एजेन्सी। चीनको बिवाइडी अटो कम्पनीले स्थानीय साझेदारसँगको सहकार्यमा भारतमा १ अर्ब डलर लगानी गर्ने भएको छ। बिवाइडीले विद्युतीय सवारीसाधन र ब्याट्री उत्पादन गर्न उक्त रकम लगानी गर्ने भएको हो।
कम्पनीले भारतमा लगानी प्रस्ताव पेस गरेको समाचार संस्था रोयटर्सले जनाएको छ। बिवाइडी र निजी स्वामित्वमा रहेका हैदरावादस्थित मेघा इन्जिनियरिङ एन्ड इन्फ्रास्ट्रक्चरले साझेदारीमा भारतीय नियामकहरूलाई इभी संयुक्त उद्यम गठन गर्न प्रस्ताव पेस गरेको छ।
कम्पनीले भारतमा ह्यासब्याकदेखि लक्जरी मोडलसम्मका विद्युतीय गाडी उत्पादन गर्ने योजना बनाएको हो। कम्पनीले विश्वको तेस्रो ठूलो अटोमोबाइल बजार भएको भारतमा आफ्नो बजार विस्तार गर्न चाहे पनि भारतको वाणिज्य तथा ठूला उद्योग मन्त्रालयबाट भने कुनै प्रतिकृया आएको छैन।
बिवाइडीको यो कदमलाई टेस्लासँग प्रत्यक्ष प्रतिस्पर्धा गर्ने रणनीतिक कदमका रूपमा हेरिएको छ। कम्पनीको यो प्रस्ताव स्वीकृत भएमा बिवाइडी संयूक्त राज्य अमेरिका बाहेक विश्वभरिका प्रमुख अटोमेटिभ बजारमा महत्वपूर्ण हिस्सामा पहुँच पुर्याउने छ।
यो विस्तारले बिवाइडीको विश्व इभी बजारमा निकै बलियो उपस्थिति हुनेछ।
बिवाइडीले हाल भारतमा अटो३ इलेक्ट्रिक एसयुभी र इ६ इभीको कर्पोरेट सेल्सका लागि ३ सय मिलियन डलर लगानी गरिसकेको छ।
यसबाहेक, कम्पनीले यस वर्ष अन्त्यसम्ममा आफ्नो लक्जरी इलेक्ट्रिक सेडान ‘सिल’ ल्याउने योजना बनाएको छ।
ब्लेड ब्याट्री र विद्युतीय सवारीसाधनका लागि प्रख्यात बिवाइडीले केही वर्षमा वार्षिक १ लाख विद्युतीय सवारीसाधन उत्पादन गर्ने लक्ष राखेको छ।
सुरुवाती चरणमा कम्पनीले आफ्नो उत्पादनको ‘सप्लाई चेन’ मिलाउन भारतमा एसेम्बल गर्ने बताइएको छ।
भारत सरकारलाई बिवाइडी र मेघा इन्जिनियरिङले पेस गरेको प्रस्तावमा भारतभरि चर्जिङ स्टेशन स्थापना, रिसर्च र डेभलपमेन्ट गर्ने तथा प्रशिक्षण केन्द्र स्थापना गरिने रोयटर्सले जनाएको छ।