काठमाडौं। काठमाडौं महानगरपालिकाले आजदेखि प्लास्टिकको प्रयोगलाई निषेध गरेको छ।
महानगरले आज १ गतेदेखि प्लास्टिकको फूलगुच्छा उत्पादन, बिक्री वितरण र आयातका साथै ४० माइक्रोनभन्दा पातला प्लास्टिकको झोलाको प्रयोगलाई महानगर क्षेत्रमा प्रतिबन्ध लगाइएको महानगरका वातावरण विभागका प्रमुख रविनमान श्रेष्ठले जानकारी दिए।
महानगर प्रमुख बालेन्द्र साहले गत असार ६ गते चालू आर्थिक वर्ष २०८०/८१ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा ४० माइक्रोनभन्दा पातला प्लास्टिक प्रयोगमा प्रतिबन्ध गर्ने नीति लिने बताएका थिए।
त्यसका लागि कामपाले प्रचारप्रसार गर्ने र नागरिकहरूलाई ४० माइक्रोनभन्दा पातला प्लास्टिक प्रयोग नगर्न आग्रहसमेत गरिएको प्रमुख श्रेष्ठले जानकारी दिए। आगामी आवका लागि जम्मा २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँको बजेट ल्याएको महानगरले फोहरमैला व्यवस्थापन र वातावरण क्षेत्रसँग सम्बन्धित कार्यक्रमका लागि भने ८७ करोड ९३ लाख रुपैयाँ रकम विनियोजन गरेको छ।
सफाइ कार्यमा प्रयोग हुने सवारीसाधन एवं उपकरण थप गर्नका लागि २७ करोड रुपैयाँ रकम छुट्याएको छ। त्यसैगरी महानगर क्षेत्रभित्रका नदीहरूको सरसफाइ र संरक्षण कार्यक्रमलाई महानगर स्वर्णिम योजनाका रूपमा सञ्चालन गर्न ७ करोड रुपैयाँ विनियोजन गरेको छ।
महानगर क्षेत्रमा वायु प्रदूषण, ध्वनि प्रदूषणलगायत वातावरणीय क्षेत्रसँग सम्बन्धित विषयमा विभिन्न अध्ययन एवं अनुसन्धानका लागि पनि छुट्टै बजेट विनियोजन गरिएको छ। सवारीसाधनहरूको प्रदूषण मापन गरी तोकिएको मापदण्डभन्दा बढी प्रदूषण निष्कासन गर्ने सवारीसाधनलाई महानगर क्षेत्रमा सञ्चालन गर्न रोक लगाउन सम्बन्धित निकायसँग सहकार्य गर्ने तयारी पनि कामपाले गरेको छ।
महानगरभित्रका नदीनालाहरूको नियमित सरसफाइ गर्न आवश्यक उपकरणहरू खरिद गरी संस्थागत क्षमता विकास गरिनाका साथै वाग्मती तथा विष्णुमती नदीमा फोहर पानी प्रशोधन केन्द्रको स्थापना गर्ने बताइएको छ। यसै वर्षदेखि वायु, ध्वनि, दृश्यलगायत विभिन्न प्रदूषण नियन्त्रणसम्बन्धी अध्ययन अनुसन्धान गरी नीतिगत व्यवस्था गर्नका लागि आवश्यक सबै कदम चाल्ने महानगरले जनाएको छ।