काठमाडौं। थाइल्यान्ड लैजाने भनेर झुक्याई जबरजस्ती म्यानमार पुर्याई बन्धक बनाएर अनलाइन स्क्यामिङ गराएको अभियोगमा चिनियाँ नागरिक पक्राउन परेका छन्।
चीनको ज्ञानसु प्रान्त घर भई काठमाडौं महानगरपालिका–१५ विजेश्वरीमा अस्थायी रूपमा बस्ने ४२ वर्षीय जोहन्सन नाम बताउने लियाङ जुलाई बुधबार प्रहरीले पक्राउ गरेको छ।
दक्षिण पूर्वी एसियाका लाओस, थाइल्यान्ड, म्यान्मारलगायतका देशमा रोजगारीको प्रलोभन देखाई अवैध अनलाइन स्क्यामिङमा लगाई शोषण गर्ने गरेको भन्ने उजुरीको आधारमा मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा उनलाई पक्राउ गरेको हो।
लियाङले पीडितलाई थाइल्यान्डमा कम्प्युटर टाइपिङको काममा लैजाने भन्दै २०७९ साउन ९ गते म्यान्मार पुर्याई बन्धक बनाई अवैध अनलाइन स्क्यामिङमा काम गर्न बाध्य बनाई श्रम शोषण गरी शारीरिक तथा मानसिक यातना दिएको अवस्थामा पीडित नेपाल फिर्ता हुन खोज्दा उनले फिरौती रकम माग गरेकोमा उक्त रकम बुझाएपछि नेपाल फिर्ता भएको खुल्न आएको छ।
लियाङ सन् २०१८ देखि नेपाल आउने जाने गर्दै भिजिट, स्टुडेन्ट र बिज्नेस भिसामा नेपालमा बसोबास गरी विभिन्न व्यवसायमा लगानी गरेको, उनीलगायत गिरोहले नेपालबाट रोजगारीमा थाइल्यान्ड लैजाने भनी नेपाली नागरिकलाई म्यान्मार पठाउने गरेको, म्यान्मार पुगेपछि राहदानी र मोबाइल जफत गर्ने, बन्धक बनाउने र सामाजिक सञ्जालमार्फत दिनको १८ देखि २० घन्टासम्म अनलाइनको काममा लगाउने गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ।
यस्तै अनलाइन स्क्यामिङमार्फत विशेषगरी अमेरिकी नागरिकलाई फेक आइडीमार्फत कुराकानी गरी क्रिप्टोकरेन्सी, बिट कोइनलगायतमा लगानी गर्न लगाई ठगी गर्ने गरेको, काम गर्न नसकी फिर्ता हुन्छु भन्नेलाई रकम माग गर्ने गरेको, गिरोहकै मिलोमतोमा थाइल्यान्ड भनि म्यान्मार पठाइएका १० जनालाई जबर्जस्ती अनलाइन स्क्यामिङको काममा लगाउँदै आइरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
घटनमा संलग्न अन्य व्यक्तिहरूको खोजी गर्नुका साथै पक्राउ परेका उनीलाई जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ।