काठमाडौं। हिमालय एयरलाइन्सले दोस्रोपटक आफ्नो जहाज विदेशी एयरलाइन्सलाई भाडामा दिएको छ। हिमालयले ‘वेट लिज’ मा जहाज पठाएको हो।
वेट लिज भनेको जहाज भाडामा दिँदा पाइलट, कोपाइलट, एयरहोस्टेस, इन्जिनियरलगायत कर्मचारी पनि सँगै दिने प्रक्रिया हो।
आगामी सेप्टेम्बरसम्मका लागि भाडामा दिइएको जहाज जुलाई १० मा ओमान पठाएको हिमालय एयरलाइन्स जनाएको छ। हिमालयले ‘एयरबस–३१९’ सिरिजको दर्ता नम्बर ‘९एन–एजेके’ जहाज भाडामा पठाएको हो।
१ सय ४४ सिट क्षमतायुक्त उक्त जहाज तीन महिनाका लागि भाडामा पठाएको हुनाले अहिलेका लागि एयरलाइन्सको लोगो भने परिवर्तन गरिएको छैन। जहाज सञ्चालनका लागि पनि हिमालयले नै कर्मचारी व्यवस्थापन गरिदिएको छ। हिमालयका एक अधिकारीका अनुसार जहाजमा तीन महिनासम्म पाइलट, कोपाइलट, एयरहोस्टेस, इन्जिनियरसहित ३५ कर्मचारी पनि पठाएको छ।
नेपालमा बर्खायाम सुरु भएपछि यात्रु नपाउने भएकाले तत्कालीन अवस्थामा जहाज त्यतिकै राख्नुभन्दा भाडामा पठाएको हिमालयले जनाएको छ। नेपालबाट भाडामा पठाउने एयरलाइन्स हिमालयमात्र हो। त्यसैले नेपालमा यो चलन नयाँ भए पनि विदेशमा भने भाडामा निश्चित समयका लागि लिएर चलाउने चलन पुरानै हो।
ओमानबाट सञ्चालित सलाम एयरलाई २०७६ सालमा पनि भाडामा पठाउने तयारी गरेको थियो। तर, अन्तिम समयमा कुरा नमिलेपछि भियतनामको बेम्बो एयरजेवजाई एक वर्षका लागि भाडामा पठाएको थियो। त्यो बेला भने हिमालयले आफ्नो जहाजको लोगोसमेत परिवर्तन गरेको थियो।
हिमालयसँग हाल चारथान जहाज छन्। तीमध्ये तीन एयरबस ३२०–२१४ (१ सय ८० सिट) र एक एयरबस ३१९–११५ (१ सय ४४ सिट) छन्। हिमालयले हाल युनाइटेड अरब इमिरेट्स (युएई), मलेसिया, कतार, साउदी अरब, कुवेत, बंगलादेश र चीनमा यात्रुवाहक उडान गरिरहेको छ ।