काठमाडौं। निर्माण पूरा भएका आयोजनाको भुक्तानी नपाएको भन्दै निर्माण व्यवसायी आन्दोलित भएका छन्। ५० अर्बभन्दा बढी लागतका आयोजना निर्माण पूरा भएर पनि रकम नपाएको भन्दै व्यवसायीले शुक्रबार माइतिघर मण्डलामा धर्ना दिएका हुन्।
नेपाल निर्माण व्यावसायी महासंघको नेतृत्वमा भएको धर्ना कार्यक्रम निरन्तर रहने महासंघका अध्यक्ष रवि सिंहले बताए। आजै महासंघको बैठक बसेर आन्दोलका कार्यक्रमलाई कसरी अघि बढाउने भन्ने विषयमा छलफल गर्ने उनको भनाइ छ।
‘मुख्य माग भुक्तानी रकम पाउनुपर्यो भन्ने हो, सँगै मूल्यवृद्धि समायोजन, म्याद थप, माइलस्टोन व्यवस्था खारेज गर्नुपर्ने हाम्रो माग छ,’ अध्यक्ष सिंहले भने, ‘भोलिबाट कसरी आन्दोलनलाई अघि बढाउने भन्ने विषयमा भने साँझसम्म बैठक बसेर तय हुन्छ।’ आज विकासे मन्त्रालयसहित अर्थ मन्त्रालयलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको व्यवसायीले जनाएका छन्।
५ गते राष्ट्रिय भेला
महासंघले निर्माण व्यवसायीको राष्ट्रिय भेला साउन १५ गते गर्ने तयारी गरेको थियो। तर, सरकारले भुक्तानी रकम नदिएपछि आन्दोलन सुरु भएको छ। सोही कारण राष्ट्रिय भेला पनि साउन ५ गते नै गरेर व्यवसायीका थप समस्या र कुरा सुनेर अघि बढ्ने योजनामा महासंघ छ।
‘भुक्तानी दिन्छौं भन्दै आश्वासन दिएको सरकारले आर्थिक वर्षको अन्तिमसम्म नदिएपछि आन्दोलन गर्न बाध्य भएका छौं, त्यसैले राष्ट्रिय भेला छिट्टै गरेर आन्दोलनलाई थप प्रभावकारी बनाउन लागिएको हो’ अध्यक्ष सिंहले भने।
सरकारले व्यवसायीलाई ५० अर्ब रुपैयाँ भुक्तानी दिन बाँकी रहेको महासंघले जनाएको छ। जसमध्ये विभिन्न विकासे मन्त्रालयले १५ अर्ब रुपैयाँ अर्थ मन्त्रालयलाई भुक्तानी दायित्व सिर्जनाका लागि पठाएका छन्।
बाँकी रकम भुक्तानीमा अन्य मन्त्रालयमै समस्या रहेको महासंघले जनाएको छ। प्रदेश र स्थानीय तहमा हस्तान्तरण भएका आयोजना एवं आयोजना प्रमुखले म्याद थप अधिकार पाएका जस्ता कारणले रकम भुक्तानीमा समस्या आएको अध्यक्ष सिंहको भनाइ छ।
यसैबीच सरकारले आर्थिक वर्ष २०७९/८० मा २ खर्ब रुपैयाँ भुक्तानी गरेको छ। देश संघीयतामा गएदेखि (२०७४) बाट रोकिएको भुक्तानी पाएको अध्यक्ष सिंहले बताए। २ खर्ब रुपैयाँ एकैवर्ष भुक्तानी गरे पनि सरकारले अझै ५० अर्ब बढी दिन बाँकी रहेको महासंघले जनाएको छ।