एजेन्सी। ‘इन्टरनेट टाइकुन’ ज्याक माले चिनियाँ सरकारबारे टिप्पणी गरेपछि बेइजिङले उनीमाथि लगातार प्रहार गर्यो।
ज्याक माको विवादाष्पद भनाइ आएपछि बेइजिङले उनको कम्पनी टेसेन्सको प्राथमिक सेयर निष्कासन रोक्नुका साथै विभिन्न कारण देखाएर अर्बौं डलर जरिवाना तिरायो। त्यसको केही समयपछि बेइजिङको दमन खप्न नसकेपछि रहस्यमयरूपमा उनी बेपत्ता भए। त्यसपछि उनको व्यावसायिक यात्रा ओरालो लाग्यो।
ज्याक मा तीन वर्षअघि मात्रै एसियाकै सबैभन्दा धनी व्यक्ति थिए। त्यसबेला उनको कूल सम्पत्ति ६१.७ अर्ब डलर थियो।आजको दिनसम्म उनले ३० अर्ब डलरभन्दा बढी गुमाइसकेका छन्। गत सातामात्र उनको सम्पत्ति लगभग ४ अर्ब डलर घटेको छ।
५८ वर्षीय ज्याक कलेज प्रवेश परीक्षामा दुईपटक असफल भएका थिए। सन् १९९९ मा आफ्नो अपार्टमेन्टबाट ई–कमर्स कम्पनी अलिबाबा स्थापना गर्नुअघि धेरै कामका लागि अस्वीकृत भएका थिए। अलिबाबा र यसको अनलाइन भुक्तानी सेवा एन्ट ग्रुप जोडिएको छ।
यी दुई कम्पनी हालका वर्ष चिनियाँ अधिकारीहरूको अनुसन्धानको केन्द्रमा छन्। जुन ज्याकले चीनका वित्तीय नियामकहरूलाई धेरै जोखिम प्रतिरोधी भएकोमा खुलमखुला आलोचना गरेका थिए।
बेइजिङको तीव्र दबाबले एन्ट ग्रुपको ३४ अर्ब ५० करोड डलरको आइपिओ अन्तिम मिनेटमा रद्द गर्नुपरेको थियो। अलिबाबालाई सरकारले २ अर्ब ८० करोड डलर एन्टिट्रस्ट जरिवाना लगायो।
गत साता चीनका वित्तीय नियामकहरूले एन्टमा आफ्नो अनुसन्धान समेटिरहेका थिए। फिनटेक फर्मलाई उपभोक्ता संरक्षण र संस्थागत सुशासनसम्बन्धी नियम उल्लंघन गरेको अभियोगमा १ अर्ब डलर जरिवाना तिरायो। समाचार एजेन्सी रोयटर्सका अनुसार चीनमा इन्टरनेट कम्पनीलाई लगाइएको सबैभन्दा ठूलो जरिवानामध्ये एक हो।
ब्लुमबर्गका अनुसार एन्टमा माको ९.९ प्रतिशत सेयर अब एक वर्ष पहिलेको तुलनामा ४ अर्ब डलर कम हुने अनुमान छ। फर्मको मूल्यांकन यसको आइपिओअघि ३ खर्ब १५ अर्ब डलरबाट ७८ अर्ब ५० करोड डलरमा झरेको छ।
यदि कम्पनीको वृहत आइपिओ निष्कासन अगाडि बढेको भए माको कूल सम्पत्ति अर्बौं डलरले बढेको हुने थियो। जसले उनलाई विश्वका धनी व्यक्तिहरूको श्रेणीमा उक्लिन अवसर दिन्थ्यो।
अलिबाबा आफैंले २०१४ मा विश्वको सबैभन्दा ठूलो आइपिओ निष्कासन गरेको थियो। जसले न्युर्योर्कमा आफ्नो प्रारम्भिक सूचीकरणमा ४ खर्ब २५ अर्ब डलर जुटाएर रेकर्ड तोड्यो।
विवादमा फसेपछि ज्याकले आफ्नो अलिबाबा स्थापनापूर्वको शिक्षण पेसामा फर्किए। अर्बपति ज्याकले दुई अस्थायी शिक्षण पद लिएका छन्।
टोकियो विश्वविद्यालय र हङकङ विश्वविद्यालयमा तीन वर्षको मानार्थ प्राध्यापकको पद प्राप्त गरेका छन्। उनले गत महिना जापानको राजधानी टोकियोमा नवप्रवर्तन र उद्यमशीलताको विषयमा पहिलो कक्षा लिएका थिए।
विश्वविद्यालयमा ज्याकको उपस्थितिले चासो जगायो। चीन सरकारसँगको टकरावले उनी सार्वजनिक क्षेत्रबाट हराएको थिए। उनी बाहिर जाँदा अफवाह फैलियो कि उनलाई घरमा नजरबन्दमा राखिएको थियो? कतिपयले उनी अझै जीवित छन कि छैनन् भनेर प्रश्न पनि गरेका थिए।
२०२१ सुरुमा चिनियाँ राज्य मिडियाले जारी गरेको भिडियोमा पुनः उनी देखापरेदेखि ज्याकको सार्वजनिक उपस्थिति छिटपुट भएको छ। ज्याक पछिल्लो समय थाइल्यान्ड, नेपाल र पाकिस्तानलगायत गएका छन्।
गत महिना पेरिसमा भएको भिभा टेक सम्मेलनमा बोल्दै अलिबाबाका अध्यक्ष माइकल इभान्सले ज्याक जीवित रहेको भन्दै आश्वस्त पारेका थिए।
नियामक प्रतिबन्धले गुम्यो टेक कम्पनीको ११ खर्ब डलर
बेइजिङको नियामक प्रतिबन्धले चिनियाँ बिग टेकबाट ११ खर्ब डलर गुमेको छ। अलिबाबा समूह, टेन्सेन्ट, चिनियाँ खाद्य वितरण अनलाइन कम्पनी मेइटुआन र खोज इन्जिन सेवा प्रदायक बैदुको बजार पुँजीकरणबाट लगभग ११ अर्ब डलर नष्ट भएको हो।
चीनका प्रमुख प्राविधिक कम्पनीले डचको सम्पूर्ण अर्थतन्त्रबराबर मूल्यमा १ ट्रिलियन डलरभन्दा बढी गुमाएका छन्। दुई वर्षभन्दा अघिदेखि यस क्षेत्रमा सरकारको नियामक प्रतिबन्ध सुरु भएदेखि पिपुल्स बैंक अफ चाइनाले दिशामा परिवर्तन हुन सक्ने संकेत गरेपछि लगानीकर्ता अब आशा गरिरहेका छन्।
यसबाट २०२० को उत्तराद्र्धदेखिको वृद्धिलाई रोक्ने कडा नियम सहज हुन थाल्नेछन्। केन्द्रीय बैंकले प्लेटफर्म कम्पनीहरूको वित्तीय व्यवसायका लागि मुख्य समस्या सुधार गरिएको जनाएको छ। नियामकहरूले विशेष कम्पनीको सट्टा सम्पूर्णरूपमा उद्योगमा ध्यान केन्द्रित गर्नेछन्।
यता राज्य योजनाकारले बुधबार विश्वको सबैभन्दा ठूलो भिडियो गेम कम्पनी टेन्सेन्ट होल्डिङ्स र ई–कमर्स टाइटन अलिबाबा समूहलाई चीनको प्राविधिक आविष्कारमा योगदान पुर्याएको भन्दै प्रशंसा गरेपछि प्रविधि क्षेत्र फेरि एकपटक उठ्ने सम्भावना बढेको छ।
विश्लेषकहरूले २०२० नोभेम्बरमा अलिबाबा समूहको ३७ अर्ब डलरको प्रारम्भिक सार्वजनिक प्रस्तावको आश्रयलाई मुख्य भूमि चीनका प्राविधिक फर्महरूमा व्यापक नियामक कडिकडाउ सुरुवातका रूपमा औंल्याए। जुन आकार र प्रभावमा द्रुत गतिमा बढेको थियो।