काठमाडौं। नेपाल आयल निगमले अब पेट्रोलमा २.५ र डिजेलमा २ प्रतिशतमात्र नाफा लिने भएको छ। आइतबार राति १२ बजेपछि लागू हुने गरी निगमले स्वचालित मूल्यअनुसार मूल्य निर्धारण हुनेछ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा निगमका कार्यकारी निर्देशक उमेश थानीले इतिहासमा पहिलोपटक ‘बोल्ड’ निर्णय गरेको बताए।
निगमको २३३५औं बैठकले स्वचालित मूल्य प्रणाली लागू गर्न कार्यविधि पास गरेको उनले जानकारी दिए। यस्तै आइतबार राति १२ बजेपछि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ र डिजेलमा ४ रुपैयाँ ६ पैसा घटाएको छ।
यो रकम काठमाडौंका लागि लागू हुनेछ। यस्तै एलपी ग्यासमा निगमले लिँदै आएको १० रुपैयाँ नाफा पनि नलिने भएको छ।
अब पेट्रोलको भाउ लिटरको १ सय ६४ रुपैयाँ, डिजेल १ सय ४५ रुपैयाँ ४० पैसा र ग्यास सिलिन्डरको १ हजार ७ सय ९० रुपैयाँ पर्ने छ।
अब उप्रान्त इन्डियन आयल कोर्पोरेसनबाट प्रत्येक अङ्ग्रेजी महिनाको १ र १६ तारिखमा प्राप्त हुने नयाँ मूल्यसूचीका आधारमा पेट्रोलियम पदार्थको स्वचालित मूल्य कायम हुनेछ।हवाई इन्धनको हकमा साबिक बमोजिमकै व्यवस्था रहेको छ।
यो निर्णयबाट इन्डियन आयल कर्पोरेसनसँग नियमित रुपमा प्राप्त हुने नयाँ खरिद मूल्यका आधारमा सोही दिन निगमले पनि मूल्य समायोजन गर्ने व्यवस्था कार्यान्वयन हुनेछ।
यो निर्णयबाट इन्डियन आयल कर्पोरेसनसँग नियमित रुपमा प्राप्त हुने नयाँ खरिद मूल्यका आधारमा सोही दिन निगमले पनि मूल्य समायोजन गर्ने व्यवस्था कार्यान्वयन हुनेछ।
मन्त्रालयका सचिव एवं निगम सञ्चालक समितिका अध्यक्ष मधुकुमार मरासिनीले आम उपभोक्ताको हितलाई ध्यान दिएर पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली लागू गरिएको बताए।
निगमको आज बसेको सञ्चालक समितिको बैठकको निर्णय सार्वजनिक गर्न आज उद्योग मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सचिव मरासिनीले निगमको यो निर्णयबाट जनता र व्यवसायीलाई सहुलियत मिल्ने विश्वास व्यक्त गरे।
इन्डियन आयल कर्पोरेसनलाई नेपाल आयल निगमले ३१ अर्ब रुपैयाँ बक्यौता रकम भुक्तानी गरेसँगै पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली लागू गरिएको हो।
निगमले अघिल्लो वर्ष सरकारसँग लिएको ७ अर्ब ऋणमध्ये अब ३ अर्ब ५० करोड रुपैयाँ तिर्न बाँकी रहेको जनाइएको छ। आयल निगमलाई अझै पनि सम्पूर्ण हिसाबले २९ अर्ब ऋण दायित्व रहेको छ।