काठमाडौं। नेपाल पर्यटन बोर्डले आगामी आर्थिक वर्षको बजेटका लागि सरोकारवाला निकायसँग छलफल अगाडि बढाएको छ।
बोर्डले २०८०/८१ का लागि ल्याउन लागेको बजेटसम्बन्धमा निजी क्षेत्रसँग छलफल गरेको हो। विगत वर्षका बजेट समीक्षासहित नयाँ बजेटबारे निजी क्षेत्रको सुझाव माग गरिएको थियो।
छलफलमा पर्यटन क्षेत्रसँग सम्बन्धित संस्थाका प्रमुख तथा प्रतिनिधिले बोर्डको बजेट डिजिटाइजेसनलाई जोड दिँदै कार्यान्वयन हुने खालको बजेट ल्याउन सुझाव दिएका छन्।
उनीहरूले अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धन कार्यक्रम गर्दा परम्परागतभन्दा पनि नयाँ ढंगले गर्न बोर्डलाई सुझाव दिएका छन्। यस्तै निजी क्षेत्रले बोर्डले आयोजना गर्ने आन्तरिक तथा अन्तर्राष्ट्रिय कार्यक्रममा निजी क्षेत्रको सहभागितालाई बढिभन्दा बढी सहभागिता गराउन पनि सुझाव दिएको छ।
बोर्डले निजी क्षेत्रको सुझाव समेटेर बजेट तर्जुमा गर्ने र बजेट निजी क्षेत्रमैत्री हुने बोर्ड उपाध्यक्ष चन्द्र रिजालले जानकारी दिए।
बोर्डले आर्थिक वर्ष २०८०÷८१ का लागि करिब सवा अर्ब रूपैयाँभित्रको बजेट ल्याउने तयारी गरेको छ।
छलफलमा होटल संघ नेपाल (हान), प्यासिफिक एशिया ट्राभल एसोसिएसन (पाटा)–नेपाल च्याप्टर, ट्रेकिङ ऐजेन्सिज एसोसिएसन अफ नेपाल (टान), नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्सिज (नाट्टा), नेपाल र्याफ्टिङ एजेन्सिज (नारा), नेपाल पर्वतारोहण संघ (एनएमए) एनटिभिए, एनटिबिए, सोट्टोलयायतका संस्थाका प्रमुखले बोर्डको आगामी बजेटका सम्बन्धमा आफ्ना सुझाव दिएका थिए।