काठमाडौं । रुकुम पूर्वमा निर्माण हुने ४४.५२ मेगावाट क्षमताको सानीभेरी जलविद्युत आयोजनाको विद्युत खरीदबिक्री सम्झौता (पिपिए) सम्पन्न भएको छ।
आयोजनाको प्रवर्द्धक एक्सपर्ट हाइड्रो इन्भेस्टमेन्ट प्राली र नेपाल विद्युत प्राधिकरणबीच बुधबार पिपिएमा हस्ताक्षर भएको हो।
आयोजनाले उत्पादन गरेको विद्युत हिउँदमा ८ रुपैयाँ ४० पैसा र वर्षामा ४ रुपैयाँ ८० पैसामा प्राधिकरणले खरिद गर्ने सम्झौता भएको छ।
आयोजनाका तर्फबाट एक्सपर्ट ग्रुपका अध्यक्ष जयराम अर्याल र विद्युत प्राधिकरणका तर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङले स्मझौतामा हस्ताक्षर गरेका छन्।
एक्सपर्ट ग्रुपमा अस्ट्रेलियामा बसेर शैक्षिक क्षेत्रमा काम गर्दै आएका व्यवसायीको लगानी छ।
रुकुमपूर्वको पुठा उत्तरगंगा र सिस्ने गाउँपालिकामा निर्माण हुने आयोजना सानीभेरी खोलामा निर्माण हुनेछ।
१ सय ४५ मिटर हेड रहेको आयोजनाको डिजाइन डिस्चार्ज ३६.८ घनमिटर/प्रतिसेकेण्ड छ। आयोजनामा ४ हजार ३ सय मिटर सुरुङमार्ग र ३ सय १० मिटर पेनस्टक पाइप प्रयोग हुनेछ।
आयोजनाको विद्युतगृहदेखि नेपाल विद्युत प्राधिकरणको बाफिकोट सबस्टेसनसम्म १३२ केभी क्षमताको २० किलोमिटर प्रसारणलाइन निर्माण गर्नुपर्ने छ।
त्यस्तै १० किलोमिटर पहुँचमार्गको पनि स्तरोन्नति गर्नुपर्ने आयोजनाले जनाएको छ। आयोजना निर्माणको अनुमानित लागत ९ अर्ब रुपैयाँ छ।
यसै वर्षभित्र आयोजनाको वित्तीय व्यवस्थापन सकेर निर्माणमा जाने तयारी रहेको एक्सपर्ट हाइड्रोका अध्यक्ष अर्यालले जानकारी दिए ।
आयोजनाको विद्युत उत्पादन गर्नुपर्ने मिति २०८४ पुसभित्र रहेको छ । आयोजनाबाट वार्षिक २८३.३७ गिगावाट आवर विद्युत ऊर्जा उत्पादन हुनेछ।