म्याग्दी। प्राकृतिक उपचारस्थलको रूपमा परिचित म्याग्दीको सिंगा तातोपानी कुण्डमा एक वर्षको अवधिमा १ करोड ३७ लाख आम्दानी भएको छ। आर्थिक वर्ष २०७९/८० मा प्रवेश शुल्कलगायत विभिन्न शीर्षकमा सो आम्दानी भएको हो।
म्याग्दी नदीको किनारमा प्राकृतिक रूपमा निस्कने ५० डिग्री सेल्सियस तातोपानी संकलन गरिएको तलाउमा स्नान गरेर उपचार र अवलोकनका लागि तातोपानीमा आउने पाहुनाले तिर्ने प्रवेश शुल्क आम्दानीको मुख्य स्रोत हो।
कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काले भने, ‘बिरेनूनको गन्ध नआउने पानी संकलन गरिएको पोखरीमा स्नान गरेर छाला, ग्यास्ट्रिक, वाथ, चोटपटक लागेको लगायत निको हुने गरेको छ।’ गत आर्थिक वर्षमा १८ हजार २ सय ८ जनाले स्नान गरेका थिए।
बिरामीले स्नान गर्ने कुण्डमा प्रवेश शुल्कवापत ६२ लाख ९७ हजार र पाहुनाले स्नान गर्ने कुण्डबाट २५ लाख ८८ हजार रुपैयाँ आम्दानी भएको छ। चन्दावापत ४ लाख १६ हजार, मन्दिरको भेटी ५ लाख ३० हजार, आजीवन सदस्यताबाट ३ लाख ८ हजार तथा ब्याजबाट १७ हजार रुपैयाँ आम्दानी भएको छ।
प्रवेश शुल्क र चन्दा सहयोग बापत उठ्ने रकममध्ये २५ प्रतिशत बेनी नगरपालिका र १३ प्रतिशत आन्तरिक राजस्व कार्यालयमा कर बुझाउने अध्यक्ष खड्काले बताए।
तातोपानी संकलन गरिएको तलाउमा एक पटकमा ३ सय ५० देखि ४ सय जनाले स्नान गर्न सक्ने क्षमता छ। सात दिन स्नानका लागि प्रतिव्यक्ति ३ सय ५० शुल्क तोकिएको छ। बिरामी र छोटो अवधि स्नान गर्नेका लागि फरक–फरक कुण्ड छन्।
अध्यक्ष खड्काका अनुसार कुण्डको आम्दानीबाट तातोपानीको सरस्वती माविका ६ निजी शिक्षकको तलबका लागि १३ लाख ६४ हजार उपलब्ध गराइएको छ।
कुण्डका कर्मचारीको तलबमा ११ लाख ३३ हजार, संरचना निर्माण र मर्मतमा १० लाख ८९ हजारसहित कूल एक करोड ३६ लाख १९ हजार रुपैयाँ खर्च भएको छ।
आर्थिक वर्ष २०७८/७९ मा १ करोड १७ लाख २२ हजार, २०७७/७८ मा ७८ लाख १ हजार, २०७६/७७ मा १ करोड १३ लाख ४९ हजार, २०७५/७६ मा ९९ लाख ४२ हजार तथा २०७४/७५ मा ६५ करोड ६ लाख रुपैयाँ आम्दानी भएको थियो।
यस्तै आर्थिक वर्ष २०७४/७५ मा २६ लाख ५७ हजार, २०७५/७६ मा ९६ लाख १० हजार, २०७६/७७ मा १ करोड १४ लाख २३ हजार, २०७७/७८ मा १ करोड १४ लाख ५२ हजार तथा २०७८/७८ मा १ करोड ९० लाख ५६ हजार रुपैयाँ खर्च भएको छ।