काठमाडौं । दुई पाङ्ग्रे सवारीमा यात्रु बोक्ने सेवा दिइरहेको ‘पठाओ’ का निर्देशक ससांक थापाले सेवा बन्द गर्न कतैबाट औपचारीक जानकारी नआएको बताएका छन् । बिभागले केहि दिन अघि नीजि गाडीले यात्रु बोक्न नपाउने बिषयमा सुचना जारी गरेपनि टुटल, पठाओ जस्ता सेवालाई तोकेर नभनेको उनको तर्क छ । उनले भने ‘हामीले सम्पूर्ण मापदण्ड पुरा गरेर मात्र टुटल पठाओ सञ्चालन गरेका छौ ।
सरकारले हामीलाई नै लक्षित गरेको भए पनि सरकारले बनाएको कानुनमा बसेर काम गर्ने तयार छौं ।’ यातायात व्यवस्था विभागले भने हालसम्म नेपालमा दुई पाङ्ग्रे सवारीसाधनलाई कालो प्लेट दिने कानुन नबनाएको जनाएको छ । तर, विभागले टुटल र पठाओलाई मात्र केन्द्रित गरेर सुचना जारी नगरेको यातायात व्यवस्था विभागका प्रवक्ता तिर्थराज खनालले बताए ।
‘यातायात व्यवस्था ऐन, २०४९ मा उल्लेखित कानुन बमोजिम विभागले सुचना निकालेको हो,’ उनले भने ‘हामीले कुन टुटल कुन पठाओ चिन्दैनौ, विभागको कार्य क्षेत्रभित्र यस्तो गर्ने सवारी साधानको नियमन गर्ने अधिकार भएकाले यसको कार्यान्वयन होस् भनेर सुचना जारी गरेका छौं ।’ नियम बिपरित नीजी सवारीले भाडा लिएर यात्रु ओसारपसार गरेको जनगुनासो आएकोले कानुन उल्लंघन नगर्न र नगराउन विभागले सुचना जारी गरेको उनको भनाई छ ।
यातायात व्यवसायमा दर्ता गर्नुपर्छ, कर तिर्नुपर्छ, बीमा समेत गर्नु पर्ने हुन्छ । अब टुटल पठाओमा पनि यो लागु गर्नुपर्ने लगायतका बिषमया । छलफल भइरहेको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । उनले भने ‘कुरा टुटल–पठाओको मात्र होइन, ऐनले बन्चित गरेको कुरालाई नगर्न भनेका हौं ।’ अब नयाँ सवारी तथा यातायात ऐन बनिरहेकाले निजी सवारीको सेवाबारे पनि आवश्यक भए ऐनको मस्यौदामा उल्लेख गर्ने सकिने उनले बताए ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले गत बर्ष माघमा पनि नियमविपरीत निजी सवारीले शुल्क लिएर यात्रु बोकेको भन्दै टुटल र पठाओलाई कारबाही गरेको थियो । गलत प्रयोजनमा सवारी चलाएकोलगायतको आरोपमा ट्राफिकले शनिबार मात्रै १२ सय भन्दा बढीलाई कारबाही गरेको जनाएको छ । सरकारको यो कदमको चर्को आलोचना भएपछि प्रधानमन्त्री केपी ओलीले सार्वजनिक रुपमै टुटल र पठाओलाई कारबाही नगर्न निर्देशन दिएका थिए ।