काठमाडौं। जलविद्युतमा मात्र लगानी गर्दै आएको हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) अब पूर्वाधार बैंक बन्ने भएको छ।
आगामी आर्थिक वर्षमा एचआइडिसिएललाई पूर्वाधार बैंक बनाउने प्रमुख कार्यकारी अधिकृत (सिइओ) अर्जुनकुमार गौतमले बताए।
सरकारले आगामी आर्थिक वर्षको बजेटमा कम्पनीको पुनर्संरचना गरी प्रभावकारी बनाउने उल्लेख छ। सरकारको योजनाबमोजिम कम्पनीलाई पूर्वाधार बैक बनाउने उनले सुनाए।
‘कम्पनी बैंक तथा वित्तीय संस्था ऐनबमोजिम ऊर्जामा लगानी गर्ने पूर्वाधार बैंकमा रूपान्तरण गर्ने योजना छ। यसलाई आगामी आर्थिक वर्षमा सार्थक प्रयास गरिने छ,’ उनले भने।
कम्पनीको बलियो आधारशीला र संरचनाबिना लक्ष्य पूरा नहुने भएपछि ऊर्जामा लगानी गर्ने पूर्वाधार बैंक बनाउन लागेको सिइओ गौतमको भनाइ छ।
नेपाल राष्ट्र बैंकको सुपरीवेक्षण विभागबाट कम्पनीको सम्पूर्ण क्रियाकलापको स्थलगत अनुगमन तथा सुपरीवेक्षण भई सुझाव र निर्देशनसहितको प्रतिवेदन प्राप्त भएको गौतमले बताए।
लगानी प्रवर्द्धन जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीमा केन्द्रित रही राष्ट्र बैंकबाट प्राप्त प्रतिवेदनका आधारमा लगानी नीति, जोखिम व्यवस्थापन नीति, संस्थागत सुशासन मार्गदर्शन र आन्तरिक नियन्त्रण प्रणाली नीतिगत एवं प्रक्रियागत सुधारका कार्यहरू कम्पनीले अघि बढाएको छ।
कम्पनीको पुँजी कोषलाई अधिकतम लचकता प्रदान गर्ने गरी वित्तीय आवश्यकता योजना, वित्तीय संरचना योजनको प्रष्ट खाका तयार पारिएको उनले जानकारी दिए। पूर्वाधार बैंक बनेपछि कम्पनीले विभिन्न ऋणपत्र (बन्ड) जारी गरेर थप लगानी जुटाउने योजना बनाएको छ।
पछिल्ला वर्ष कम्पनी आयोजना विकासकर्ताभन्दा पनि विशुद्ध लगानीकर्ता बन्ने रणनीतिमा छ। सोहीअनुसार अहिले कम्पनीले आयोजना ऋण लगानीमा मात्र केन्द्रित भएको छ।
राष्ट्र बैंकले एचआइडिसिएललाई नेपाल इन्फ्रास्ट्रक्चर बैंकल(निफ्रा) बीच एकापसमा गाभिन (मर्ज) मा जान बाटो खुलाएको छ। यद्यपि, दुई वित्तीय संस्थाबीच यस विषयमा पहल भएको छैन।
राष्ट्र बैंकले २०७८ माघ १६ मा एचआइडिसिएललाई नियमनको दायरामा ल्याएको थियो। केन्द्रीय बैंकले एचआइडिसिएललाई बैंक तथा वित्तीय संस्था ऋण असुली ऐन २०५८ मा भएको व्यवस्थाअनुसार वित्तीय संस्थाका रूपमा तोकेको हो।
साढे १२ अर्ब मुद्दती निक्षेपमा
चालू आर्थिक वर्षको प्रक्षेपित वित्तीय विवरणअनुसार चुक्ता पुँजी २२ अर्ब ७८ करोड, जगेडा कोष १ अर्ब ९९ करोड र अन्य दायित्व तथा व्यवस्था ७० करोड रुपैयाँसहित कूल वित्तीय स्रोत २५ अर्ब ४७ करोड रुपैयाँ छ। यो रकम गत वर्षको तुलनामा ११ प्रतिशतले बढी हो।
कूल वित्तीय स्रोतमध्ये ९ अर्ब २४ करोड ऋण लगानीमा ३ अर्ब २४ करोड सेयर लगानी र १२ अर्ब ६३ करोड रुपैयाँ विभिन्न वाणिज्य बैंकको मुद्दती निक्षेपमा र बाँकी ३६ करोड रुपैयाँ चलअचल सम्पत्तिमा उपयोग भएको कम्पनीले जनाएको छ।
वाणिज्य बैंकमा राखेको मुद्दतीबाट कम्पनीकाे चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ५६ करोड रुपैयाँ आम्दानी गरेको छ।
अहिलेसम्म विभिन्न क्षमताका १८ जलविद्युत आयोजनामा २१ अर्ब २ करोड ऋण लगानी र १२ वटा जलविद्युतसँग सम्बन्धित कम्पनी तथा आयोजनामा ५ अर्ब ३४ करोड सेयर लगानीसहित ३० आयोजनामा २६ अर्ब ३६ करोड रुपैयाँ लगानी स्वीकृत भएको छ।
कम्पनीले अहिलेसम्म यस क्षेत्रमा २६ अर्ब रुपैयाँभन्दा बढी लगानी गरेको छ ।यस आर्थिक वर्षमा १ अर्ब ४४ करोड खुदनाफा हुने अनुमान छ।
कम्पनीले सहवित्तीयकरणमा नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनीमार्फत विकास हुने १ हजार ६१ मेगावाट क्षमताको अपर अरुण र २ सय १० मेगावाट क्षमताको चैनपुर सेतीमा ऋण लगानी गर्ने निर्णय गरेको छ।
यस आयोजनामा करिब ५३ अर्ब रुपैयाँ स्थानीय वित्तीय स्रोत जुटाउन सहवित्तीयकरण गठन भई समझदारी सम्झौतासमेत भइसकेका छ।