काठमाडौं। मर्ज भएका वाणिज्य बैंकको ‘रिकभरी’ सन्तोषजनक नभएको पाइएको छ।
दुई संस्था गाभिएर एक बनेका वाणिज्य बैंकको रिकभरीको दाँजोमा मर्ज नभएका बैंकको रिकभरी सन्तोषजनक देखिएको हो।
एक बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) का अनुसार चैतको तुलनामा असार अन्त्यसम्म रिकभरी झन् बिग्रिएको अवस्था छ। आफूहरूले अर्को बैंक मर्ज गर्दा एकाउन्टबारे राम्रोसँग ज्ञान पनि भएन। अहिले रिकभरीमा समस्या भयो।
चैत मसान्तमा पनि रिकभरी सन्तोषजनक नहुँदा बैंकको निष्क्रिय कर्जा (एनपिए) बढ्यो। असारमा पनि सोचेअनुरूप रिकभरी नहुँदा एनपिए वृद्धिको सम्भावना छ। यद्यपि, कतिपय मर्ज भएका बैंक आशातित रिकभरी गर्न सफल भएका छन्।
तर, मर्ज नभएका बैंकको रिकभरी भने सोचेभन्दा धेरै राम्रो भएको पाइएको छ। चैतमा जसरी एनपिए बढेको थियो, असारमा पनि त्यहीहाराहारीमै पुग्ने अनुमान थियो। तर, असारमा भएको रिकभरीले एनपिए घट्ने सम्भावना बढेको हो।
‘असार ३० सम्मको स्थिति विश्लेषण गर्दा बैंकले सोचेभन्दा धेरै सफलता हासिल गरेको छ,’ एक वाणिज्य बैंकका सिइओले क्यापिटल नेपालसँग भने, ‘अझै १५ दिन बाँकी छ। ३० गतेसम्मकै रिकभरीले एनपिए घट्ने देखिइसक्यो। १५ दिनमा उठ्ने रकमले अझै सहयोग गर्छ।’
तर, मर्ज भएका संस्थाहरूको ‘पर्फर्मेन्स’ सन्तोषजनक नभएको बैंकरहरूले बताएका छन्। ऋणीका खाताबारे जान्ने र बुझ्ने अवसर पनि कम भयो। मर्ज हुनुअघिको व्यवस्थापनले ऋणीसँग अनुचित लाभ लिएर ऋण प्रवाह गर्दा त्यसको बोझ मर्ज भएर एकीकृत कारोबार गर्ने बैंकमाथि परेको हो।
पछिल्लो तीन महिनामा सबै बैंकले आफ्नो सम्पूर्ण शक्ति रिकभरीमा लगाएका थिए। कर्जा प्रवाह रोकी रिकभरीमा लाग्न केन्द्रीय बैंकले बैंकहरूलाई निर्देशन दिएको थियो।
एनपिए अस्वनभाविक वृद्धि हुँदै गएपछि केन्द्रीय बैंक गभर्नर महाप्रसाद अधिकारीले बैंकहरू कर्जा विस्तारमा भन्दा पनि रिकभरीमा लाग्नुपर्ने बताएका थिए।
चालू पुँजी कर्जा मार्गदर्शनका कारण बैंकहरू नयाँ कर्जा लगानी गर्न सक्षम थिएनन्। त्यही भएर बैंकको सम्पूर्ण शक्ति रिकभरीमै लागेको थियो। तीन महिना खटिएको परिणाम असार मसान्तमा सकारात्मक परेको अर्को एक वाणिज्य बैकका सिइओले बताए।
मर्ज भएका बैंकहरू कुमारी, नबिल, ग्लोबल, प्रभु, लक्ष्मी सनराइज, नेपाल इन्भेस्टमेन्ट मेगा, हिमालयनलगायतको रिकभरी निराशाजनक छ भने सिद्धार्थ, माछापुच्छ्रे, सिटिजन्स बैंक इन्टरनेसनल, एनआइसी एसिया, एनएमबी, सानिमालगायत बैंकको रिकभरी सन्तोषजनक छ।
माछापुच्छ्रे बैंकका सिइओ तथा नेपाल बैंकर्स संघका उपाध्यक्ष सन्तोष कोइरालाका अनुसार चैत मसान्तको दाँजोमा असारमा रिकभरी उत्साहजनक नै छ।
‘अन्य वित्तीय संस्थाको अवस्थाबारे आफू पूर्णजानकार नभए पनि माछापुच्छ्रेको रिकभरी सन्तोषजनक नै छ,’ उनले भने, ‘आफ्नो बैंकको रिकभरी देखेर अन्य बैंकको पनि त्यहीहाराहारी भएको भए असारमा एनपिए घट्न सक्छ।’
चैत मसान्तमा बैंकको एनपिए ३.०३ प्रतिशत थियो। तर, चैतमा सबैभन्दा धेरै एनपिए हिमालयन बैंकको ४.५६ प्रतिशत थियो। सबैभन्दा कम एनआइसी एसिया बैंकको थियो।