काठमाडौं। हिमालय एयरलाइन्सले आफ्ना सबै अन्तर्राष्ट्रिय सेक्टरमा अनलाइन टिकेटिङ सुरुवात गरेको छ।
एयरलाइन्सले इन्टरनेट बुकिङ इन्जिन (आइबिई) सेवा सुरु गरेको हाे। यसबाट ग्राहकले डेस्कटप वा मोबाइलबाट आफ्नो सुविधाअनुसार हिमालयकाे वेबसाइट www.himalaya-airlines.com मा गएर टिकट बुकिङ गर्न सक्नेछन्। याे सुविधा प्रयोग गरी यात्रुहलाई विभिन्न गन्तव्यसँग जोडिन सहज हुने कम्पनीले जनाएको छ।
यो सेवा सुरुवातमा ग्राहकले टिकट खरिदका लागि ई-सेवा वालेट, मास्टरकार्ड र भिसा कार्डबाट भुक्तानी गर्न सक्नेछन् भने युनियन पे र कनेक्ट आइपिएस छिट्टै उपलब्ध हुने कम्पनीको भनाइ छ।
यसका साथै रिफन्ड रिक्वेस्ट, टिकट मूल्य खोजी, बुकिङ व्यवस्थापनसहित अतिरिक्त सेवा उपभोग गर्न सकिने छ। हिमालयले ब्यागेज प्रि–बुकिङ, सिट र खाना छनाैट, लाउन्ज सेवा बुकिङ, संयुक्त सेवा चयन गर्नेजस्ता सेवा पनि ल्याएको छ। यात्रुले विमानस्थलमा समय बचत गर्न अनलाइन चेक–इन पनि गर्न सक्नेछन्।
‘हाम्रा ग्राहक हामीले प्रदान गर्ने सबै सेवाका केन्द्र हुन् र हामी ग्राहकलाई बढिभन्दा बढी गुणस्तरीय सेवा प्रदान गर्न सदैव तत्पर छौं,' नयाँ सेवा सुरुवातबारे हिमालयका उपाध्यक्ष विजय श्रेष्ठले भने, 'त्यसैले अनलाइन टिकटका लागि सरल, छिटो–छरितो र अधिक सुविधायुक्त इन्टरनेट बुकिङ इन्जिन सेवा घोषणा गर्न पाउँदा खुसी छौं।’