काठमाडौं। नेपाल बैंकले दिएको समयसिमाभित्र पनि पोखरास्थित पाँचतारे फूलबारी रिसोर्टले ऋण तिरेन। गत वर्ष कात्तिक अन्तिम साता नेपाल बैंकले फूलबारी रिसोर्टलाई ऋण तिर्ने म्याद २०८० असार मसान्तसम्म दिएको थियो।
बैंक र द फूलबारी लिमिटेड अध्यक्ष पीयुषबहादुर अमात्यबीच २०८० असारभित्र ऋणको साँवा र ब्याज भुक्तानी गर्ने सहमति भएको थियो।
बैंक ऋण तिर्न समय सकिने केही साताअघि फूलबारी अध्यक्ष अमात्यले ऋण तिर्न नेपाल बैंकमा नयाँ प्रस्ताव पेस गरेका छन्। अमात्यले २ अर्ब ७५ करोड रुपैयाँ ऋण तिर्ने र त्यसका लागि नौ महिना म्याद दिनुपर्ने सर्त राखेका छन्। अमात्यले बैंकसँग गरेको सम्झौता उल्लंघन गरेका छन्।
थपिएको समयमा पनि अमात्यले ऋण नतिरेको बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णबहादुर अधिकारीले बताए। उनले यस विषयमा केही दिनभित्रै निर्णय गर्ने बताए।
अमात्यले सर्तसहित प्रस्ताव गरेपछि छलफलका लागि सञ्चालक समितिमा पेस भएको छ। प्रस्ताव पारित नभए बैंकले सम्पत्ति लिलामी प्रक्रिया अघि बढाउने छ।
उच्च अदालत पाटनबाट अन्तरिम आदेश नपाएपछि नेपाल बैंकले सम्पत्ति बेच्ने तयारी अघि बढाएलगत्तै अमात्य ऋण तिर्न भन्दै ‘निगोसिएसन’ का लागि बैंक पुगेका थिए।
त्यसबेला उच्च अदालतका न्यायाधीशद्वय महेशप्रसाद पुडासैनी र नारायणप्रसाद पौडेलको इजालासले २०७९ साउन १७ गते अन्तरिम आदेश दिनुनपर्ने ठहर गरेपछि फूलबारी रिसोर्ट लिलामी प्रक्रिया अघि बढाउन नेपाल बैंकलाई बाटो खुलेको थियो।
नेपाल बैंकको नेतृत्वमा राष्ट्रिय वाणिज्य बैंक र कर्मचारी सञ्चय कोषले १ अर्ब ३१ करोड रुपैयाँ फूलबारी रिसोर्टमा ऋण लगानी गरेका थिए। बैंकले लिलामी प्रक्रिया अघि बढाएपछि अमात्यले लिलामी रोक्न अन्तरिम आदेश माग गर्दै साउन ५ गते उच्च अदालत पाटनमा निवेदन दिएका थिए।
फूलबारी रिसोर्टले लिएको ऋण नतिरेपछि नेपाल बैंकले त्यसका सञ्चालक अमात्य परिवार र द फूलबारी लिमिटेडका नाममा रहेको जग्गा बेच्न लिलामी प्रक्रिया अघि बढाएको थियो।
रिसोर्टले नेपाल बैंकका साथै तत्कालीन नेपाल औद्योगिक विकास निगम (राष्ट्रिय वाणिज्य बैंक) र सञ्चय कोषबाट लिएको ऋण र त्यसको साँवा र ब्याज गरी झन्डै ४ अर्ब रुपैयाँ तिर्न बाँकी छ।
फूलबारीमा नेपाल बैंकको ६५ करोड, राष्ट्रिय वाणिज्य बैंक ३५ करोड र सञ्चय कोषको ३१ करोड रुपैयाँ लगानी भएको छ। फूलबारी रिसोर्टले ऋण नतिरेपछि ऋण लगानी गर्ने बैंकहरुले अर्बौं रुपैयाँ प्रोभिजन गर्दै आएका छन्।
लिलामीको अन्तिम दिन २०७९ साउन ५ मा सम्पत्ति खरिदका लागि एलिमेच इन्टरनेसनलको मात्र प्रस्ताव परेको थियो। रिसोर्ट तथा जग्गा खरिदका लागि एलिमेच इन्टरनेसनलले २ अर्ब ७५ करोड रुपैयाँमात्र प्रस्ताव पेस गरेपछि बोलपत्र रद्द गरिएको थियो। एलिमेचले ऋणभन्दा कम मूल्य प्रस्ताव गरेपछि उसको लिलामी प्रक्रिया रोकिएको थियोे।
नेपाल बैंकले असार ३ मा फूलबारी रिसोर्ट सञ्चालक अमात्य र उनकी श्रीमती गंगाले लिखतनामा गरेको धितो लिलामीको सूचना प्रकाशित गरेको थियो।
नेपाल बैंकले पोखरा महानगरपालिका–१५ स्थित रिसोर्ट तथा त्यसले चर्चेको १ सय २४ रोपनी जग्गा, सञ्चालक अमात्यको नाममा रहेको ६ रोपनी र गंगाको नाममा रहेको ७ रोपनी ७ आना जग्गा लिलामी गरेर ऋण असुली गर्न लागेको थियो।
‘नेपाल भ्रमण वर्ष १९९८’ लक्ष्य गरी अमात्य ग्रुपको ‘ड्रिम प्रोजेक्ट’ फूलबारी रिसोर्ट सञ्चालनमा आएको थियो। माओवादी सशस्त्र द्वन्द्वकालमा सुरु भएको रिसोर्टले राम्रो व्यापार गर्न सकेन।
ऋण नतिरेपछि बैंकले २०५८ सालमै रिसोर्टलाई कालोसूचीमा राखेको थियो। सँगै सञ्चालनमा आएको काठमाडौंस्थित पाँचतारे होटल ह्यात रिजेन्सीले अहिले राम्रो व्यापार गरिरहेको छ। उसले बैंक ऋण चुक्ता गरी लगानीकर्तालाई राम्रो प्रतिफल दिँदै आएको छ।
यस्तै रिसोर्टले सरकारलाई ३ अर्ब रुपैयाँभन्दा बढी कर तिर्न बाँकी छ। तर, समय लम्बिएकाले अमात्यले तिर्नुपर्ने ऋण र कर दायित्व थपिएको छ। दुई गरी झन्डै ८ अर्ब रुपैयाँ तिर्नुपर्ने हुन्छ।
फूलबारी रिसोर्ट अहिले बन्द छ। यसका संरचना खण्डहर बन्न लागेका छन्। रिसोर्ट पहिलाको अवस्थामा ल्याउन, ‘रिनोभेट’ गर्न करोडौं रुपैयाँ थप लगानी आवश्यक पर्ने छ।