काठमाडौं। सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइमा भएको ढिलासुस्ती हटाउन सरकारले चालेको रणनीति असफल भएको छ। यातायात व्यवस्था विभागले लाइसेन्स प्रिन्टर खरिदका लागि आह्वान गरेको बोलपत्र तेस्रोपटक पनि असफल बनेको हो।
प्रिन्टर खरिदका लागि विभागले दुईपटक बोलपत्र आह्वान गर्दा दुईपटक नै एउटा पनि आवेदन परेन। दुईपटक आह्वान गरिएको बोलपत्रमा कुनै पनि आवेदन नपरेपछि विभागले २०७९ चैत ८ गते अन्तर्राष्ट्रियस्तरको बोलपत्र आह्वान गरेको थियो।
यसमा चार कम्पनीको आवेदन परे पनि सबै आवेदन अस्वीकृत भएको विभागका प्रवक्ता इश्वरीदत्त पनेरुले जानकारी दिए। ‘चारवटै कम्पनी प्रविधिक प्रस्तावमा अस्किृत भए,’ उनले क्यापिटल नेपालसँग भने, ‘हामीले दिएको स्पेसिफिकेसनअनुसार कुनै कम्पनीको प्रस्ताव मिलेन।’
साउन पहिलो साता फेरि बोलपत्र आह्वान गर्ने तयारी भएको उनले सुनाए। ‘हामीले आफै गएर प्रिन्टर किनेर ल्याउन सक्दैनौं। सार्वजनिक खरिद नियमावलीअनुसार प्रक्रिया पुर्याएर जानुपर्ने हुन्छ। त्यसबेला हाम्रो मागअनुसार आवेदन पर्छ भन्ने अपेक्षा छ,’ उनले भने।
आवेदन स्वीकृत नभएपछि सेवाग्राहीलाई छिटो लाइसेन्स उपलब्ध गराउने रणनीति फेल खाएको हो। विभागले गत चैतमा पाँच महिनाभित्र प्रिन्टर ल्याउने र त्यसको तीन महिनामा छपाएर दिने गरी आठ महिनापछि लाइसेन्स परीक्षा पास गरेका सेवाग्राहीलाई १५ दिनभित्र लाइसेन्स उपलब्ध गराउने कार्ययोजना पेस गरेको थियो।
बोलपत्र आह्वान गरेर चार कम्पनीले आवेदन दिए पनि कुनै आवेदन छनौटमा नपरेपछि सरकारको कार्यायोजनाअनुसार काम नहुने भएको हो। सरकारको लक्ष्य फेरि केही महिना धकेलिएको पनेरुले बताए।
यातायात व्यवस्था विभागका अनुसार अहिले ९ लाख लाइसेन्स ब्याकलक (छपाई हुन बाँकी) छ। दैनिक ६ देखि ७ हजार लाइसेन्सको माग भए पनि विभागले दैनिक ४ हजारदेखि ४५ सय लाइसेन्समात्र छपाई गर्न सकेको पनेरु बताउँछन्। हालको अवस्थामा विभागले दैनिक करिब २ हजार लाइसेन्सको भार थेगिरहेको छ।
दुईवटा प्रिन्टरले लाइसेन्स छापेरे मंसिर महिनासम्म ९ लाख लाइसेन्स ब्याकलक हटाउने सरकारको योजना थियो। ब्याकलक हटेपछि सेवाग्राहीले १५ दिनभित्रै लाइसेन्स हात पार्ने घोषणासमेत विभागले गरेको थियो। कुनै पनि आवेदन स्वीकृत नभएपछि सरकारको यो योजना असफल भएको छ।
विभागसँग प्रिन्टर अभाव भए पनि कार्ड भने प्रशस्तै रहेको पनेरुले जानकारी दिए। ‘अहिलेका लागि चाहिने कार्ड हामीसगँ प्रशस्तै छ। अबको १/२ महिनामा १२ लाख कार्ड आउँदैछ,’ उनले भने, ‘कार्ड समस्या छैन।’