काठमाडौं। आन्तरिक राजस्व विभागअन्तर्गतका कार्यालयहरूले व्यावसायिक वातावरण बनाउनुको सट्टा व्यवसायीलाई दुःख दिएर राजस्व असुलीलाई तीव्रता दिएका छन्।
आर्थिक गतिविधिमा देखिएको मन्दीको असर अहिले राजस्व संकलनमा परेको छ। सरकारले गत आर्थिक वर्ष संकलन भएको राजस्वसमेत चालू आर्थिक वर्ष उठाउन नसकेपछि कर्मचारीले तीव्रता दिएका हुन्।
खासगरी, बहुराष्ट्रिय कम्पनी तथा होटल यतिखेर आन्तरिक राजस्वको निशानामा परेका छन्। राजस्व संकलन बढाउन नसकेपछि नाम चलेका व्यावसायिक फर्ममाथि आन्तरिक राजस्व कार्यालयले कुदृष्टि राख्न थालेकाे आरोप व्यवसायीको छ।
केही दिनअघि मात्रै राजस्व कार्यालयले ह्यात रिजेन्सी होटलमा छापा मारेर विवरण नियन्त्रणमा लिएपछि यस्तो खुलेको हो। राजस्व कार्यालयबाट गएको टोलीले ह्यात रिजेन्सीलाई नाम चलेका १० वटा ब्रान्डेड मदिराको खरिद र बिक्रीको विवरण मागेका थिए।
त्यसपछि ह्यातको व्यवस्थापनले होटलले बिक्री गर्ने सम्पूर्ण ब्रान्डेड मदिराको खरिद बिक्रीको विवरण पठायो। कर कार्यालयले ह्यातमा कुनै कैफियत नभेटेपछि १० वटा ब्रान्डेड मदिराको बिक्री र खरिदको विवरण पठाउन भनेका हुन्।
व्यवस्थापनले १० वटामात्रै नभई ह्यातमा बिक्री हुने सम्पूर्ण मदिराको विवरण पठाएको आन्तरिक राजस्व विभाग स्रोतले बताएको छ।
आर्थिक मन्दीका कारण सरकार राजस्वको चापमा छ। राजस्व संकलन हुनलाई आर्थिक गतिविधि बढ्नुपर्छ। आर्थिक गतिविधि बढ्नासाथ राजस्व संकलन आफै वृद्धि हुने मान्यताविपरीत कर अधिकृतहरू लागेको आरोप व्यवसायीको छ।
याे पनि पढ्नुहाेस्
व्यवसाय नै छैन, मन्दीमा कसरी आर्थिक गतिविधि बढ्छ र राज्यले राखेको लक्ष्य अनुरूप राजस्व प्राप्त हुन्छ? व्यावसायिक वातावरण सिर्जना गर्न पहल गर्नेबित्तिकै राजस्व राज्यकोषमा आफै आउने व्यवसायी बताउँछन्।
तर, अहिले अर्थतन्त्र चलायमान बनाउन राज्यले कुनै भूमिका खेलेको छैन। तर, कर अधिकृतहरूले बलजफ्ती गरेर व्यवसाय नै धराशायी बनाउने खेलोमेलोमा लागेको व्यवसायीको गुनासो छ।
स्रोतका अनुसार राजस्वका कर्मचारीले कार्यालय समयभन्दा पछि ह्यात होटलमा छापा मारेका थिए। रातिको समयमा छापा मारेर विवरण लिएपछि भोलिपल्ट नामै किटान गरेर मदिराको खरिद/बिक्रीको विवरण दिन भनेका हुन्।
आन्तरिक राजस्व विभागका अनुसार नियमित प्रक्रियाअन्तर्गत अनुसन्धान भएको हो। ‘विवरण माग्नु, विवरणमाथि अनुसन्धान हुनु कर कार्यालयको नियमित कार्य हो,’ विभागका प्रवक्ता राजु प्याकुरेलले भने।