बुटवल। लुम्बिनी प्रदेशको पहिलो लुम्बिनी केबुलकारमा एक महिनामा ३० हजार पर्यटकले यात्रा गरेका छन्। आएएमई ग्रुपको मुख्य र स्थानीयकोसमेत लगानी रहेको लुम्बिनी केबुलकार जेठ १५ गतेदेखि व्यवसायिक सञ्चालनमा आएको हो। जेठ २५ गते प्रधानमन्त्री पुष्पकमल दाहालले औपचारिक उद्घाटन गरेका थिए।
एक महिनाको अवधिमा २८ हजार ६ सय ७९ जनाले केबुलकार चढेका र यस वाहेक विशिष्ट व्यक्तिहरु, कलाकार, सेलिब्रिटीहरुसमेत गर्दा करिब ३० हजार जना पुगेका लुम्बिनी केबुलकार प्रालिले जनाएको छ। जसमध्ये ८७.९४ प्रतिशत नेपाली, ७.२५ प्रतिशत भारतीय र तेस्रो मुलुकका ११ जना छन्।
केबुलकारले बुटवलको वडा नंं ३ र तिनाउ गाउंपालिका–३ का वडावासी स्थानीय र विद्यार्थीलाई टिकटमा २५ प्रतिशत,सशस्त्र प्रहरीलाई २० प्रतिशत छुट दिएको छ। यस्तै जेष्ठ नागरिक,अपांगता भएकालाई पनि टिकटमा छुट दिएको छ।
टप स्टेशनमा कामाख्या देवी मन्दिर, सय वर्ष पुरानो भगवतिको मन्दिर, भगवान शिवको वाहन नन्दी सहितका धार्मिक स्थल र घुमिफिरका लागि पर्याप्त ठाँउं र संरचनाहरु रहेकाले सञ्चालनमा आएको एक महिनामै उल्लेख्य संख्यामा पर्यटकहरु आएका कम्पनीले जनाएको छ।
२.६ किलोमिटर दुरीको केबुलकारको टपस्टेशन समुन्द्री सतहबाट करिब तीन हजार फिट उचाईमा रहेकाले त्यहाँको हावापानी गर्मी मौसममा शीतल र जाडोमा न्यानो हुने भएकाले आन्तरिक र भारतीय पर्यटकको लागि आकर्षक गन्तव्य बनेको छ।
टप स्टेशनमा १ अर्ब ५० करोड रुपैयाँ लागतमा १ सय ५० कोठा, क्यासिनो, एक हजार जना क्षमताको बैंक्वेट हल र स्वीमिङ पुल सहितको पाँचतारे होटेल बन्ने प्रकृयामा रहेको लुम्बिनी केबुलकारका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए।
लुम्बिनी केबुलकार सञ्चालनले बुटवल र पाल्पामा नयाँ पर्यटकीय गन्तव्य थपिएको र यसले पर्यटकको बसाई लम्ब्याउन योगदान पुग्ने अध्यक्ष ढकालले बताए।
लुम्बिनी केबुलकारको सञ्चालनले बुटवलबाट प्रदेशको राजधानी दाङ सरेको क्षतिपुर्ति दिन सक्ने भएकाले यस्ता ठूला परियोजना सफल बनाउन सबैको सहयोग हुनुपर्ने बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजू बताउँछन्।
केबुलकारको प्रत्येक टिकट शुल्कको २ प्रतिशत रकम बुटवल उपमहानगरपालिका र तिनाउ गाउंपालिकाले एक–एक प्रतिशत पाउने गरी सम्झौता भएको केबुलकारका अपरेसन म्यानेजर डिएन कायस्थ सैंजूले जानकारी दिए।
नेपालमा सञ्चालनमा रहेका ६ वटा मध्ये दोस्रो लामो लुम्बिनी केबुलकारको टिकट दर नेपालीका लागि ७ सय ५० रुपैया र भारतीयका लागि ७ सय ५० भारु छ।
केबुलकारले प्रत्येक टिकट मुल्यको एक–एक प्रतिशत रकम दुईवटा स्थानीय तहलाई दिने भएकाले यसबाट बुटवल उपमहानगरपालिका र तिनाउ गाउंपालिकाको दीर्घकालीनरुपमा विकासमा ठूलो योगदान पुग्ने तिनाउं गाउंपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले बताए।