काठमाडौं। प्राथमिक सेयर (आइपिओ) निष्कासन गरेको माउन्टेन इनर्जी नेपाल लिमिटेडले १२ मेगावाट मिस्त्री खोला क्यासकेड आयोजना बनाउन लागेको छ।
क्यासकेड आयोजना आउँदो पुसदेखि निर्माण सुरु गर्ने कम्पनीको तयारी छ। आयोजना बनाउन २ अर्ब २८ करोड रुपैयाँ लाग्ने देखिएको छ। आयोजना बनाउन प्रतिमेगावाट १९ करोड रुपैयाँ छ। यो लागत निर्माण अवधिको ब्याजसमेत जोडेर हो। आयोजनाको विस्तृत इन्जिनियरिङको काम सकिएको छ।
माउन्टेन इनर्जीलाई मिस्ट्री क्यासकेड आयोजना बनाउन बैंकबाट ऋण लिन नपर्न सक्छ। कम्पनीसँग झन्डै ८० करोड रुपैयाँ सञ्चिती रहेको छ। यस्तै चालू आर्थिक वर्षमा गरेको नाफालाई बोनस सेयर जारी गरेर आयोजनालाई थप लगानी जुटाउन सकिने देखिन्छ। यस्तै हकप्रद सेयर निष्कासन गरेर पनि लगानी जुटाउने अवसर कम्पनीलाई छ। यसका लागि कम्पनी सञ्चालक समितिले निर्णय गर्नुपर्ने छ। गत आर्थिक वर्षमा कम्पनीले सेयरधनीलाई १० प्रतिशत नगद लाभांश दिएको थियो।
माउन्टेन इनर्जीले ४२ मेगावाट मिस्ट्रीखोला र ५ मेगावाट तादीखोला आयोजना सञ्चालन गरिरहेको छ। तादीखोला आयोजना सञ्चालनमा आएको एक दशक भइसकेको छ भने मिस्ट्रीखोलाले तीन वर्ष पूरा गरेको छ। माउन्टेनको दुई आयोजनाका जडित क्षमता ४७ मेगावाट छ। क्यासकेड बनेपछि जडित क्षमता बढेर ५९ मेगावाट पुग्नेछ।
मिस्ट्रीखोला सबैभन्दा सस्तो आयोजना
कम्पनीले निर्माण गरेको ४२ मेगावाट मिस्त्री खोला आयोजना पछिल्लो समयमा निर्माण भएका मध्ये सबैभन्दा सस्तो आयोजना बनेको छ। अहिले डलरको मूल्यवृद्धि र ढिलाइलगायत अन्य विभिन्न कारणले गर्दा जलविद्युत आयोजनाको लागत प्रतिमेगावाट २० करोड रुपैयाँमाथि नै छ। तर, मिस्त्री खोलाको लागत प्रतिमेगावाट १३ करोड ४० लाख रुपैयाँ छ।
तादी आयोजना नुवाकोट सुन्दरादेवी, थप्रेक, रालुकामा पर्छ। मिस्ट्री खोला म्याग्दीको नारच्याङ्गमा छ। रोवस्ट इनर्जी लिमिटेड र आदिशक्ति विद्युत विकास कम्पनी लिमिटेड विलय भएर २०७५ भदौ २८ गतेबाट माउन्टेन इनर्जीको नामबाट सञ्चालनमा आएको हो।
कम्पनीमा आइएमई ग्रुप अध्यक्ष चन्द्रप्रसाद ढकाल, लोमसका अध्यक्ष प्रदीपजंग पाण्डे, भाटभटेनी सुपर स्टोरका मीनबहादुर गुरुङ, डोलराज शर्मा, व्यवसायी सुह्यद घिमिरे र मनोहरदाश मुललगायत छन्।
३० करोड आम्दानी बढ्ने
मिस्ट्री आयोजनाले उत्पादन गर्ने विद्युत प्रवाहका लागि कालीगण्डकी प्रसारण लाइन तथा सबस्टेसन नबन्दा पूर्णक्षमतामा चल्न सकेको छैन। जसका कारण आयोजनाले वार्षिक ३० करोड रुपैयाँ आम्दानी गुमाइरहेको छ। आउँदो केही महिनाभित्र प्रसारण लाइन बन्ने भएकाले बिजुली पूर्ण खपत हुने छ।
आगामी वर्ष आम्दानी बढ्ने छ। कम्पनीको वार्षिक आम्दानी १ अर्ब २५ करोड रुपैयाँ छ। कम्पनीको चुक्ता पुँजी १ अर्ब ९६ करोड ८० लाख रुपैयाँ छ। कम्पनीले चालू आर्थिक वर्षको ९ महिनामा ८६ करोड रुपैयाँ आम्दानी गरेको छ भने खुदनाफा २६ करोड ३४ लाख रुपैयाँ छ।
प्रतिसेयर आम्दानी १३.३९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १ सय ५४.११ रुपैयाँ छ।
मिस्ट्री आयोजनामा नबिल बैंकको अगुवाइमा सह वित्तीयकरणमा हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल), नेपाल इन्भेस्टमेन्ट बैंक, नेपाल बैंक र लक्ष्मी बैंकबाट ४ अर्ब २४ करोड रुपैयाँ ऋण व्यवस्थापन गरिएको छ।
तादीखोलामा नबिल बैंकको अगुवाइमा सह वित्तीयकरणमा एनएमबी बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, र राष्ट्रिय वाणिज्य बैंकबाट ६६ करोड ६५ लाख रुपैयाँ ऋण व्यवस्थापन गरिएको थियो।
कम्पनीले आयोजना प्रभावित स्थानयिबासिन्दालाई प्राथमिक सेयर (आइपिओ) निष्कासन गरिरहेको छ।