काठमाडौं। नायिका तथा फिल्म निर्माता पुजा शर्माले रेस्टुरेन्ट व्यापार सुरु गरेकी छिन्। मुलुकमा बढ्दो आर्थिक मन्दीबीच बिस्तारै व्यवसायबाट व्यवसायी पलायन हुने क्रम बढिरहेका बेला नायिका शर्माले भने करिब ४ करोड रुपैयाँ लगानीमा ललितपुर झम्सिखेलमा ‘ट्याग’ नामक रेस्टुरेन्ट सञ्चालनमा ल्याएकी हुन्।
जारी आर्थिक मन्दीका चुनौती सामना गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको ट्याग सबै उमेर समूह र सबै वर्गका ग्राहकलाई उचित हुने खालको वातावरण रहेको नायिका शर्माले बताइन्।
दुई रोपनी क्षेत्रफलमा फैलिएको रेस्टुरेन्टमा एकसाथ २ सयभन्दा बढी ग्राहकले सेवा लिन पाउनेछन्। शान्त वातावरणमा रम्न र रमाउन चाहने ग्राहक लक्ष्य गरी सञ्चालित ट्यागभित्र बुटिक होटल पनि छ। रातिसम्म रेस्टुरेन्ट बसेर घर जान नभ्याउनेका लागि लक्ष्य गरेर चारवटा कोठासमेत सञ्चालनमा छन्।
रेस्टुरेन्टभित्रै पुल हाउस, ब्युटिपार्लरसहित सुविधा छ। सुरुमा २ करोड रुपैयाँ लगानी हुने अपेक्षा भए पनि आर्थिक मन्दीका कारण सामग्रीको मूल्य बढेपछि लागत बढेको उनले बताइन्।
रेस्टुरेन्ट क्षेत्रमा पाइने सबै किसिमका सुविधा एकै ठाउँमा दिने उद्देश्यसाथ ट्याग सञ्चालनमा ल्याएको उनको भनाइ छ।
कोभिडबीच लकडाउनका बेला फिल्म क्षेत्र ठप्प भए पनि अर्को व्यापार आवश्यक पर्ने रहेछ भन्ने महसुस गरेर रेस्टुरेन्ट क्षेत्रमा लगानी गरेको उनको भनाइ छ। फिल्मी क्षेत्रका कार्यक्रमसमेत विभिन्न ठाउँमा गर्नुपर्ने बाध्यता र भनेको जस्तो सुविधा नपाइरहेको अवस्थामा ट्यागले त्यो अभाव पूर्ति गर्ने अपेक्षा उनले लिएकी छिन्।
शर्माका अनुसार फिल्म र मनोरञ्जन क्षेत्रका कार्यक्रमलाई विशेष प्राथमिकता ट्यागले दिने छ। रेस्टुरेन्टभित्र बैठक हल पनि छ। ती हलमा हुने कार्यक्रममा केही सहुलियत दिइएको छ।
‘अन्य ठाउँमा कार्यक्रम गर्दा धेरै महँगो पर्ने भएकाले पनि मनोरञ्जनसम्बन्धी जस्तासुकै कार्यक्रममा पनि सहुलियत दिने गरेका छौं,’ नायिका शर्माले क्यापिटल नेपालसँग भनिन्।
रेस्टुरेन्टमा दैनिक ‘लाइभ म्युजिक’ को व्यवस्था हुनेछ। जहाँ मदिरापान गर्दै संगीतमा रमाउन चाहनेका लागि गतिलो गन्तव्य हुने उनको भनाइ छ।
यस्तै रेस्टुरेन्टभित्र थकाली खाना पनि खाना पाइन्छ। कफी, मदिरासहित थकाली खानाको व्यवस्था हुने भएकाले धेरैको रोजाइमा पर्न सक्ने उनले बताइन्।
रेस्टुरेन्ट आउने कुनै पनि ग्राहकले आफ्नो रोजाइको परिकार नपाएर फर्किने अवस्था नहोस् भन्ने किसिमले सेवा प्रवाह गर्न लागिएको उनले जानकारी दिइन्।
ट्याग नाम कसरी रह्यो?
रेस्टुरेन्ट सञ्चालन गर्ने सोच बनाएपछि नाम के राख्ने भन्ने विषयमा तीनजनाले व्यापक छलफल गरेपछि जुरेको नाम हो– ट्याग।
‘कहीँ कतै जाँदा राम्रो वा नराम्रो जे विषय देखे पनि सामाजिक सञ्जालमा पोस्ट गर्दा सम्बन्धित निकायलाई ट्याग गर्ने चलनलाई रेस्टुरेन्टको नामसँग जोडेका हौं,’ शर्माले भनिन्।
रेस्टुरेन्टमा नायिका शर्मासहित युद्ध बानियाँ र अभिषेक श्रेष्ठ सञ्चालकका छन्। शर्मा र श्रेष्ठ फिल्मी क्षेत्रमा आबद्ध छन् भने बानियाँ अन्य क्षेत्रमै लगानी गरिरहेका छन्।
रेस्टुरेन्टलाई बुटिकका रूपमा विस्तार गर्न विभिन्न कलाकृतिलाई समेत राखिएको छ। रेस्टुरेन्ट छिर्ने मूलगेटमा ‘लाफिङ बुद्ध’ को तस्बिर राखिएको छ। जसले रेस्टुरेन्टभित्र छिर्नेबित्तिकै सकारात्मक सोच र ताजगीको आभाष दिलाओस् भन्ने चाहना आफूहरूको रहेको बताइन्।