हुने भएकाले श्रम रोजगार तथा यातायात मन्त्रालयले भाडा समायोजन गर्न लागेको हो।