काठमाडौं। आन्तरिक उडानमा रहेका एयरलाइन्सले साउन १ देखि काटिने हवाई टिकटमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने निश्चित गरेका छन्। केही समय अघिसम्म सरकारलाई तत्कालीन अवस्थामा टिकटमा लगाइने भ्याट फिर्ता लिन आग्रह गरिरहेका थिए।
वायुसेवा सञ्चालक संघका महासचिव मनोज कार्कीले साउन १ देखि भ्याट लगाउने निर्णय गरिएको जानकारी दिए। सोहीअनुसार अहिले एयरलाइन्सले आवश्यक तयारी गरिरहेका छन्।
यता नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्दै आएको नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले भने टिकटमा भ्याट लगाउने विषयमा निश्चित नभएको जनाएका छन्।
हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले कुनै पनि मुलुकमा लागू भएको करसम्बन्धीे व्यवस्था इन्टरनेसनल एयर ट्रान्सपोर्ट एसोसिएसन (आएटा) सँग समन्वय गरी टिकट भुक्तानी प्रणालीभित्र भ्याट समायोजन गर्नुपर्ने भएकाले त्यसका लागि आवश्यक समय चाहिने बताए।
त्यसका लागि सरकारले गरेको निर्णय कार्यान्वयन हुन न्यूनतम ५ देखि ६ महिनासम्म लाग्छ। त्यसैले तत्कालीन अवस्थामा हवाई टिकटमा भ्याट लाग्छ वा लाग्दैन भन्ने अन्योल कायमै रहेको उनको भनाइ छ।
आएटामा आबद्धबाहेक ट्राभल एजेन्सीका एयरलाइन्स टिकटका लागि छुट्टै अनलाइन सिस्टम छ। त्यसमा पनि भ्याट समायोजनका लागि निश्चित समय लाग्ने भएकाले तत्कालीन अवस्थामा साउन १ देखि भ्याट सिस्टम लागू हुने सम्भावना न्यून रहेको उनले बताए।
नेपाल एयरलाइन्सका कमर्सियल डाइरेक्टर टंकमणि दाहालले साउन १ देखि नै भ्याट लगाउने विषयमा अन्योल कायम रहेको बताए।
सरकारको निर्णय नेपाल एयरलाइन्सले कार्यान्वयन गर्न तयार रहे पनि भ्याट लागूमा स्पष्ट कार्यविधि नआउँदा रोकिएको उनको भनाइ छ। आएटालाई पनि स्पष्ट कार्यविधि नआएकै कारण जानकारी नगराइएको उनले बताए।
नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले हवाई टिकटमा भ्याट लगाउने विषयमा अर्थ मन्त्रालयबाट आधिकारीक पत्राचार नआएको बताए।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को नियमबमोजिम कुनै पनि देशमा हवाई टिकटमा नयाँ कर लागू गर्ने भए त्यो लागू हुनुभन्दा ६० दिन पहिला सम्बन्धित देशको नियामक निकायले त्यो देशमा रहेको आएटाको आधिकारिक एयरलाइन्समार्फत आएटालाई जानकारी गराउनुपर्ने हुन्छ।
नेपालमा आएटाको आधिकारिक एयरलाइन्स नेपाल एयरलाइन्स हो। नेपालमा कुनै कर लागू भएको छ र त्यसलाई हवाई टिकटमा समावेश गर्नुपर्ने अवस्था भए प्राधिकरणले नेपाल एयरलाइन्सलाई पत्राचार गर्छ र नेपाल एयरलाइन्सले आएटामा त्यो पत्र पठाउनुपर्छ।
त्यसपछि आएटाले आफ्नो सिस्टममा समावेश गरिसकेपछि टिकटमा लागू हुन्छ। त्यसैले हवाई टिकटमा लागू गर्ने भनेको ट्याक्स र भ्याटबारे आधिकारिक रूपमा प्राधिकरणमा जानकारी नआएको उनले बताए।
प्राधिकरणमा त्यसको जानकारी आएपछि नेपाल एयरलाइन्सलाई लेखी पठाउने र नेपाल एयरलाइन्सले आएटालाई जानकारी गराएर लागू हुन्छ। अहिलेकै अवस्थामा साउन १ देखि नै अन्तर्राष्ट्रिय उडानका टिकटमा भ्याट लाग्ने स्थिति नदेखिएको सूचना अधिकारी भुलले जानकारी दिए।
एयरलाइन्स कम्पनीहरूको विश्वव्यापी प्रतिनिधिमूलक संस्था आएटाले केही समयअघि नै विज्ञप्ति जारी गर्दै हवाई टिकटमा भ्याट लगाउने नेपाल सरकारको निर्णयबाट नेपालकै अर्थतन्त्रलाई नोक्सान हुने भन्दै ध्यानाकर्षण गराएको थियो।
कोरोना महामारीबाट तंग्रिँदै गरेको पर्यटनलाई यसले प्रत्यक्ष असर गर्ने आएटाको तर्क थियो। भ्याट लगाउँदा अन्तर्राष्ट्रिय यात्रामा नेपाल आउने वा यहाँबाट जाने यात्रुलाई थप भार पर्ने र यसले यात्रा महँगो बनाउने आएटाको भनाइ छ।
नेपालबाट काट्ने टिकटमा मात्र कर लाग्ने तर बाहिरबाट काटिने टिकटमा भ्याट लगाउन असम्भव देखिन्छ। यो कारण नेपालका ट्राभल एजेन्सीहरू प्रभावित हुने र उनीहरूको व्यापार प्रभावित हुने आएटाले जनाएको छ।
यता आन्तरिक राजस्व विभागका सूचना अधिकारी राजुप्रसाद प्याकुरेलले भने बजेट आएको ३० दिनपछि भ्याटको निर्णय लागू भइसकेको जानकारी दिए।
अर्थ मन्त्रालयले कुनै पनि कार्यालयलाई भ्याट लागेको आधिकारिक जानकारी नदिने र बजेटमा आएको विषय नै आधिकारिक भएकाले आफुहरूको बुझाइमा भ्याट लागू भइसकेको उनी बताउँछन्। र, राजस्व विभागले त्यहीअनुसार काम गरिरहेको उनले बताए।
नेपाल उडान गर्ने अन्तर्राष्ट्रिय एयरलाइन्सका हकमा के हुन्छ?
बजेटमार्फत हवाई टिकटमा भ्याट लगाउने निर्णय गरे पनि विदेशबाट नेपाल उडान गर्ने एयरलाइन्सका हकमा के हुन्छ भन्ने विषय खुलेको छैन। जसका कारण विदेशबाट नेपाल आउने एयरलाइन्सले भ्याट लागू गर्छ वा गर्दैन भन्ने अन्याेल छ।
यता अन्तर्राष्ट्रिय उडान गर्ने एयरलाइन्सले पनि यहाँ उडान गर्दा नेपालमा लागू हुने नियम कार्यान्वयन गर्नुपर्ने सम्बद्ध पक्षकाे भनाइ छ।
तर, अधिकांशको बुझाइमा भने नेपालबाट उडान गर्ने र नेपालभित्र उडान गर्ने एयरलाइन्सले मात्र टिकटमा भ्याट लागू हुने रहेको छ। यसो हुँदा नेपालका एयरलाइन्सहरू झनै समस्यामा पर्दै जाने देखिन्छ।
महँगो गन्तव्यमा भ्याटको भारी
उसै त नेपाल आउने पर्यटकले हवाई भाडा महँगो भएको गुनासो गरिरहेको बेला १३ प्रतिशत भ्याट लगाउने निर्णयले झनै समस्या पर्ने देखिएको छ।
सरकारले एयरलाइन्सहरूलाई सहजीकरण गरेर धेरैभन्दा धेरै पर्यटक ल्याउन प्रोत्साहन गर्नुपर्नेमा भ्याट लगाएर महँगो गन्तव्य बनाएको होटल एसोसिएसन नेपाल (हान) अध्यक्ष विनायक शाह बताउँछन्।
हवाई टिकटसँगै पाँचतारे र चारेतारे होटलमा बस्नेहबाट लिने भनेको लक्जरी कर फिर्ता गर्नुपर्ने माग हानकाे छ।