काठमाडौं। भारतीय राजदूतावासले आज मुलुकका विभिन्न जिल्लाका स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थालाई ३४ वटा एम्बुलेन्स र ५० वटा स्कुल बस उपहारस्वरुप प्रदान गरेको छ।
नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईको उपस्थितिमा उक्त एम्बुलेन्स तथा स्कुल बस हस्तान्तरण गरेका हुन्।
उक्त समारोहमा विभिन्न जिल्लाका नगरपालिकाका मेयर, गाउँपालिका प्रमुख, लाभग्राही संस्थाका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, पदाधिकारी, समाजसेवी आदिको उपस्थिति थियो।
नेपालको स्वास्थ्य तथा शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै भारत सरकारले सन् १९९४ यता भारतको स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न क्षेत्रका लाभग्राही संस्थालाई एम्बुलेन्स तथा स्कुल बस उपहारस्वरूप प्रदान गर्दै आएको छ।
समारोहमा बोल्दै राजदूत श्रीवस्तवले उक्त एम्बुलेन्स तथा स्कुल बस हस्तान्तरण स्वास्थ्य तथा शिक्षा क्षेत्रमा पूर्वाधार विकास गर्न नेपाल सरकारले गरेका प्रयासलाई थप बलियो बनाउन नेपाल–भारत विकास साझेदारी कार्यक्रमअन्तर्गत भारत सरकारको लामो समयदेखिको परम्परा रहेको बताए।
सोही अवसरमा बोल्दै मन्त्री राईले भारत सरकारको सहयोगमा नेपालमा जारी विकास परियोजनाको सराहना गरे। उनले ती परियोजनाले दुई देशबीच जनता–जनताबीचको सम्पर्क र द्विपक्षीय सम्बन्धलाई निरन्तर सुदृढ बनाउदै लैजाने बताए। मन्त्री राईले नेपालको हिमालदेखि तराईसम्मका विद्यालय तथा स्वास्थ्य संस्थालाई सहयोग गरेकोमा भारत सरकारको प्रशंसा गरे।
सन् १९९४ यता भारतले आजसहित हालसम्म नेपाललाई ९ सय ७४ वटा एम्बुलेन्स र २ सय ३४ वटा स्कुल बस उपहारस्वरुप उपलब्ध गराइसकेको छ।