काठमाडौं। नेपाल विद्युत प्राधिकरणले सहायक कम्पनीमार्फत बनाउन लागेको ६१.८ मेगावाटको माथिल्लो मोदी ‘ए’ जलविद्युत आयोजनाको पुनः विश्वव्यापी बोलपत्र (ग्लोबल टेन्डर) गरेको छ।
आयोजना बनाउन मोदी जलविद्युत कम्पनी लिमिटेडले गत वर्ष भदौ २३ गते पहिलोपटक ग्लोबल टेन्डर आ गरेको थियो। गत वर्षको टेण्डर रद्ध गरेर कम्पनीले आयोजना बनाउन दोस्रो पटक ग्लोबल टेण्डर आब्हान गरेको हो।
आयोजना इन्जिनियरिङ प्रक्युमेन्ट कन्ट्रयाक्ट (इपिसी) खाकामा बनाउने गरी कम्पनीले ग्लोबल टेन्डर आब्हान गरेको छ। पहिलो लटमा सिभिल निर्माण र हाइड्रोमेकानिकल वक्र्सका लागि बोलपत्र आह्वान गरेको हो।
बोलपत्रमा भाग लिने निर्माण व्यवसायीले वित्तीय र प्राविधिक प्रस्ताव पेस गर्नुपर्ने छ। १० वर्षको अवधिमा पछिल्लो ३ वर्ष १ करोड ६० लाख डलरबराबर र इपिसी ठेक्का न्यूनतम १ करोड ७० लाख डलरको काम गरेको हुनुपर्ने छ।
छनौट हुने निर्माण व्यवसायीले आयोजनाको सिभिल संरचना र हाइड्रोमेकानिकल काम गर्नुपर्ने हुन्छ। बोलपत्रमा भाग लिने विदेशी कम्पनीले नेपाली निर्माण व्यवसायीसँग साझेदारी (जेभी) गर्नुपर्ने छ।
आउँदो सेप्टेम्बर १४ सम्म बोलपत्र पेस गर्ने अन्तिम मिति तोकिएको छ। ठेक्का सम्झौता भएपछि औपचारिकरूपमा आयोजना निर्माण सुरु हुनेछ। आयोजना स्थानीय लगानीमा बन्ने भएको छ।
आयोजना कोरियाको निर्यात–आयात (एक्जिम) बैंकको ऋण लगानीमा बन्ने तयारी भए पनि प्रक्रियागत कारणले ढिलाइ हुने भएपछि नेपाली लगानीमा बन्न लागेको हो।
आयोजनामा एनएमबी बैंकको अगुवाइमा हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) ऋण लगानी गर्न सहमत भएको विकासकर्ता मोदी जलविद्युत कम्पनीले जनाएको छ।
एनएमबी र एचआइडिसिएलले आयोजनामा ८ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी गर्ने छन्। आयोजना बनाउन १२ अर्ब ५० करोड रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ।
जसमध्ये ७० प्रतिशत अर्थात ८ अर्ब ५० करोड ऋण र बाँकी ३० प्रतिशत अर्थात ४ अर्ब रुपैयाँ स्वपुँजी (इक्विटी) बाट लगानी जुटाइने छ। जसमा विद्युत प्राधिकरण र सर्वसाधारणलाई प्राथमिक सेयर (आइपिओ) निष्कासन गरेर इक्विटी जुटाइने कम्पनीले जनाएको छ।
४२ मेगावाटको माथिल्लो र १९.८ मेगावाटको तल्लो रहेको छ। ४२ मेगावाटको माथिल्लो आयोजनाबाट बिजुली उत्पादन गरेर बाहिरिने पानीलाई पुनः सुरुङमा लगेर १९.८ मेगावाट बिजुली उत्पादन गर्ने कम्पनीको योजना रहेको छ।
आयोजनाको प्रारम्भिक सबै काम पूरा भएकाले निर्माणको चरणमा जान लागेको छ। मोदीको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) समेत तयार भइसकेको छ।
कम्पनीको चुक्ता पुँजी ६ अर्ब रुपैयाँ रहेको छ। जसमा विद्युत प्राधिकरणको ६८ प्रतिशत र बाँकी ३२ प्रतिशत सर्वसाधारणलाई सेयर निष्कासन गर्ने योजना कम्पनीको छ। आयोजनाबाट वार्षिक ३१ करोड ५० लाख युनिट विद्युत ऊर्जा उत्पादन हुने अध्ययनले देखाएको छ।
आयोजना सञ्चालमा आएको ८ वर्षमा ऋण चुक्ता गर्ने बताएको छ। माथिल्लो आयोजनाको सुरुङको लम्बाइ ६ र तल्लोको ४ किलोमिटर हुनेछ। दुवै विद्युतगृह संरचना सतहमा हुने प्रस्ताव गरिएको छ।
आयोजनाबाट उत्पादन हुने बिजुली २१ किलोमिटर लामो प्रसारण लाइन हुँदै विद्युत प्राधिकरणले प्रस्ताव गरेको १३२ केभी न्यू मोदी सब–स्टेसनमा जोडिनेछ।
माथिल्लो आयोजनाको हेड २ सय ८६ र तल्लोको १ सय ३५ मिटर छ। आयोजना कास्कीको अन्नपूर्ण गाउँपालिकामा पर्छ।
यसअघि कोरिया वाटर रिसोर्स कर्पोरेसन (के–वाटर) ले बनाउने प्रस्ताव गरेको थियो। के वाटरलाई पत्राचार गरी ५१ प्रतिशत सेयर लिने प्रस्ताव गरेको थियो। के वाटर पछि हटेपछि प्राधिकरणले सहायक कम्पनीमार्फत अघि बढाएको हो। आन्तरिक खपतका लागि आयोजना निर्माण हुन लागेको हो।