काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणले बुधबार आन्तरिकरूपमा सर्कुलर जारी गर्दै हेलिकोप्टर कम्पनीमा लगानी भएका पाइलटलाई उडान रोक्ने पूर्व जानकारी दियो। खासगरी मंगलबार भएको मनाङ एयरको हेलिकोप्टर दुर्घटनालाई सञ्चालक पाइलटसँग जोडेर प्राधिकरणले नयाँ नियम ल्याउन लागेको हो।
हेलिकोप्टर दुर्घटनामा परी ज्यान गुमाएका पाइलट चेत गुरुङ आफै मनाङ एयरको सञ्चालकसमेत रहेकाले समय र इन्धन बचतका लागि छोटो दुरीको यात्रा तय र मौसमलाई चुनौती दिँदै उडान गर्दा दुर्घटना भएको प्राधिकरणको निश्कर्ष छ। त्यसैले अबको केही साताभित्र सञ्चालक पाइलटलाई एउटामात्र काम गर्न पाउने गरी नयाँ नियम ल्याउने तयारीमा प्राधिकरण छ।
यी हुन होलिकोप्टर कम्पनीका सञ्चालक पाइलट
अहिले सञ्चालनमा रहेका १२ वटा हेलिकोप्टर कम्पनीमा ९ जना सञ्चालक पाइलट थिए। तीमध्ये गुरुङको निधन भएको छ भने बाँकी ८ जना पाइलट सञ्चालकका रूपमा कार्यरत रहँदै आएका छन्।
प्राधिकरण स्रोतले दिएको जानकारीअनुसार पछिल्लो समय अधिकांश हेलिकोप्टर कम्पनीमा पाइलटलाई सेयर दिएका छन्। एउटै कम्पनीमा लामो समयसम्म टिकाउन पनि पाइलटलाई निश्चित सेयर सञ्चालकले दिँदै आएका छन्।
सिम्रिक एयरको हेलिकोप्टरमा सिद्धार्थ गुरुङ/सुरेन्द्र पौडेल, अल्टिच्यूड एयरमा विवेक थापा/एण्डी थापा, कैलाश हेलिकोप्टरमा आशिष शेरचन, एयर डाइनेष्टिमा अविरल रावल, मनाङ एयरमा प्रकाश सेडाई र फिस्टेल हेलिकोप्टरमा किरन पुन पाइलट छन्।
हेलिकोप्टर सञ्चालकबीच विवाद
प्राधिकरणले नयाँ नियम ल्याउने तयारी गरेपछि हेलिकोप्टर कम्पनीका सञ्चालकभित्र तीव्र विरोध सुरु हुन थालेको छ। कम्पनी सञ्चालक पाइलट भएका र नभएकालाई यो नियम ल्याउन हुने र नहुने पक्ष/विपक्षमा बहस गर्न लागेका छन्। केही सञ्चालक पाइलटले भने कम्पनीको सेयर झिकेर उडानमात्र गर्ने मनस्थिती बनाएका छन्। यद्यपि, उनीहरूले प्राधिकरणलाई नै विरोध भने जनाउन सकेका छैनन्।
पाइलट टिकाउन कम्पनीको सेयर
उसै त जहाजको दाँजोमा हेलिकोप्टर उडान गर्ने पाइलट न्यून छन्। जसका कारण पाइलटले सेवा सुविधा बार्गेनिङ गर्दै छोटोछोटो समयमै कम्पनी परिवर्तन गरिरहने समस्याबाट मुक्त हुन हेलिकोप्टर सञ्चालकले पाइलटलाई सेयर होल्डरको रूपमा लिँदै आएका छन्।
त्यसो हुँदा निर्धक्कसँग पाइलटहरू एउटै कम्पनीमा रहने आशले पनि सञ्चालकले सेयर दिँदै आएका छन्। पाइलटले पनि सेवा सुविधासँगै आफूलाई पनि सेयर हिस्सा चाहिने दाबी गर्ने गरेका छन्। सञ्चालकले भने पाइलटलाई सेयर होल्डर बनाएपछि न्यूनतम सेवा सुविधामै पुग्ने बताउँदै आएका छन्।
योसँगै पाइलटलाई सञ्चालकका रूपमा भित्र्याउँदा मार्केटिङका लागिसमेत सहज हुने भएकाले सहजै सेयर दिँदै आएका हुन्।
अहिले १२ वटा हेलिकोप्टर कम्पनीसँग करिब २५ पाइलट छन्। तर, हेलिकोप्टरको संख्या भने ३१ थान छ। पाइलटको यो संख्या हेलिकोप्टरको तुलनामा न्यून हो।
सामान्यता दुईवटा हेलिकोप्टरका लागि चारजना, तीनवटालाई पाँचजना र चारवटाका लागि ६ देखि सात पाइलट राख्नुपर्ने हुन्छ। तर, पर्याप्त पाइलट नहुँदा कम्पनीहरूले वर्षेनी विदेशी पाइलटलाई ल्याउनुपर्ने बाध्यता बेहोर्दै आएका छन्। अहिलेको अवस्थामा ५० देखि ६० जना पाइलट हेलिकोप्टर कम्पनीलाई आवश्यकता पर्छ।
एउटै पाइलटले दैनिक ७ घन्टा र साताको ६ दिनमात्र उडान गर्न पाउँछन्। त्यसअनुसार बिहान ६ देखि १ बजेसम्म र २ बजेदेखि अर्को पाइलटले हेलिकोप्टर उडान गर्नुपर्छ। त्यसका लागि पनि एउटा हेलिकोप्टरका लागि दुई पाइलटको आवश्यकता पर्छ। तर, कतिपय कम्पनीले एकमात्र पाइलट राखेर उडान गर्दै आएका छन, जुन हवाई सुरक्षाविपरीत हो।