काठमाडौं। करिब ४ वर्षपछि हुन लागेको नाडा अटो शोमा २० अर्ब भन्दा बढीको कारोबार हुने व्यवसायीले अपेक्षा गरेका छन्।
कोभिड महामारीका कारण २०२० र २०२१ मा हुन नसकेको नाडा अटो शो २०२२ मा भने नाडा इभि एक्सपो भएको थियो।
अटो शो २०२३ भने २०८० भद्रो २६ गते देखि ३१ गतेसम्म प्रदर्शनीमार्ग भृकुटीमण्डप परिसरमा आयोजना हुन लागेको हो। अटो शोका लागि नाडाले बुकिङसमेत खुला गरेको छ।
नाडाको आयोजनामा हरेक वर्षको दशैं अगाडि आयोजना हुदै आएको नाडा अटो शो कोभिड महामारीका कारण २०२० र २०२१ मा पनि आयोजना हुन सकेन भने नाडा अटो शो २०२२ पनि सरकारले गत वर्ष केही सवारीसाधनहरूको आयातमाथि लगाएको प्रतिबन्धका कारण आयोजना गर्न सकेको थिएन।
यस्तो स्थितिमा नाडाले पहिलोपटक गत वर्ष नाडा इभी एक्सपो २०२२ आयोजना गरेको थियो।
शोमा विद्युतीयलगायतका चारपांग्रे तीनपांग्रे तथा दुईपांग्रे सवारी तथा ढुवानीका साधन, स्पेयर पाटर्स, टायरट्युब, ब्याट्री, एसेसरिज, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणसमेत राखिने नाडाले जनाएको छ।
त्यसैगरी प्रदर्शनीमा बैंक, इन्स्योरेन्सलगायत ट्राफिक, सडक सुरक्षा र वातावरणसँग सम्बन्धित संघसंस्थासमेत सहभागिता रहने छन्। झन्डै चार वर्षपछि हुन लागेको यस प्रदर्शनीमा १ लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने र करिब २० अर्ब भन्दा बढी कारोबार हुने अपेक्षासमेत राखिएको नाडाले जनाएको छ।