काठमाडौं। सरकारले सोमबारबाट लागू गरेको हवाई टिकटमा लागेको मूल्य अभिवृद्धि कर (भ्याट) नेपालबाट बाहिरिने यात्रुलाई मात्र लाग्ने भएको छ। आन्तरिक राजस्व विभागले जारी गरेको सूचनामा नेपाल भित्रिने यात्रुले भने हवाई टिकट खरिद गर्दा भ्याट नलाग्ने उल्लेख छ।
चालू आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत नेपालमा पहिलोपटक हवाई टिकटमा भ्याट लगाउने निर्णय गरेको थियो। विभागका अनुसार अन्तर्राष्ट्रिय हवाई सेवाका हकमा नेपालबाट प्रस्थान गर्ने यात्रुको टिकटमा उल्लेखित गन्तव्यसम्मको हवाई टिकटको मूल्यमा भ्याट (१३ प्रतिशत) संकलन गर्नुपर्ने छ।
त्यस्तो अन्तराष्ट्रिय उडानको हवाई टिकट नेपालभित्र वा नेपाल बाहिर जहाँसुकैबाट जुनसुकै माध्यम (अनलाइनसमेत) बाट जारी वा खरिद गरे पनि हवाई यातायात सेवा प्रदायक (एयरलाइन्स कम्पनी) ले हवाई टिकटमा भ्याट संकलन गर्नुपर्ने हुन्छ।
दुवैतर्फको हवाई टिकट जारी गर्दाको हकमा विदेशबाट नेपाल आउँदाको हवाई टिकट मूल्यमा भ्याट संकलन गर्नुपर्ने छैन। नेपालबाट प्रस्थान नहुने तर नेपालमा दर्ता भएका व्यक्तिले हवाई टिकट जारी गरेको हकमा भ्याट असुल गर्नुपर्ने छैन।
अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालन गर्ने व्यक्तिले विद्युतीय बिजक जारी गर्न स्वीकृति लिनुपर्ने छैन। तर, विद्युतीय बिजक जारी गर्न प्रयोग गरेको सफ्टवेयरको जानकारी सम्बन्धित कार्यालयमा दिनुपर्ने हुन्छ।
हवाई यातायात सेवा प्रदायकले भ्याटमा दर्ताका लागि दर्खास्त दिनुपर्ने छ। यस्तै विदेशी हवाई यातायात सेवा प्रदायकले सम्बन्धित निकायबाट जारी भएको सञ्चालन अनुमतिपत्रको प्रतिलिपिसमेत संलग्न गर्नुपर्ने छ।
ट्राभल एजेन्सी व्यवसाय सञ्चालन गर्ने व्यक्तिले हवाई सेवा प्रदायकबाट टिकट खरिदमा तिरेको मूल्यमा आफ्नो मुनाफा वा कमिसन जोडी हुन आउने मूल्यमा भ्याट संकलन गर्न बिजक जारी गर्नुपर्ने हुन्छ।
हवाई सेवा प्रदायकले उपभोक्ता मूल्यमा टिकट जारी गरे सोही मूल्यमा ट्राभल एजेन्सीले उपभोक्तालाई बिजक जारी गर्नुपर्ने छ। हवाई यातायात सेवा प्रदायकबाट प्राप्त गर्ने सेवा शुल्क वा कमिसन रकममा हवाई सेवा प्रदायकको नाममा ट्राभल एजेन्सीले बिजक जारी गर्नुपर्ने छ।