काठमाडौं। नयाँ आर्थिक वर्ष सुरु भएकै दिन धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४७.०७ अंकले उकालो लागेर दुई हजार १ सय ४४.१६ मा पुगेको हो।
यस्तै ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ९.९५ अंकले उकालो लागेर ४ सय चार दशमलव १० पुगेको छ। कारोबार भएका कूल १३ उपसमूहमध्ये आज १२ उपसमूहको सेयर मूल्य वृद्धि भएको छ भने एक उपसमूहको सेयर मूल्य भने ओरालो लागेको छ।
कूल ७६ लाख ३४ हजार एक सय ९० कित्ता सेयर २ अर्ब ५६ करोड १ लाख ९१ हजार २ सय ८८ मा कारोबार भएको छ। जानकारहरूका अनुसार बैंक तथा वित्तीय संस्थाले ब्याजदर घटाउनु तथा नयाँ आर्थिक वर्षको प्रभावस्वरूप बजारमा सकारात्मक प्रभाव पर्न गएका हो।
नेप्सेका अनुसार कारोबारका आधारमा शिवम सिमेन्ट शीर्ष स्थानमा छ। सो कम्पनीको१४ करोड ८६ लाख १९ हजार ४ सय ५५ रुपैयाँबराबरको कारोबार भएको छ।
यस्तै हिमालयन लाइफ इन्स्योरेन्स १० करोड ८४ लाख ६४ हजार ८ सय ९९, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक ७ करोड ७५ लाख १३ हजार ६ सय ७२, सोल्टी होटल ७ करोड ७३ लाख ३२ हजार ७ सय ४८ र आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सको ५ करोड ११ लाख ७६ हजार १ सय ६३ रुपैयाँबराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन्।
नेप्सेका अनुसार बिपिडब्ल्यु लघुवित्त र युनाइटेड अजोड इन्स्योरेन्सको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ। अभियान लघुवित्त ९.८७, सिर्जनशील लघुवित्त ७.८० र मल्टिप्रर्पोज लघुवित्तका लगानीकर्ताले ७.३२ प्रतिशतले कमाएका छन्।
यस्तै कुमारी धनवृद्धि योजना ८.३७, सानीमा ग्रोथ फन्ड ७.५१, सानीमा लार्ज क्याप फन्ड ६.२८, बैंक अफ काठमाडौंको ऋणपत्र ५.८६ र मेगा म्युचुअल फन्डमा पहिलोका लगानीकर्ताले ४.६३ प्रतिशतले गुमाएका छन्।