काठमाडौं। हवाई इन्धन मूल्य घटबढ भएसँगै भाडा घटाउने र बढाउने अधिकार नेपाल नागरिक उड्डयन प्राधिकरणले नै लिएको छ। यसअघि वायुसेवा सञ्चालक संघले इन्धन मूल्य थपघट भएसँगै भाडा घटाउने र बढाउने काम गर्दै आएको थियो।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले इन्धनको मूल्य घटेको वा बढेको महसुस यात्रुले तत्कालै गर्न पाउने गरी काम गरिरहेको बताए। हवाई इन्धन मूल्य घटेलगत्तै भाडा घट्दा एक दिन चाँडै भए पनि यात्रुलाई राहत मिलोस् भन्ने उद्देश्यले त्यसको अधिकार प्राधिकरणले नै लिएको सूचना अधिकारी भूलले जानकारी दिए।
यसअघि पनि प्राधिकरणले नै भाडा थपघट गर्दै आएको थियो। तर, महानिर्देशक परिवर्तन भइरहँदा भाडा समायोजन अधिकार संघलाई दिइएको थियो। संघलाई अधिकार दिँदा निर्णय गर्न दुई दिनसम्म ढिला हुने भएका कारण प्राधिकरणले अधिकार खोसेर लिएको हो।
‘हामीले संघको अधिकार खोसेका भने होइनौं,’ सूचना अधिकारी भूलले भने, ‘पहिला प्राधिकरणले नै भाडा थपघट गर्थ्याे, तर पछि संघलाई दिइएको थियो। अहिले फेरि आफैंले लिएका हौं।’
अहिले प्राधिकरणले स्वचालित प्रणालीमा भाडा समायोजन गर्न मिल्ने खालको ‘सफ्टवेयर’ सञ्चालनमा ल्याइसकेको जनाएको छ। अब इन्धन मूल्य थपघट भएसँगै भाडा समायोजन तत्कालै हुनेछ।
प्राधिकरणले पछिल्लो महिनादेखि नै आफैं भडा थपघट गरिरहेको छ। भाडा समायोजन भएको सूचना प्राधिकरणले सार्वजनिक गर्दै आएको छ। यसअघि वायुसेवा सञ्चालक संघले सार्वजनिक गर्दै आएको थियो।
प्राधिकरण महानिर्देशकमा प्रदीप अधिकारी आएपछि भाडा समायोजन अधिकार लिन प्रदीप अधिकारीले चासो राखेका थिए। भाडा समायोजन क्रममा घटेको भाडा यात्रुले छिटोभन्दा छिटो उपभोग गर्न पाउन् भन्ने उद्देश्यसाथ संघलाई दिइएको अधिकार लिन सम्बन्धित निकायलाई निर्देशन दिएका थिए।
महानिर्देशक अधिकारीको निर्देशनपछि प्राधिकरणका कर्मचारीले संघसँग छलफल गरी त्यसको अधिकार आफैंले लिएका थिए। अहिले प्राधिकरणले हवाई भाडामा अधिक नाफा नलिनसमेत नेपाल आयल निगमसँग समन्वय गर्दै आएको छ। यसअघि प्राधिकरणले हवाई इन्धन मूल्यबारे खासै चासो राख्ने गरेको थिएन।
वायुसेवा सञ्चालकले लामो समयदेखि निगमले हवाई इन्धनमा अधिक नाफा लिएको भन्दै घटाउन प्राधिकरणलाई ‘लबिङ’ गरिदिन अनुरोध गर्दै आएका थिए। तर, प्राधिकरणका कुनै अधिकारीले यसबारे चासो नराखिरहेका बेला महानिर्देशक अधिकारीले भने निगमसँग मूल्यका विषयमा चासो राखेका थिए्। उनले न्यून नाफा लिएर इन्धन बिक्री गर्दा भाडा महँगो भएको गुनासोसमेत सम्बोधन गर्न सकिने भन्दै निगमलाई अनुरोध गरेका थिए।