काठमाडौं। अमेरिकाकाे न्युयोर्कमा स्थापित 'नेपाल टि कलेक्टिभ' ले नेपालका चिया प्रेमीमाझ उत्कृष्ट नेपाली चिया ल्याउन सुरु गरेको छ।
सन् २०१६ देखि नेपाल टि कलेक्टिभले नेपालका अर्गानिक, साना तथा सामुदायिक खेतबाट प्राप्त अर्थोडक्स नेपाली चिया अमेरिकालगायत ४२ भन्दा बढी देशका ग्राहकलाई वितरण गर्दै आएको छ।
हालसम्म यसले १ करोड कप चिया विश्वभरि बेचिसकेको छ। अब नेपाली बजारमा आफ्नो चिया ल्याउनका लागि नेपाल टि कलेक्टिभ निकै उत्साहित भएको जानकारी दिएको छ।
चिया उत्पादकका दोस्रो तथा तेस्रो पुस्ताका प्रतिनिधि निश्चल बास्कोटा र प्रतीक रिजालको नेतृतवमा रहेको नेपाल टि कलेक्टिभ चिया उद्योगमा हावी रहेको पुराना तथा शोषक प्रवृत्तिका सप्लाइ चेन तोड्ने अवधारणासाथ स्थापना भएको जनाइएको छ।
नेपाली चिया व्यवसायीसँग विश्वव्यापी बजार पहुँच नभएकाले दैनिक २ डलरभन्दा कम आम्दानी हुने गरी बिचौलियाहरूको निकै लामो सप्लाइ चेनमा भर पर्न बाध्य बनाउँछ।
नेपाल टि कलेक्टिभले आफ्ना किसानलाई सिधै विश्वका ग्राहकसँग जोड्दै ग्राहक-उत्पादक दुरी निकै नै छोटो पारेको छ। वालस्ट्रिटमा काम गर्नुका साथै विभिन्न व्यवसाय स्थापना तथा विस्तारसम्मको अनुभव बटुलेका अनुभवी विज्ञ अमिगो खड्का नेपाली चियालाई विश्वव्यापीको घरेलु ब्रान्ड बनाउने सपनासाथ हालसालै यहाँ सहसंस्थापका रूपमा जोडिएका छन्।
विश्वव्यापी विस्तार गर्ने परिकल्पनाअनुरूप नेपाल टि कलेक्टिभले आफ्नाे सेवा नेपाल ल्याउँदै छ। हजारौं विदेशी ग्राहकले विशिष्ट नेपाली चियाको ताजगी र दुर्लभ स्वाद अनुभव गर्न पाएका भए पनि नेपालका धेरै चियाप्रेमीले नेपालले दिन सक्ने उत्कृष्ट चियाको स्वाद लिने अवसर पाएका छैनन्।
उच्च दक्ष तथा अनुभवी चिया उत्पादकसँग काम गर्दै नेपाल टि कलेक्टिभले कालो, सेतो, हरियो र उलोङ चियाका साथै जडीबुटीसहितका मिश्रणको उत्कृष्ट विविधता प्रस्तुत गर्ने छ। यसको चियाको सूचीमा कञ्चनजङ्घा नोइर (हिमालयन सनराइज) र कुमारी गोल्डजस्ता पुरस्कार विजेता कालो चियादेखि सोलुखुम्बुमा उत्पादन भएका टप अफ द वर्ल्ड टिजस्ता दुर्लभ कालो चिया र जिब्रोमा रेशमी स्पर्श साथै स्वादहरूको जटिलताका लागि व्यापक रूपमा प्रशंसित ह्वाइट प्रकाशजस्ता पुरस्कृत सेतो चियासम्मका चिया छन्।
यसको चिया पर्यटन र टि टेस्टिङ अनुभवले नेपालका चियाप्रेमीलाई नेपाली अर्थोडक्स चियाको परिष्कृत स्वादको आनन्द लिँदै नेपालका विश्वपरिचित चिया पारखी र चिया निर्माताहरूसँग परिचित हुने अवसर प्रदान गर्छ।
आफ्नो चियाको स्वादलाई जाँच्न र थप परिष्कृत गर्न वा आफ्नो गुलियो दूध चियालाई थप गहिरो र ताजा स्वादसँग साट्न उत्सुक चियाप्रेमीले नेपाल टि कलेक्टिभका चिया अब दराज वा नेपाल टि कलेक्टिभ डटकम डट एनपी वेबसाइटबाट अनलाइन मगाउन सकिन्छ।