काठमाडौं। बैंकबीच निक्षेपको ब्याज घटाउने र बढाउने प्रतिस्पर्धा चलेको छ। बैकर्स संघले ब्याजदरमा भएको भद्र सहमति तोडेपछि बैंकहरुले आफूखुसी निक्षेपको ब्याजदर तय गर्दा केही बैंकका निक्षेपकर्तालाई फाइदा भएको छ।
यस अघिसम्म बैंकर्स संघको निर्णयलाई आधार मानेर बैंकहरुले ब्याजदर समान बनाएका थिए। तर, आफूखुुसी ब्याजदर तोक्दा निक्षेपकर्ता लाभान्वित हुन पुगेका छन्।
बैंकमा लगानीयोग्य रकम पर्याप्त भइरहेका बेला पनि नबिल, प्राइम कमर्सियल, एनएमबि, कुमारी बैंकलगायतले निक्षेपको ब्याज बढाएका छन। यसअघि सबै बैंकको मुद्धति निक्षेपको ब्याजदर समान (९.९९) प्रतिशत थियो। तर, बैकर्स संघले भद्र सहमति खारेज गरेपछि सबै बैंकको फरक फरक ब्याजदर छ।
केन्द्रीय बैंकको नियमअनुसार १० प्रतिशतसम्मले घटाउन वा बढाउन सकिन्छ। यही व्यवस्थालाई टेकेर नबिल, प्राइम कमर्सियल, एनएमबि, कुमारी बैंकलगायतले मुद्दतिको अधिकतम ब्याज १०.९३ प्रतिशत पुगेको हो। सबैभन्दा बढी ब्याज एनएमबि बैंकको १०.९३ पुगेको छ।
यद्यपि, केही बैंकले निक्षेपको ब्याजदर घटाएको अवस्था पनि छ। केही बैंक अन्य बैंकले के गर्छन् भनेर पर्ख र हेरको अवस्था छन्।
बैंकरका अनुसार केन्द्रीय बैंकको १० प्रतिशतको क्याप पनि खारेज गर्नुपर्छ। ब्याजदर विशुद्ध बजारलाई छाडिदिनुपर्छ। केन्द्रीय बैंकले कति ब्याज तोक्न पाउने वा नपाउने भन्ने गर्न नहुने उनीहरुको भनाइ छ।
बैंकले नै ब्याजदर निर्धारण गर्न पाउनुपर्छ। यदि केन्द्रीय बैंकले ब्याजदर निर्धारण गर्न थालिदिने हो भने बैंकको व्यवस्थापन टिम नै आवश्यक पर्दैन। बैंकर्स संघले पनि भद्र सहमति छाडिसकेको छ। अब केन्द्रीय बैंकले पनि छाड्नुपर्छ। त्यसो हुँदा ऋणी र निक्षेपकर्तालाई फाइदा हुन्छ।