काठमाडौं। जर्मन प्रिमियम कार ब्रान्ड बिएमडब्लुको सफल मोडेल ‘आइएक्स–३’ नेपालमा सार्वजनिक भएको छ। नेपालमा पेट्रोलबाट चल्ने मोडेल एक्स–३ को सफलतापछि लक्ष्मी प्रिमियम मोटर्सले इलेक्ट्रिक मोडल आइएक्स–३ नेपाल ल्याएको हो।
बिएमडब्लुको ‘स्पोर्ट्स एक्टिभिटी भेहिकल’ (एसएभी) आइएक्स–३ विश्वबजारमा सर्वाधिक बिक्री हुने मोडेल भएको कम्पनीले जनाएको छ। नेपाली बजारमा पनि यो गाडी बिक्रीले सफलता प्राप्त गर्ने कम्पनीको भनाइ छ।
आइएक्स–३ को मूल्य २ करोड ३० लाख रुपैयाँ तोकिएको र पहिलो दिन ७ वटा बुकिङ भएको कम्पनीले जनाएको छ।
कम्पनीले नेपालमा तीन वर्षदेखि बिएमडब्लुका प्रिमियम उत्पादन बिक्री गर्दै आएको छ। नेपालमा बढ्दो विद्युतीय कार बजार ध्यानमा राख्दै शून्य कार्बन उत्सर्जन गर्ने विद्युतीय गाडीको मागबमोजिम ‘अल–इलेक्ट्रिक एसएभी’ आइएक्स–३ सार्वजनिक गरिएको हो।
कम्पनीका अनुसार प्रिमियम फिचर, सुरक्षामा अब्बल र उत्कृष्ट रेन्ज आइएक्स–३ को बलियो पक्ष हो। ८० किलोवाट पावर क्षमताको लिथियम आयोन ब्याट्री, २ सय १० किलोवाट क्षमताको रियर ह्विल ड्राइभ मोटर जडित छ। यसमा ५.० ई–ड्राइभ टेक्नोलोजी प्रयोग गरिएको छ । यसको अधिकतम पावर २ सय ८५ पिएस र टर्क ४ सय न्युटन मिटर छ।
यसमा रहेको ८० किलोवाट आवरको ब्याट्रीले सिंगल चार्जमा ४ सय ६० किलोमिटर रेन्ज प्रदान गर्ने डब्लुएलटिपिको परीक्षणले प्रमाणित गरेको छ। उक्त ब्याट्रीलाई १ सय ५० किलोवाट क्षमताको डिसी चार्जरले ३४ मिनेटमा शून्यबाट ८० प्रतिशत चार्ज गर्ने क्षमता राख्छ। यात्रा अविष्मरणीय बनाउन म्युजिकका लागि १६ वटा स्पिकर प्रयोग गरिएको छ। हर्मोन कार्डनको साउन्ड सिस्टम भएका कारण यसमा संगीतको उत्कृष्ट अनुभव लिन सकिन्छ।
कम्पनीका अनुसार पानारोमिक ग्लास रुफको प्रयोग गरिएका कारण दिन र रातको समयमा खुला आकासको दृश्यावलोकन गर्न सकिने छ। त्यसले कारलाई थप लक्जरियस बनाएको छ। यसको ड्यासबोर्डमा १२.३ इन्चको पूर्णडिजिटल क्लस्टर र १२.३ इन्चकै इन्फोटेन्मेन्ट सिस्टम छ। २० इन्चको एरोडाइनामिक ह्विल, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो, स्पोर्टी सिट, लेदर ¥याप गरिएको थ्रि स्पोक स्टेरिङ ह्विल, एम्बिएन्ट लाइटका कारण क्याबिनले प्रिमियम महसुस गराउने छ।
बिएमडब्लुले प्रत्येक उत्पादनमा दिगो इको सिस्टम निर्माण, असाधारण ड्राइभिङ अनुभव प्रदान र वातावरणीय फुटप्रिन्टमा आफूलाई अब्बल बनाउँदै आएको जनाएको छ। नवीकरणीय स्रोत चयन, ऊर्जा क्षेत्रमा कुशल प्रणाली विकास र वातावरण सुधार तथा सुन्दर भविष्य निर्माण गर्ने आफ्नो प्रतिवद्धतालाई आइएक्स–३ ले पूर्ण गरेको कम्पनीको भनाइ छ।
काठमाडौं तीनकुनेमा सुविधासम्पन्न शोरुम सञ्चालन गरिरहेको लक्ष्मी प्रिमियम मोटर्सले सन् २०२० देखि बिएमडब्लुका बिएमडब्लु एक्स१, एस ड्राइभ१८आई, बिएमडब्लु एक्स३, एक्स ड्राइभ २०आई, बिएमडब्लु एक्स५, एक्स ड्राइभ४५ई, बिएमडब्लु ५ सिरिज, र बिएमडब्लु ५ सिरिज उपलब्ध छन्।